प्रवीण हत्या प्रकरण : राजुलाई जन्मकैद, गोविन्दलाई तीन वर्ष र प्रकाशलाई डेढ महिना कैद फैसला

नेपालभ्युज

प्रवीण हत्या प्रकरण : राजुलाई जन्मकैद, गोविन्दलाई तीन वर्ष र प्रकाशलाई डेढ महिना कैद फैसला

तनहुँ । तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको  सोमबारको इजलासले अभियुक्त भानु नगरपालिका–६ का अछामीलाई जन्मकैदको फैसला सुनाएको हो ।

साथै अभियुक्तबाट पीडितका परिवारलाई ५० हजार क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। अभियुक्त अछामी विसं २०७७ जेठ ८ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

अभियुक्त भानु नगरपालिका–६ का गोविन्दबहादुर मगरलाई तीन वर्ष कैद र रु ३० हजार क्षतिपूर्तिको फैसला भएको छ । सोही प्रकरणका अभियुक्त भानु नगरपालिका–५ का टाइसन भन्ने प्रकाश मल्ललाई डेढ महिना कैद र रु सात हजार पाँच सय जरिवानाको फैसला भएको स्रेस्तेदार कुँवरले बताए ।

बन्दीपुर गाउँपालिका–३ का धनबहादुर घर्ती, भानु नगरपालिका–१ का दीपक भण्डारी र भानु नगरपालिका–१ का अङ्कित अधिकारीलाई भने अदालतले सफाइ दिएको छ । विसं २०७७ जेठ ८ गतेको आदेशअनुसार टाइसन भन्ने प्रकाश मल्ल रु ५० हजार र भानु नगरपालिका–६ का गोविन्दबहादुर मगर रु एक लाख धरौटी लिएर तारेखमा रिहा भएका थिए ।

भानु नगरपालिका–१ का प्रवीण गुरुङ विसं २०७७ वैशाख ९ गते रातिदेखि हराएका थिए । उनको शव वैशाख १० गते साँझ भानु नगरपालिका–५ नावरुङस्थित खोल्सामा फेला परेको थियो । गुरुङको हत्या अभियोगमा मृतकका बुबा बुद्धिराज गुरुङले अभियुक्त विरुद्ध किटानी जाहेरी दिएका थिए ।

तत्कालीन वडाध्यक्ष प्रकाश मल्लले फार्ममा काम गर्दै आएका भन्सारका धनबहादुर घर्तीलाई कामबाट निकालेपछि घर्तीले वैशाख ९ गते भान्जा पवन घर्तीलाई सामान लिनका लागि बोलाएका थिए । सामान लिन पवनसँगै उहाँका साथीहरू दीपक भण्डारी, अङ्कित अधिकारी र प्रवीण गुरुङ पनि नावरुङ पुगेका थिए । नावरुङमा स्थानीयवासी गोविन्द थापामगरले सञ्चालन गरेको होटलमा खाजा खाने क्रममा चर्को स्वरमा बोल्न थालेपछि स्थानीय युवा र प्रवीण गुरुङसहितको टोलीबीच झगडा परेको थियो । सोही रातदेखि प्रवीण बेपत्ता  भएको पीडित परिवारको भनाइ छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved