आलेख

रुस-युक्रेन युद्ध : दुई फरक विश्व दृष्टिकोणबीचको संघर्ष

पुटिनले जुन उद्देश्यका लागि यो युद्ध सुरु गरेका थिए त्यसमा उनी असफल भइसकेका छन् । आफूभन्दा धेरै कमजोर यहुदी राष्ट्रपति भएको युक्रेनबाट नाजीवादले राष्ट्रिय सुरक्षामा खतरा निम्त्याएको भनि युद्धलाई जायज ठहराउने उनको प्रोपागान्डा असफल भएको छ । अब यस्तो तर्क प्रणाली कसैले पत्याउँदैन।

रुस-युक्रेन युद्ध : दुई फरक विश्व दृष्टिकोणबीचको संघर्ष

२०१४ मा रुसले युक्रेनबाट क्रिमिया प्रायद्वीप हडप्यो । लगत्तै युक्रेनको पूर्वी डोन्बासका दुई क्षेत्र डोनेस्क र लुहानस्कलाई पृथकतावादी समूहले ‘स्वतन्त्र जनगणतन्त्र’ घोषणा गरे । युक्रेनी सेना र रुस समर्थित ती ‘गणराज्य’ का विद्रोही मिलिसियाबीच युद्ध सुरु भयो।

यी घटनामा रुसको पृष्ठषोषण, संलग्नता र आक्रमकता देखेर युक्रेनले आफ्नो अस्तित्व नै खतरामा रहेको बुझ्यो । पश्चिमा तथा युक्रेनी सुरक्षाविद्हरूले भविष्यमा पूरै देशमाथि आक्रमण हुनसक्ने आकलन गरे । युक्रेनले सोहीअनुसार प्रतिरक्षा तयारी गर्न थाल्यो।

युक्रेनले अमेरिकासँगको सैनिक सहकार्यलाई अगाडि बढायो । आम जनतालाई सैनिक तालिम दिन थाल्यो । युक्रेनको दृष्टिकोणबाट उक्त तयारी आवश्यक र स्वाभाविक थियो । युक्रेनसँग अरु धेरै विकल्प र उपाय थिएनन् । तर, मस्कोका लागि युक्रेनका ती काम ठूलो सुरक्षा खतराको संकेत बन्यो ।

रुसलाई लाग्यो– युक्रेन आफ्नो प्रभाव क्षेत्रबाट सदाको लागि अलग्गिँदै मात्र छैन, ‘नेटो’ मार्फत् अमेरिकी सेना रुसी सीमा क्षेत्रसम्म आउन सक्ने स्थिति सिर्जना गर्दैछ । यस्तै, तनावका बीच २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि घोषित सैन्य आक्रमण सुरु गर्‍यो।

तुलनात्मकरूपमा सानो सैनिक शक्ति भएको युक्रेनले रुसी सेनालाई रोक्न सक्नेमा कमैको विश्वास थियो । केही दिन वा महिनाभित्रै किभको पतन हुन्छ र युक्रेनलाई रूसमा गाभिन्छ भन्ने धेरैको बुझाइ थियो । तर, अहिलेसम्म त्यसो हुन सकेको छैन । यस मानेमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि जोखिमको सही मूल्यांकन नगरेको लम्बिएको युद्धले प्रमाणित गरेको छ ।

आधुनिक विश्वव्यापीकरणको यो युगमा एक देशले अर्को देशलाई यति सजिलै आक्रमण गर्न सक्दछ भन्ने धेरैलाई पत्यार लागेको थिएन । रुसी र बेलारुसी सैनिकले युक्रेन–बेलारुस सिमानामा आयोजना गरिएको युद्ध–अभ्यास र युक्रेनसँगको सिमानामा रुसले गरेको युद्धको तयारीका बाबजुद पनि यसलाई पुटिनको धम्क्याउने नीतिको रूपमा मात्रै हेरिएको थियो ।

यद्यपि, यो युद्ध वास्तवमा रुसी राष्ट्रपतिले भनेजस्तो एक ‘मिलिटरी अपरेसन’ मा मात्रै पनि सीमित भएन। सोचेभन्दा धेरै विनाशकारी बन्यो । यसले युद्धस्थलमा लाखौं नौजवानलाई राष्ट्रवादका नाममा मराउने, खर्बौंखर्ब डलरको पूर्वाधार संरचना नष्ट गर्ने साथै अति अमानवीय अपराध जस्तै, नि:शस्त्र बालबालिका, वृद्ध तथा महिलाको सामूहिक हत्या, बलात्कार तथा यातनासम्म पुर्‍यायो।

युद्धले विश्वव्यापी आपूर्ति श्रृंखलामा अवरोध ल्यायो। विश्वभरि महँगी बढाउनुका साथै देशहरूबीचको ध्रुवीकरणलाई समेत तीव्र बनाउँदा विश्वयुद्धको खतरा पैदा गर्‍यो । अहिले युक्रेनको मोर्चामा यो खतरा स्थिरजस्तो देखिएता पनि विश्वव्यापीरूपमा यसले जुन ध्रुवीकरणको संकेत गरेको छ, त्यो भयानक हुन सक्दछ । स्थिति अझै अस्पष्ट छ । युद्ध अझ धेरै लम्बिए के-के हुने हो यसै भन्न सकिन्न।

राजनीति शास्त्रमा अन्तर्राष्ट्रिय सम्बन्धको विश्लेषण गर्ने केही दृष्टिकोणहरू छन् । तीमध्ये यो युद्धलाई विश्लेषण गर्ने प्रमुख दुई दृष्टिकोण देखिए । ती हुन्–यथार्थवादी र उदारवादी दृष्टिकोण ।

यथार्थवादी दृष्टिकोणबाट हेर्दा अमेरिका र युरोपियन युनियनको कारण युद्ध भएको देखिन्छ भने उदारवादी दृष्टिकोणबाट हेर्दा युद्धका लागि रुस जिम्मेवार छ । यथार्थवादले रुस शक्तिशाली देश हो । उसको सुरक्षा स्वार्थलाई पश्चिमा शक्ति र युक्रेनले सम्मान गर्नुपर्दछ भन्ने ठान्दछ । यस मान्यताका आधारमा हेर्दा रुसको आक्रमण स्वभाविक हुन्छ ।

यद्यपि, यस विचारले युक्रेनी जनताको चाहनालाई विश्व व्यवस्थामा रहेको शक्ति सन्तुलनका अगाडि गौण ठान्दछ । उनीहरूको सार्वभौमिकता शक्तिशाली राष्ट्रहरूको स्वार्थभन्दा माथि हुन सक्दैन भन्ने अर्थ लाग्दछ। यदि, यो दृष्टिकोणबाट हेर्ने हो भने शक्ति राष्ट्रहरूले लाद्ने सबै युद्ध र आक्रमण जायज हुन् भन्नुपर्ने हुन्छ । अमेरिकाले इराकमाथि गरेको आक्रमणलाई पनि जायज ठान्नुपर्ने देखिन्छ । यस दृष्टिकोणबाट युक्रेन युद्धलाई विश्लेषण गर्नेमध्ये प्रमुख प्रसिद्ध अमेरिकी यथार्थवादी चिन्तक जोन मेइए साइमर हुन् ।

उदारवादी विचारको सजिलो मोडल संयुक्त राष्ट्र संघको बडापत्र हो । यसले देशहरूबीचको सहकार्य तथा देशहरूमा संवैधानिक शासनको अपेक्षा गर्दछ । मानवअधिकारलाई राज्यहरूले सम्मान गर्नु पर्दछ भन्ने विचार राख्दछ । यस दृष्टिकोणअनुसार राष्ट्रका विविध स्वार्थहरूबीचमा पनि तादम्यता ल्याएर अहिंसात्मक तवरले समस्याको समाधान गर्दै विश्व राजनीतिलाई सञ्चालन गर्न सकिन्छ ।

युक्रेन युद्धलाई यस दृष्टिकोणबाट हेर्नेमध्ये एक संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस हुन् । उनले भनेका छन्–सबै देशको सार्वभौमसत्ताको सम्मान हुनुपर्दछ । रुसी सेना युक्रेनी भूमिमा छ, युक्रेनी सेना रुसी भूमिमा होइन । रुसको राजधानी मस्को पुगेर चीनका राष्ट्रपति सी चिनफिङले पनि बडापत्रका आधारमा निकास खोजिनुपर्दछ भने । विश्वमा लोकतान्त्रिक पक्ष भनेर चिनिने देशहरूले पनि युक्रेनलाई सहयोग जुटाउन र धुव्रीकरणलाई आफ्नो पक्षमा पार्न यही उदारवादी विचारको सहायता लिएका छन् ।

रुसी आक्रमणबाट पीडित युक्रेनलाई नै दोषी करार गर्ने यथार्थवादी दृष्टिकोण पुर्वाग्रही छ । यसले सहकार्य र सहअस्तित्वका आधारमा विश्व धेरै अगाडि बढिसकेको तथ्यलाई अस्वीकार गर्दछ । यस दृष्टिकोणले सोभियत युनियनको विघटनको तीस वर्षपछि पनि रुसलाई शीतयुद्धकालीन शक्तिका रूपमा हेर्दछ । यसले संयुक्त राष्ट्र संघको बडापत्र तथा राष्ट्रहरूको आत्मनिर्णयको अधिकारलाई महत्त्वपूर्ण ठान्दैन ।

यो विचारबाट हेर्दा साम्राज्यवाद तथा उपनिवेशवादका विरुद्ध भएका शान्तिपूर्ण क्रान्तिको महत्त्व छैन भन्ने अर्थ लाग्दछ वा कम हुन पुग्दछ । यथार्थवादी दृष्टिकोणमा शक्ति नै सबैथोक हो, शक्ति सन्तुलन नै विश्व व्यवस्थाको सिद्धान्त र व्यवहार हो । सबै देशले अणु बम बनाउन पाउनुपर्दछ भन्ने सम्मको विचार पनि यही दृष्टिकोण लिने सिद्धान्तकारहरूबाट आएको छ । यो सोच शक्तिले नै शान्ति निर्माण गर्ने हो भन्ने थोमस् हब्स्को ‘मुर्दा शान्ति’ को विचारमा आधारित छ । यसले मानिसलाई संरचनाको दासका रूपमा मात्रै हेर्दछ, सचेत र सक्रिय क्रान्तिकारीका रूपमा होइन ।

यस लेखमा यथार्थवादी सिद्धान्तको आलोचना गर्नेभन्दा पनि रुसी राष्ट्रपति पुटिनले अब युद्ध रोक्न ढिला गर्न नहुने प्रमुख तीन कारणमाथि चर्चा गर्न खोजिएको छ । कतिपयले यस युद्धलाई कुनै आवश्यकता तथा टकरावका कारणभन्दा पनि पुटिनको एक्लो चाहनाका कारण हुन गएको ठान्दछन् । तसर्थ, यसलाई ‘पुटिनको युद्ध’ पनि भन्ने गरिन्छ।

हुन त लोकतान्त्रिक प्रणाली र संस्कार बलियो नभएको देशमा शासकको चाहना नै अन्तिम हुन पुग्दछ । पुटिनले आफ्नो चाहनालाई राष्ट्रको चाहनाका रूपमा प्रस्तुत गरेर जनतालाई युद्धमा होम्ने काम गरे । युद्ध लम्बिँदा अब उनले चाहे पनि नरोकिने अवस्थामा पुग्दै छ । यद्यपि, अहिले पनि यो युद्ध रोक्न सक्ने सबैभन्दा बढी क्षमता पुटिनमै छ । त्यसकारण पुटिनले आफ्नै भलोका लागि भए पनि युद्ध रोक्नुपर्दछ ।

पहिलो, युद्ध पुटिनले सोचेभन्दा धेरै खर्चिलो र लामो भयो । युद्धले रुसलाई फाइदाभन्दा नोक्सान हुने अवस्था बन्यो । देशभित्र महँगी बढ्नुका साथै अन्तर्राष्ट्रिय नाकाबन्दीका कारण लगानी घट्यो । लाखौं सैनिकको मुत्यु पछि युवालाई जोडबलका साथ सेनामा भर्ती गर्नुपरेको छ । लाखौं रुसी युवा जो ‘पुटिनको युद्ध’ मा जान चाहँदैनन् देश छोडेर भागेका छन् । जेलमा सजाय काटिरहेकालाई समेत निकालेर युद्ध मैदानमा पठाइएको छ । वाग्नर जस्तो निजी सुरक्षा दस्ताको भरमा युद्ध लड्दा राज्यसत्ता अझै भ्रष्ट र क्रुर बन्दै छ ।

देशका विभिन्न भागमा हुने गरेका विरोधहरूले पनि समाजमा पुटिनका विरूद्ध आगो सल्किन सक्ने संकेत गर्दछन् । यदि उनले यो कुरा बुझ्न अझै ढिला गरे भने निकट भविष्यमा सत्ता बचाउन असम्भव हुन सक्दछ । जुन राजनीतिक प्रणालीमा उनी छन् त्यहाँ उनको सत्ताविरुद्ध सदैव खतरा छ । एक सीमामा पुगेपछि जनविरोध पनि आउछ नै । युद्धमा हुने थप क्षतिले पुटिनका लागि रुसको आन्तरिक मामिला व्यवस्थापन गर्न झन् जटिल बन्दै जानेछ ।

दोश्रो, युक्रेनी जनताको सार्वभौम अधिकार र त्यसको स्वतन्त्र प्रयोगलाई पुटिनले स्वीकार गर्नुपर्दछ । आफ्नै देशमा लोकतन्त्रको घाँटी थिच्ने पुटिनले के यो गर्लान् त ? भन्ने प्रश्न उठाउन सकिन्छ । यद्यपि, पुटिनले के बुझ्न जरुरी छ भने पुरानो सोभियत युनियनको अथवा अझै अगाडिका रुसी सम्राज्यको परिकल्पना गरेर अबको विश्व राजनीति सञ्चालन गर्न सकिँदैन ।

यो यस्तो समय हो जहाँ राष्ट्रिय सीमाहरू समेत भत्कदै छन् भने ठूला-ठूला साम्राज्य खडा गर्न खोज्नु इतिहासको उल्टो बाटो हो । विश्व भातृत्व र स्थानीय स्वयत्तताको बहस अगाडि बढाउनुपर्ने समयमा कुनै अमुक दृष्टिकोणको पूर्वाग्रह लिएर रुसको आक्रमणलाई सही ठान्न सकिँदैन । युक्रेनी जनताले लोकतान्त्रिक विधिद्वारा चुनेको सरकारले आफ्नो हितानुकूल काम गर्न पाउनुपर्दछ । उसको अधिकारलाई हनन् गरेर विश्वशान्ति प्राप्त हुन सक्दैन ।

वास्तवमा युक्रेन ‘नेटो’ को सदस्य बन्न चाहन्छ भने पनि कसैको रोक्ने अधिकार छैन । त्यो युक्रेनको आत्मनिर्णयको अधिकार हो । विश्व व्यवस्थालाई सधै ‘शक्तिको भक्ति’ नभएर निश्चित मूल्यमान्यता र विचारबाट अगाडि बढाउन जरुरी हुन्छ ।

न्यायको सिद्धान्तमा आधारित भएर संयुक्त राष्ट्र संघको बडापत्रको सम्मान गर्दै विश्व शान्ति कायम गर्न आवश्यक छ । यसको सुनिश्चितताका लागि सुरक्षा परिषद्लाई पुनर्संरचना गरी साधारण सभालाई बलियो बनाउनेतर्फ जानु अहिलेको आवश्यकता हो । पुटिनले समयको यो बहावलाई बुझ्न जरुरी छ । अन्यथा समयले उनलाई पाखा लगाउनेछ ।

तेश्रो, पुटिनले जुन उद्देश्यका लागि यो युद्ध सुरु गरेका थिए त्यसमा उनी असफल भइसकेका छन् । आफूभन्दा धेरै कमजोर यहुदी राष्ट्रपति भएको युक्रेनबाट नाजीवादले राष्ट्रिय सुरक्षामा खतरा निम्त्याएको भनि युद्धलाई जायज ठहराउने उनको प्रोपागान्डा असफल भएको छ । अब यस्तो तर्क प्रणाली कसैले पत्याउँदैन।

नेटोको विस्तारलाई रोक्न युक्रेनलाई आक्रमण गरी आफ्नो नियन्त्रणमा लिने र पश्चिमा शक्तिलाई सन्देश दिने उनको उद्देश्य पनि असफल भएको छ । युद्धले उनले सोचेभन्दा विपरीत पश्चिमा शक्तिहरूलाई झन् बलियो सैनिक गठजोड बनाउन सहयोग गर्‍यो । त्यसका साथसाथै नेटोको सदस्य नरहेको सीमाको देश फिनल्याड यसको सदस्य बनिसकेको छ भने स्विडेन र युक्रेन पनि ढिलोचाँडो यसमा सहभागी हुनका लागि वातावरण बनेको छ । अर्थात् जे नहोस् भन्ने पुटिन चाहन्थे, युद्धले त्यो झन् छिटो भयो।

वास्तवमा पुटिन विश्वसामु यस युद्धको औचित्य पुष्टि गर्न असमर्थ देखिएका छन् । रुसमा आश्रित र तानाशाहले शासन गर्ने केही देश जस्तै सिरिया, इरान, किर्गिस्तान तथा भेनेजुयलाबाहेक धेरै देशले रुसको साथ दिएको देखिएन ।चीनबाट पुटिनले केही सहयोग पाएता पनि खुला समर्थन प्राप्त गर्न सकेका छैनन् ।

वास्तवमा विस्तारै विश्व राजनीति पुटिनको विरोधमा नै अगाडि बढ्ने देखिन्छ। भारतजस्ता तटस्थ बसेका देश पनि रुसविरोधी समूहमा जाँदैछन् । त्यसकारण पुटिनले आफ्नै भलोका लागि भए पनि यो युद्धको अन्त्य गर्नु उपयुक्त छ । युद्ध ध्वंश र विनासका लागि मात्र गरिँदैन । त्यस्तो युद्धको के अर्थ हुन्छ–जसको उद्देश्य नै उपयुक्त छैन वा आफ्नै लागि आत्मघाती हुन्छ । युक्रेन युद्ध जति धेरै लम्बिन्छ, सँगसँगै पुटिनको शासन पतन हुने सम्भावना पनि बढ्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved