पोखरा विमान दुर्घटना

४ महिनासम्म भेटिएन २ जनाको शव, मृत्युदर्ता र बीमा अन्योल

भग्नावशेष जहाजको टुक्रा-टुक्री रेखदेखमा २४सै घण्टा

नेपालभ्युज

४ महिनासम्म भेटिएन २ जनाको शव, मृत्युदर्ता र बीमा अन्योल

काठमाडौं । नेपालको आन्तरिक हवाई उडानमा सबैभन्दा बढी मानवीय क्षति भएको पोखरा विमान (यती एयरलाईन्सको एटिआर–७२) दुर्घट्नामा परेका बाबु-छोरा २ जनाको शव साढे ४ महिनासम्म पनि नभेटिएपछि काजक्रिया, मृत्यु प्रमाणपत्र र बीमा दाबी सबै रोकिएको छ ।

माघ १ गते आइतबार बिहान १०:३२ बजे चालक दलका चार सदस्य र ६८ यात्रु लिएर यती एयरलाईन्सको ‘एटिआर-७२’ विमान पोखराको लागि उडेको थियो । विमानस्थल नजिकै सेतीनदी खोंचमा भएको दुर्घटनामा १५ विदेशीसहित सबै ७२ जनाको मृत्यु भएको थियो ।

यती एयरलाईन्सको नाइन एनएएनसी एटीआर–७२–५०० विमान दुर्घटनामा परेका यात्रुमध्ये २० जनाको शव भोलिपल्टै सम्बन्धित आफन्तले पोखरामै बुझे । त्यसको दुई दिनपछि ५० जनाको शव काठमाडौं ल्याइयो र आफन्तलाई जिम्मा दिइयो । त्यसमध्ये पनि ६ जनाको शव पहिचान गर्न कठिन भएपछि डिएनए परिक्षण गरेर मात्रै सम्बन्धित पक्षलाई जिम्मा लगाइयो ।

विमान दुर्घटनामा ज्यान गुमाएका स्वदेशी र विदेशी गरी ७० जनाको शव आफन्तले बुझेर अन्तिम संस्कारसमेत गरिसकेका छन् । जसबापत् उनीहरूले मृत्यु प्रमाणपत्र र बीमा रकमसमेत दाबी गर्न पाए । तर, दुर्घटनामा परेकामध्ये पर्वतका ४० वर्षीय युवराज शर्मा र उनका ४ वर्षका छोरा बेनीन शर्माको शव भने अझै भेटिएन । दुर्घटनामा शर्माको आमा ६३ वर्षीय जमुना शर्मा र १३ वर्षीय छोरीको समेत मृत्यु भएको थियो । एकै परिवारका ४ जनाको मृत्यु भएकोमा २ जनाको अन्तिम संस्कार र मृत्यु प्रमाणपत्र बन्यो ।

विमानका यात्रु रहेका र हालसम्म पनि मृत्यु किटान नभएका युवराज शर्माकी श्रीमती सरस्वती डुम्रेले भने अझै श्रीमान् र छोराको शव बुझ्न पाएकी छैनन् । सरस्वती उनै हुन्— जसले त्रिभुवन विमानस्थलको कन्ट्रोल रूममा बसेर त्यही विमानको गति हेर्दै थिइन् ।

सरस्वतीले काठमाडौं विमानस्थलको टावरमै बसेर विमानको उडान र बाटो देखाएकी थिइन् । उनले काठमाडौंको टावरपछि अर्को टावर (पोखरा विमानस्थलको टावर) सँग सम्पर्क नहुँदासम्म विमानलाई बाटो देखाएकी थिइन् । काठमाडौंको टावरको कन्ट्रोल गर्ने जिम्मेवारी सकिएपछि जहाजलाई पोखरा टावरसँग सम्पर्क गराएर छाडेकी सरस्वतीले अकास्मात् जहाज दुर्घटनाको खबर एयरपोर्टमै सुनिन् ।

बेपत्ताको खोजीमा जिल्ला प्रशासन कार्यालय, कास्कीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीयको टोलीले समेत सहयोग लिएको थियो । तर, लामो समय खोज्दापनि नभेटिएपछि प्रशासनले खोजी बन्द गरिसकेको छ । कास्की र तनहुँ हुँदै चितवनसम्मको सेती नदी किनारमा खोजी गर्दा पनि नभेटिएपछि खोजी बन्द गरिएको प्रशासनको भनाइ छ ।

मृतकको शव नभेटिँदासम्म मृत्यु भएको भनेर प्रमाणपत्र दिन प्रशासनले सकेको छैन । त्यसैको कारण मृतकका आफन्तले मृत्यु संस्कार र बीमाको रकम दाबी गर्नसमेत पाएका छैनन्। उता यती एयरलाईन्स व्यवस्थापनले पनि जहाजको भग्नावशेष एक ठाउँमा थुपारेर ३ जना सुरक्षा गार्डमार्फत २४ सै घण्टा सुरक्षा दिइरहेको छ । “दुर्घटना जाँचबुझ आयोगको प्रतिवेदन नआउँदासम्म टुक्रा-टाक्री नचलाउनु भनेकाले २४ सै घण्टा सुरक्षा दिइरहेका छौँ,” यती एयरलाईन्सका जनसम्पर्क तथा संचार निर्देशक शुदर्शन बर्तौलाले नेपालभ्यूजसँग भने, “कहिलेकाहीँ जाँजबुझ समितिका र प्रशासनका मानिससमेत गएर सोधीखोजी गर्ने भएकाले हामीले जहाजको भग्नावशेषलाई अन्यत्र व्यवस्थापन गर्न पाएका छैनौँ ।”

शव नभेटिएकाको हकमा अब के गर्ने ? भन्ने विषयमा जिल्ला प्रशासन र गृहमन्त्रालयबीच छलफल भइरहेको छ । तर, निर्णय दिन सकेको देखिँदैन । जिल्ला प्रशासनले गृहसँग समन्वय गरी मृत्यु भएको पुष्टि गरेपछी मात्रै उनीहरूको मृत्यु प्रमाणपत्र बन्नेछ । त्यसपछि मात्रै बीमालगायतको काम अघि बढ्छ । तर, घटनास्थल कास्की भएपनि यो विषय पर्वतको स्थानीय निकायले हेर्ने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।

“मृतकको स्थायी ठेगाना भएकै स्थानीय तहले निर्क्यौल गर्नुपर्छ । हामीले समन्वय मिलाइदिने हो, बाँकी काम पर्वतको स्थानीय तहले टुंगो लगाउला,” उनले भनेका छन् ।

चालक दलका वरिष्ठ पाइलट कमल केसी, को–पाइलट अञ्जु खतिवडा, विमान परिचारिका ओसिन आलेमगर र सिर्जना होंगथुनसहित ७२ जना विमानमा थिए । विमानमा नेपाली नागरिक ५३ जना,भारतीय नागरिक ५ जना, रसियन नागरिक ४ जना, कोरियन नागरिक २ जना, आयरल्याण्डका नागरिक १ जना, अष्ट्रेलियन नागरिक १ जना, अर्जेन्टिनी नागरिक १ जना, फ्रान्सेली नागरिक १ जना गरी ६८ जना यात्रु थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved