प्रचण्डको भारत भ्रमण : के बिगारे के सपारे ? के हो लिपुलेकसँग बाटो साट्ने कुरा ?

प्रधानमन्त्रीको रूपमा प्रचण्डको चौथो भारत भ्रमणले नेपाल–भारत सम्बन्धका विभिन्न आयामलाई पुनः एक पटक चर्चामा ल्याएको छ। प्रचण्ड स्वदेश फर्किएलगतै उनको भारत–भ्रमण सफल कि असफल भन्ने बहस सुरु भएको छ। कस्तो रह्यो त यो भ्रमण ?

प्रचण्डको भारत भ्रमण : के बिगारे के सपारे ? के हो लिपुलेकसँग बाटो साट्ने कुरा ?

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने भ्रमण सकेर शनिबार साँझ काठमाडौं विमानस्थलमा ओर्लिएपछि पत्रकारमाझ भने, ‘‘दुई देशबीच विश्वासको संकट थियो। यसपटकको भ्रमणले नेतृत्व तहमा विश्वासको नयाँ आधार तय गरेको छ। चाहे त्यो रेलसँग सम्बन्धित कुरा होस्, चाहे अनुदानमा पुलहरू बनाउने कुरा। सुख्खा बन्दरगाहकै कुरा किन नहोस्, टेक्निकल इन्स्टिच्युट बनाउने कुरा पनि भएका छन्।’’

आफ्नो भ्रमण विगतको भन्दा फरक, विश्वासको वातावरण बनाउन मात्र होइन, परिणाममुखी नै भएको पनि उनले दाबी गरे। विदेश भ्रमणबाट फर्किएर प्रधानमन्त्रीहरूले विमानस्थलमा पत्रकार सम्मेलन गर्ने चलन छ। प्रचण्डले भारत भ्रमणताका आफूले ‘खोट लाग्ने कुनै काम नगरेको’ सुनाए।

नेपालमा प्रधानमन्त्री वर्ष–दुई वर्षमा परिवर्तन भइरहन्छन्। उनीहरूको पहिलो प्राथमिकता जतिसक्दो चाँडो भारत भ्रमण गर्ने नै हुन्छ। राजनीतिक रूपमा भारतको विश्वास जित्न नसके आफू असफल हुने मनोवैज्ञानिक त्रास छ। भ्रमणको अपेक्षा गर्दै लामो प्रतीक्षा गरेर जुरेको यो भ्रमणपछि विमानस्थलमा प्रचण्ड प्रसन्न देखिन्थे।

प्रधानमन्त्रीको रूपमा प्रचण्डको चौथो भारत भ्रमण हो। उनको यो भ्रमणले नेपाल–भारत सम्बन्धका विभिन्न आयामलाई पुनः एक पटक चर्चामा ल्याएको छ। प्रचण्ड स्वदेश फर्किएलगतै उनको भारत–भ्रमण सफल कि असफल भन्नेमा यति बेला बहस सुरु भएको छ।

सत्ता पक्षका नेताहरू भन्छन्, ‘ऐतिहासिक उपलब्धि’ भएको छ। प्रतिपक्षी नेकपा एमालेलगायतका कतिपय स्वतन्त्र विश्लेषकले भने भ्रमणका क्रममा प्रचण्डले दिएका केही अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन्। केही गतिविधि आलोच्य रहेको तर्क गरेका छन्।

प्रधानमन्त्री प्रचण्डको छवि यस्तो बनेको छ कि उनको भ्रमणबाट कुनै विवादित काम नभइदिँदा मात्रै पनि उपलब्धि मान्नुपर्ने अवस्था छ। तर, यसपटक पनि उनी विवादभन्दा बाहिर भने रहन सकेनन्।

विभिन्न घटनाक्रमले फेरि पनि उनको अविश्वसनीय छवि, अपारदर्शी कार्यशैली र आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुने प्रवृत्ति देखिएको आलोचकको तर्क छ ।

कूटनीतिक अपरिपक्वता

प्रधानमन्त्री आफैँले विदेशी प्रतिनिधिसँगको भेटमा कूटनीतिक आचारसंहिता पालना नगरेको भन्दै आलोचना भयो । उच्चस्तरीय भेटमा ‘प्रधानमन्त्रीकी छोरी देखिने तर, कूटनीतिक प्रशासनिक कर्मचारी सहभागी नगराइएको’ भन्दै टिप्पणी भइरहेको छ।

भ्रमणमा गएकै दिन प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरे। भेटमा भारततर्फबाट कुराकानी नोट गर्ने विदेश सचिव विनय मोहन क्वात्रा थिए। यताबाट भने छोरी गंगा हातमा मोबाइल लिएर बसेकी थिइन ।

कूटनीतिक आचार संहिता २०६८ मा मन्त्रीसहितका उच्च सरकारी अधिकारीले ‘कुनै पनि विदेशी सरकारका प्रतिनिधिसँग भेट गर्दा सम्बन्धित मन्त्रालयका अधिकारीलाई राख्नुपर्ने ’ व्यवस्था छ। प्रचण्डले त्यो पालना गर्नु त परको कुरा सामान्य कूटनीतिक संस्कृति पनि पालना गरेनन्।

दुई देशका प्रधानमन्त्री र प्रतिनिधि मण्डलको भेटमा समेत प्रधानमन्त्री प्रचण्डको पक्षबाट नोट गर्ने कोही थिएनन्।

कुुटनीतिक मामिलाका विज्ञ देवेन्द्रराज पाण्डेले ट्विट गर्दै लेखेका थिए, ‘‘प्रधानमन्त्रीले हाम्रोतर्फका सरकारी प्रतिनिधि नराखी भारतीय सुरक्षा अधिकारी, विदेशसचिवसँग कुरा गरेको पटक्कै भएन । छलफलमा छोरी राखेको झन् भएन ।’’

लिपुलेकसँग बङ्गलादेश जाने बाटो साट्ने कुरा

लिपुलेक—लिम्पियाधुराको समस्या समाधानको विभिन्न विकल्पमा कुरा भएको प्रधानमन्त्री प्रचण्ड आफैँले बताए। लिम्पियाधुरासहितको भूभाग दिएर बङ्गलादेश जाने बाटो माग्ने विकल्पमा कुरा भए पनि निचोड भने ननिस्किएको सुनाए।

प्रचण्डले भ्रमणको तेस्रो दिन बिहान झिसमिसेमै नेपालका पत्रकारहरूसँग भने ‘‘मैले मोदीजीसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिन्छ। भन्ने प्रस्ताव राखेँ। तर, यसबारे बाँकी छलफल अघि बढेको छैन।’’

यसबारे प्रचण्डले नेपालका विज्ञले पनि यस्तो सुझाव दिएकाले यो विकल्प छलफलमा आएको दाबी गरे पनि यसबारे कसैलाई थाहा थिएन। देशको भूमि साट्ने जस्तो गम्भीर विषयमा कसैसँग छलफल नै नगरी उनले भारतसँग कुरा राखेको भन्दै अहिले आलोचना भइरहेको छ।

फर्केर शनिबार काठमाडौंमा पुन: प्रचण्डले भने, ‘‘कुनै निष्कर्ष होइन, त्यो पनि एउटा विकल्प हो भन्ने कुरा भयो। हामीलाई त्यही भूभाग बराबर दिने हो भने त सजिलै हल हुन्छ भन्ने विज्ञहरूको भनाइ छ। यही कारण मोदीजी अलि उत्साहित भएर सिमानाको समस्या हल गरिदिऊँ भनेर मैलेभन्दा पहिल्यै बोल्नुभएको हो। यसलाई सकारात्मक रूपमै लिनुपर्छ।’’

विपक्षी दलका नेता नभेट्नु

प्रधानमन्त्री प्रचण्ड भारतमा रहँदा पूर्वप्रधानमन्त्रीलाई नभेटेकोमा पनि केहीले आलोचना गरेका छन्। अघिल्लोपटक कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)को दलको कार्यालय गएकोमा आलोचना भएको थियो।

अहिले त्यति धेरै आलोचना नभए पनि विपक्षी दलका नेतालाई नभेट्दा नेपालका प्रधानमन्त्री अनुदार भएको आरोप लागेको छ। यसअघि, देउवाले पनि उनीहरूलाई भेटेनन्।

कसलाई भेट्ने भन्ने कुरा त्यहाँको सरकारले तय गर्ने भए पनि प्रधानमन्त्री प्रचण्डले भेट्छु भनेर जोड गर्दा सम्भावना रहने कूटनीतिज्ञ बताउँछन्।

जानकार भन्छन्, ‘‘नेपाललाई भारतका सबै राजनीतिक दलसँग राम्रो सम्बन्ध आवश्यक छ। मोदी सरकारले नाकाबन्दी लगाएका बेला राज्यसभामा छलफल चलाएर कंग्रेस–आईका नेताहरूले नेपालसँगको सम्बन्ध सुमधुर पार्न ध्यानाकर्षण गरेको हामीले भुल्न हुँदैन। हामीप्रति सद्भाव राख्दै आएका विपक्षी दललाई किन नभेट्ने’’

भाजपालाई फकाउन’ गेरुवस्त्र

चारदिने भ्रमणको तेस्रो दिन तीर्थाटनमा मध्यप्रदेश हुइँकिएका प्रचण्ड भोलिपल्टसम्म उतै व्यस्त रहे। शुक्रबार उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा अर्चना गरे, गेरूवस्त्र धारण गरेर एक सय आठ किलो रुद्राक्ष चढाए।

ईश्वरका नाममा शपथसमेत नलिने उग्र कम्युनिस्ट धङधङी बोकेका प्रधानमन्त्री प्रचण्ड गेरुवस्त्र लगाएर एकाएक ‘पूजा’ गर्न किन गए होलान् ?’ प्रचण्ड हुर्किएको कम्युनिस्ट राजनीतिको स्कुलिङ हो। उनका विगतका अभ्यास अझै उग्र थिए।

कम्युनिस्टको सामान्य माग दर्शनसमेत भुलेर प्रचण्डले भारतमा हिन्दु धर्मप्रति लचकता राख्ने भारतीय जनता पार्टी, विषेशगरी प्रधानमन्त्री मोदीलाई फकाउन त्यसो गरेको अनुमान छ। मोदी स्वयं हिन्दुवादी संस्था राष्ट्रिय स्वयंसेवक संघबाट उत्पादन भएका नेता हुन्।

उनले हिन्दु धर्मको जगेर्ना र विकासमा विशेष चासो राख्छन्। यसैले पनि नेपालमा कहिल्यै मन्दिर नटेकेका प्रचण्डले मोदीलाई खुसी पार्न गेरुवस्त्र पहिरिएर पुजापाठमा संलग्न भएका हुन सक्छन् ।

उठाउनुपर्ने धेरै विषय छुटाइयो

दिल्लीमा उठाउनुपर्ने धेरै विषय थिए, तर नेपालले उठाएन । नउठ्नुपर्ने विषयचाहिँ उठाइयो। प्रधानमन्त्री प्रचण्डलगायतका नजरमा जनताका धेरै मामिला भारतमा उठाउन लायक ठहरिएनन्। ठूला परियोजनाको छायाँमा भारतमा मजदुरी गर्न जाने आमनेपालीका समस्या छायाँमा परे।

भारतमा बस्ने नेपालीको कुनै तथ्यांक छैन। २५ लाख भन्दा बढी नेपाल बस्ने अनुमान छ। ती नेपालीले आफूहरू स्वदेश फर्किदा सीमामा लुटपाट र कुटपिटका घटना भइरहेको सुनाउँदै आएका छन्। भारतीय सुरक्षाकर्मीबाट लुटिएका घटना नौलो होइन।

श्रमिक न्यूनतम ज्यालाबाट वञ्चित छन्। नेपालीलाई करार पत्र दिइँदैन। जसका कारण कार्यस्थलमा हुने दुर्घटना, बिरामी, घाइते र अशक्त हुँदा कुनै पनि खालको सहयोग पाउँदैनन्। कुनै घटना भएमा निर्दोष नेपालीलाई झुटो मुद्दा लगाइने क्रम बढ्दो छ। नेपालीले आफ्ना परिवारसँग सम्पर्क गर्नसमेत कठिन छ। भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट १८ देखि २० रुपैयाँ शुल्क लाग्छ ।

आफ्नो घरमा पैसा पठाउन समस्या छ। सजिलै आधार कार्ड पाउँदैनन्। जसका कारण नेपाली श्रमिकले आफ्नो घर–परिवारलाई भनेको समयमा पैसा पठाउन सक्दैनन्। नेपालीले मोबाइलको सिम कार्ड पाउन समेत मुस्किल छ।

प्रचण्ड भारत गएकै दिन बाराखम्बारोडस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा केही प्रवासी नेपालीले यी र यस्ता आफ्ना गुनासो सुनाए। 

टोलीले प्रधानमन्त्री प्रचण्डसामु आफ्नो गुनासो समेत सुनायो । महिनौंको प्रतीक्षापछि भारत जान पाएका प्रचण्ड हतारमा थिए। उनले कति सुन्न भ्याए, कसैले ठम्याउन सकेन। तर प्रवासी नेपालीका समस्याबारे कतै पनि कुरा उठेन ।

प्रधानमन्त्री प्रचण्डले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझ्नुपर्ने बारे समेत कुनै कुरा उठाएनन् । त्यहाँ नेपालसँग जोडिएका धेरै समस्या समाधानका कुरा उल्लेख गरिएको छ। तर, बन्न लागेको विश्वासको वातावरण खलबल्याउन नचाहेको उनले बताए। यसबारे जुन तौरतरिकाले कुरा राख्नुपर्थ्यो, त्यसमा उनी चुके ।

उपलब्धि र आशा

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा केही उपलब्धि नभएका होइनन्। अर्थतन्त्रसँग सम्बन्धित सबैजसो एजेन्डामा दुई मुलुकबीच भएको सहमतिलाई सफलता मान्न सकिन्छ। त्यसमा मूलतः ऊर्जा र पारवहन सम्बन्धमा भएको सहमति ‘ऐतिहासिक’ भएको सम्बद्ध पक्षको दाबी छ।

दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनपछि मिडिया ब्रिफिङमा भारतीय विदेश सचिव विनय मोहन क्वात्राले पनि त्यही भने, ‘‘यो भ्रमण आर्थिक विकास र साझेदारीका मुद्दालाई बलियो बनाउने तथा विस्तार गर्ने विषयमा केन्द्रित भयो।’’

नेपालको सर्वाधिक प्राथमिकतामा रहेको दीर्घकालीन विद्युत् व्यापार समझदारी बन्नु नै पनि यस भ्रमणको महत्त्वपूर्ण उपलब्धि हो । यद्यपि, सम्झौता पत्र आदान-प्रदान हुन बाँकी छ।

यसबाट नेपाल र भारतका विद्युत् बिक्रेता र खरिदकर्ताबीच पाँच–सात वर्षको मध्यकालीन र २५ वर्षसम्मको दीर्घकालीन सम्झौता गर्ने बाटो खुल्नेछ । जब कि, यसअघि नेपाली आयोजनाको विद्युत् भारत लैजान हरेक दिन प्रतिस्पर्धा गर्नुपर्ने झन्झट अब हटनेछ ।

तर, अहिले भएको सहमतिका आधारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका छन्, यसरी नेपालमा उत्पादन हुने विद्युत्को व्यापार सुनिश्चित भएपछि उत्पादन आयोजनामा लगानी आउने विश्वास जगाएको छ ।

६६९ मेगावाटको तल्लो अरुण र ४८० मेगावाटको फुकोट कर्णाली आयोजना निर्माण भारतीय कम्पनीले बनाउने सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ ।

भारतीय सञ्चारमाध्यममा प्रचण्ड

तेस्रोपटक प्रधानमन्त्री बन्ने सौभाग्य पाएका प्रचण्डले प्रधानमन्त्रीको रूपमा चौथोपटक दिल्लीमा स्वागत पाए। भारत भ्रमणमा जान पाएकोमा प्रचण्ड प्रसन्न देखिन्थे। भारतबाट प्रकाशित हुने अङ्ग्रेजी र हिन्दी भाषामा प्रकाशित हुने पत्रपत्रिकामा भने प्रचण्ड कमै अटाए।

तर, अधिकांश पत्रिकाले छिमेकको प्रधानमन्त्रीको भ्रमणलाई भित्री पृष्ठमा सानो समाचार राखेर औपचारिकता मात्र पूरा गरे। जबकि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको तीर्थस्थल भ्रमणमा आउँदा पनि सर्वाधिक चर्चामा रहने गर्छन्।

प्रचण्ड दिल्ली पुगेको भोलिपल्ट भने ‘दैनिक इण्डियन एक्सप्रेस’ र अर्को आर्थिक पत्रिकामा पछाडिको पेज सिङ्गै ढाक्ने गरी स्वागत विज्ञापन छापिएको थियो।

विज्ञापनदाता थियो, भारतको व्यवसायीको संस्था ‘भारतीय उद्योग परिसंघ’। भोलिपल्ट नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसंघको आयोजनामा ‘नेपाल–भारत बिजनेस समिट’ कार्यक्रम थियो। सो कार्यक्रममा प्रमुख अतिथि थिए, प्रचण्ड। सोही कारण प्रचण्डको स्वागतको लागि विज्ञापन छापिएको बुझ्न कठिन थिएन।

प्रचण्ड तिनै पात्र हुन्, जो एकताका प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा जाँदा ज्यादा चर्चा भएको थियो। १५ वर्ष अगाडी उनी पहिलोपटक प्रधानमन्त्री भएका थिए।

डेढ दशकमा प्रचण्डमा धेरै बदलाव आएको छ। राजनीतिक जीवनदेखि अन्तर्राष्ट्रिय राजनीतिमा समेत घटना, पात्र, प्रवृत्तिमा धेरै परिवर्तन भइसके।

२०६५को असारमा प्रधानमन्त्री भएका प्रचण्ड १ असोजमा भारत भ्रमणमा गए। प्रचण्ड संविधान सभामा सबैभन्दा ठुलो दलका शक्तिशाली नेता थिए। सशस्त्र जनयुद्ध हुँदै शान्ति प्रक्रियामा पाइला टेकेर चुनाव लडेर प्रधानमन्त्री बन्दा लोकप्रियताको शिखरमा थिए। देशभित्र र बाहिर प्रचण्डबारे जान्न र बुझ्न चाहनेहरू अत्यधिक थिए।

त्यसैले होला भारत पुग्नु अगावै प्रचण्डबारे मिडिया कभरेज व्यापक भयो। पुगेपछि झनै हुने नै भयो। अति महत्त्वाकांक्षाका साथ भारत पुगेका प्रचण्ड कुनै ठूलो उपलब्धिबिना भ्रमण सकेर फर्किए। तैपनि चर्चा हुनेगर्थ्यो। तर, यसपटक मिडिया कभरेज देखिएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved