एमाले सरकारबाट माओवादी फिर्ता भएपछि को बन्छ कोशी प्रदेशको मुख्यमन्त्री ?

जसपा सांसद निर्मला निर्णायक

नेपालभ्युज

एमाले सरकारबाट माओवादी फिर्ता भएपछि को बन्छ कोशी प्रदेशको मुख्यमन्त्री ?

विराटनगर । कोशी प्रदेश सरकारबाट सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) बाहिरिँदैछ । प्रदेश सभामा १३ सिट भएको माओवादी मङ्गलबार (आजै) समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिँदैछ । संस्थागत निर्णयका लागि संसदीय दलको बैठक जारी छ । बैठकको निर्णयपछि माओवादी सरकारबाट बाहिरिने माओवादी केन्द्रका एक सांसदले बताए ।

माओवादी बाहिरिएसँगै नेकपा (एमाले) का संसदीय दलका नेता हिक्मतबहादुर कार्की नेतृत्वको सरकार ढल्ने भएको छ । यसपछि एमालेसँग प्रदेश सभामा ६ सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मात्रै रहनेछ । यसरी हेर्दा कार्कीको पक्षमा ४६ सांसद मात्रै हुनेछन्, एमालेसँग प्रदेश सभामा ४० सिट छ । जबकी आफू नेतृत्वको सरकारलाई निरन्तरता दिनका लागि उनलाई ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

स्वास्थ्यमन्त्रीसमेत रहेकी जनता समाजवादी पार्टी (जसपा) की एक्ली सांसद निर्मला तावा लिम्बू यसअघि नै राजीनामा दिँदै सरकारबाट बाहिरिसकेकी छन् । यस्तो अवस्थामा अब विपक्षमा माओवादीसँगै प्रदेश सभामा २९ सिट भएको नेपाली कांग्रेस, ४ सिट भएको नेकपा (एकीकृत समाजवादी) र १ सिट भएको जसपा छन् ।

यी दलहरूको सांसद सङ्ख्याको योगफल ४७ हुनेछ । यस्तो अवस्थामा जसपाकी सांसद लिम्बू निर्णायक हुनेछिन् । अवस्था यस्तो कि उनी जुन कित्तामा उभिन्छिन्, त्यतै सरकार बन्नेछ । यस्तो अवस्थामा एमालेले पनि लिम्बूलाई फकाउने कोसिस गरिरहेको छ भने अहिले विपक्षमा रहेका दलहरूले पनि फकाइरहेका छन् ।

उता एमालेसँगै उभिएको राप्रपाले मुख्यमन्त्री पाएमात्रै सरकारमा सहभागी हुने बताएको छ । यस्तो अवस्थामा एमालेलाई अप्ठ्यारो परेको छ । एमालेले जसपाकी लिम्बूलाई फकाउने र राप्रपालाई मुख्यमन्त्री दिँदामात्रै आफू सरकारमा रहने देखिन्छ । तर, एमाले राप्रपालाई मुख्यमन्त्री दिने पक्षमा नरहेको एक सांसद बताउँछन् । राप्रपा सङ्घीयता नचाहने शक्ति भएकाले उसलाई मुख्यमन्त्री दिन नसक्ने ती सांसदको भनाइ छ ।

यता कार्की नेतृत्वको सरकार ढलेपछि सरकार बनाउने तयारीमा रहेका विपक्षी दलहरूभित्र पनि कुन दलले मुख्यमन्त्री लिने भन्नेबारे ‘लफडा’ नै देखिन्छ । विपक्षी दलहरूमध्ये सबैभन्दा ठूलो दल कांग्रेस मुख्यमन्त्री आफूले पाउनुपर्ने दाबी गरेको छ । यद्यपि उसले यसअघि नै ३ प्रदेशमा मुख्यमन्त्री लिइसकेको छ । अहिले लुम्बिनी, गण्डकी र सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार छ ।

त्यसैले कोशीमा आफूहरूले पाउनुपर्ने अडानमा छ माओवादी । माओवादीका एक सांसदले नेपालभ्यूजसँग भने, “सरकारको नेतृत्व हामी गर्छौँ । त्यसमा कांग्रेसलगायतका दलहरूको समर्थन मिलिसकेको छ ।” तर, एकीकृत समाजवादीको अडान पनि मुख्यमन्त्री नै छ । मुख्यमन्त्री हुनकै लागि प्रदेश रोजेका राजेन्द्र राईले आफू मुख्यमन्त्री बन्नेगरी तयारी गरेको बताएका छन् । उनी यसअघि पनि एक कार्यकाल मुख्यमन्त्री बनिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved