नागरिकता विधेयक सर्वोच्चले रोकेको भन्दै धनुषामा प्रदर्शन (तस्वीरहरू)

टायर बालेर सडक अवरुद्ध, सयौं सवारीसाधन अलपत्र

नागरिकता विधेयक सर्वोच्चले रोकेको भन्दै धनुषामा प्रदर्शन (तस्वीरहरू)

जनकपुरधाम। नागरिकताविहीन युवाहरूको विरोध प्रदर्शनले धनुषामा महेन्द्रनगरमा सोमबार बिहान सडक अवरुद्ध गर्दै चक्काजाम गराएका छन् । नागरिकताविहीन युवाहरूले ढल्केवर–जनकपुर लोकमार्गको महेन्द्रनगर सडक खण्डमा टायर बालेर बाटो अवरुद्ध गर्दै प्रदर्शनमा उत्रेका कारण सडक अवरुद्ध भएको छ।

गत मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश गरेपछि नागरिकताविहीन युवाहरूले अदालत र विधेयकको विरोध गर्ने पार्टीहरूविरुद्ध प्रदर्शनमा उत्रेका हुन्।

सडक अवरुद्ध हुँदा जनकपुरबाट छुट्ने छोटो तथा लामो दुरी सवारी साधन र देशको विभिन्न ठाउँबाट जनकपुरधाम पुग्ने सयौं सवारी साधनहरु महेन्द्रनगरमा रोक्किनुपरेको छ । प्रचण्ड गर्मीको बेला सडकमा सवारी साधन रोक्किनु पर्दा हजारौं यात्रीहरू अलपत्र परेका छन् । बढ्दो तापक्रम सँगैको तातोमा सडकमा अलपत्र परेका यात्रीहरू ठूलो मर्कामा परेका छन् । उनीहरू कोही छहारी खोज्दै हिँडेका छन् भने कोही चिसो पानी खोजिरहेका देखिन्थे।

एमाले सचिव रधुवीर महासेठको निर्वाचन क्षेत्रसमेत रहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको सदरमुकाम महेन्द्रनगरमा युवाहरूले सडकमा टायर बालेर प्रदर्शन गर्दै नागरिकता विधेयक प्रमाणीकरण भएपछि त्यसको विरोध गरेका एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा लगायतका पार्टीविरुद्ध पनि प्रदर्शन गरेका छन् ।

करिब ३ वर्षदेखि नागरिकता प्राप्तिका लागि आन्दोलन गर्दै आएका इन्जिनियर इन्द्रजित साफीसहित स्थानीय युवाहरूले प्रदर्शन गरेका हुन् ।

यसअघि, संघीय संसदको दुवै सदनबाट उक्त विधेयक बहुमतले पारित भए पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएकी थिइन्।

उक्त विधेयक प्रमाणीकरण भएको भोलिपल्टै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले विधेयक खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved