कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

नेपालभ्युज

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार सार्वजनिक भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ दीर्घकालीन सोच अनुरुप आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उत्पादनमा लक्षित नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख परियारले वार्षिक १० हजारलाई रोजगारी दिने उद्देश्य अनुरुप कर्णाली समृद्धिका लागि अभियान सञ्चालन गरिने बताए । विगतदेखि कार्यान्वयनमा रहेका मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित रोजगार र मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रमलाई परिमार्जनसहित निरन्तरता दिइएको छ भने प्रदेशलाई आर्गानिक प्रदेशको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सुर्खेत विमानस्थल पुनःविस्तार

कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तारको योजना पुनःल्याएको छ । यसअघि पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले विमानस्थल विस्तारको विषयलाई हटाएका थिए । त्यसको सट्टा भेरीगङ्गामा नयाँ विमानस्थल निर्माण गर्ने तयारी गरिएको थियो ।

निजी क्षेत्रले नयाँ विमानस्थल निर्माण गर्न समय लाग्ने भएको भन्दै वर्तमान विमानस्थललाई नै विस्तार गरिनुपर्ने बताउँदै आएका थिए । प्रदेश प्रमुख परियारले विमानस्थल विस्तारका लागि सङ्घीय सरकारसँग सहकार्य गरिने बताए ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मङ्गलगढी चोकमा आकाशे पुलको निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै वीरेन्द्रनगरका सडकमा ट्राफिक बत्तीको व्यवस्थापन गर्नुका साथै प्रदेश सरकार तथा स्थानीय तहको सहकार्यमा आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved