जातजातिको सामुदायिक वर्गीकरण : यस्तो देखिन्छ अनुपात

जनगणना–२०६८ मा १२५ देखिएका जातजातिमा थप १७ नयाँ जाति पहिचान भएका छन् । अब जातजातिको संख्या १४२ पुगेको छ । जनगणनाले देशको जातजातिको अनुपातमा उल्लेखनीय भिन्नता आएको देखाउँदैन । कस्तो छ त अवस्था विस्तृतमा जानौं ।

जातजातिको सामुदायिक वर्गीकरण : यस्तो देखिन्छ अनुपात

काठमाडौं। राष्ट्रिय तथ्यांक कार्यालयले जनगणना–२०७८ को जातजाति, भाषा र धर्मको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांकअनुसार जनगणना–२०६८ मा १२५ देखिएका जातजातिमा थप १७ नयाँ जाति पहिचान भएका छन् । अब जातजातिको संख्या १४२ पुगेको छ ।

जातजातिमा क्षेत्री समुदाय सबैभन्दा धेरै १६.४५ प्रतिशत देखिएको छ भने दोस्रोमा पहाडी ब्राह्मण समुदाय ११.२९ प्रतिशत छ । तेस्रो स्थानमा मगर ६.९ प्रतिशत छ। त्यसैगरी, अन्य ठूला जातीय समुदायमा थारु ६.२ प्रतिशत, तामाङ ५.६२ प्रतिशत, विश्वकर्मा ५.०४ प्रतिशत, मुसलमान ४.८६ प्रतिशत, नेवार ४.६ प्रतिशत, यादव ४.२१ प्रतिशत, राई २.२ प्रतिशत, परियार १.९४ प्रतिशत, गुरुङ १.८६ प्रतिशत, ठकुरी १.७ प्रतिशत, मिजार १.५५ प्रतिशत, तेली १.४८ प्रतिशत, लिम्बू १.४२ प्रतिशत, चमार १.३५ प्रतिशत, कोइरी १.२२ प्रतिशत देखिएका छन् ।

यसरी १४२ मध्ये १८ जातिको १ प्रतिशतभन्दा धेरै जनसंख्या देखिएको छ । बाँकी १२४ जातजातिको जनसंख्या १% भन्दा कम अनुपातमा छ। १४२ जातजातिलाई विभिन्न तरिकाले वर्गीकरण गर्न सकिन्छ । जस्तो कि संविधानले परिभाषा गरेको खस–आर्य समुदायभित्र पहाडी ब्राह्मण, क्षेत्री, ठकुरी र दशनामी पर्दछन्। क्षेत्री–१६.४५ प्रतिशत, पहाडी ब्राह्मण–११.२९ प्रतिशत, ठकुरीको १.७ प्रतिशत र सन्यासी-दशनामी–०.७८ प्रतिशतलाई जोड्दा ३०.२२ प्रतिशत हुन्छ।

खस–आर्य समुदायसँग निकटतम् नश्लील सम्बन्ध राख्ने ठानिएका पहाडी दलितका तीन समूह विश्वकर्मा, परियार र मिजारको क्रमशः ५.०४ प्रतिशत, परियार १.९४ प्रतिशत, मिजार १.५५ प्रतिशत समेत यसमा जोड्ने हो भने यस समुदायको जनसंख्या अनुपात ३८.७५ प्रतिशत हुन्छ। पहाडी दलितका तीन ठूला समुदायको कुल जनसंख्या भने ८.५३ प्रतिशत छ यसमा गाइनेको ०.०२ र वादी समुदायको ०.०४ समेत जोड्दा ८.५९ प्रतिशत हुन्छ।

मधेसी ब्रह्मणको जनसंख्या अनुपात ०.७५ प्रतिशत अर्थात् २, १७, ७७४ छ। यदि,पहाडी र मधेसी दुवै ब्राह्मण जनसंख्यालाई एक ठाउँमा देखाउने हो भने ब्राह्मण जाति १२.०४ प्रतिशत हुन्छ । त्यसैगरी, तराईको क्षेत्री समुदाय मानिने राजपूतहरूको जनसंख्या ०.१६ प्रतिशत देखिएको छ । यदि, पहाड र मधेस दुवैतिरको क्षेत्रीय समुदाय र निकटतम् देखिने ठकुरी समेतलाई एउटा डालोमा राख्ने हो भने १८.३१ प्रतिशत हुन्छ ।

तराई दलित समुदायमा भने सबैभन्दा धेरै जनसंख्या भएको जाति हरिजन (चमार-राम) देखिएको छ । हरिजन समुदायको जनसंख्या १.३५ प्रतिशत छ भने दोस्रो स्थानमा मुसहर समुदायको जनसंख्या ०.९१ प्रतिशत छ । त्यसैगरी तराई दलितका अन्य समुदायको जनसंख्या क्रमशः पासवान ०.८६ प्रतिशत, तत्मा ०.४३ प्रतिशत, खत्वे ०.४३ प्रतिशत, धोबी ०.३५ प्रतिशत, लोहार ०.३५ प्रतिशत, कुम्हार ०.३३ प्रतिशत, सोनार ०.३२ प्रतिशत, बातर ०.२१ प्रतिशत, कहार ०.२१ प्रतिशत, भूमिहर ०.११ प्रतिशत, कोरी ०.०७ प्रतिशत, डुम ०.०७ प्रतिशत, माली ०.०७ प्रतिशत, खटिक ०.०१ प्रतिशत, सर्वरिया ०.०२ प्रतिशत, धन्कार ०.०१ प्रतिशत, कुशवाडिया ०.०१ प्रतिशत, हल्खोर ०.०१ प्रतिशत, चिडिमार ०.०१ प्रतिशत गरी र अन्य दलित गरी ६.२ प्रतिशत छ । पहाडी र मधेसी दलितको कुल जनसंख्या अनुपात १४.७९ प्रतिशत हुन्छ ।

मुस्लिम समुदायको तथ्यांक भने रोचक प्रकृतिको छ । धर्मका आधारमा इस्लाम धर्म ५.०९ प्रतिशत छ भने जातिका आधारमा मुसलमान ४.८६ प्रतिशत मात्र देखिन्छ । भाषाका आधारमा उर्दू मातृभाषी १.४२ प्रतिशत मात्र छन् । यसको अर्थ– नेपालका कमै मुसलमानले उर्दू मातृभाषा बनाएका छन् । अर्कोतिर मुसलमान बाहेकका जातिले पनि इस्लाम धर्म मान्दछन् भन्ने अर्थ लगाउन सकिन्छ । मुस्लिम समुदायको पहाड र मधेस अनुपात भने एकीकृत तथ्यांकबाट खुल्दैन ।

पहाडी जनजाति समुदायमा सबैभन्दा धेरै जनसंख्या मगरको छ । मगर ६.९ प्रतिशत, दोस्रो स्थानमा तामाङ ५.६२ प्रतिशत छ । त्यसपछि क्रमशः नेवार ४.६ प्रतिशत, राई २.२ प्रतिशत, गुरुङ १.८६ प्रतिशत, लिम्बू १.४२ प्रतिशत, शेर्पा ०.४५ प्रतिशत, कुमाल ०.४४ प्रतिशत, भुजेल ०.४१ प्रतिशत, माझी ०.३८ प्रतिशत, चेपाङ ०.२९ प्रतिशत, सुनुवार ०.२७ प्रतिशत, घले ०.१२ प्रतिशत, कुलुङ ०.११ प्रतिशत, धामी ०.११ प्रतिशत, दराई ०.०६ प्रतिशत, याख्खा ०.०६ प्रतिशत, वोटे ०.०५ प्रतिशत, वान्तावा ०.०५ प्रतिशत, चाम्लिङ ०.०४ प्रतिशत, थकाली ०.०४ प्रतिशत, छन्त्याल ०.०४ प्रतिशत छ ।

यसैगरी हेल्मो ०.०३ प्रतिशत, याम्फु ०.०३ प्रतिशत, बराम ०.०३ प्रतिशत, नाछारिङ ०.०३ प्रतिशत, वाहिङ ०.०२, जिरेल ०.०२, खालिङ ०.०२ थुलुङ ०.०२ प्रतिशत, आठपहरिया, ०.०२ प्रतिशत, डोल्पो ०.०२ प्रतिशत, मेवाहाङ ०.०२ प्रतिशत, ब्यासी ०.०२ प्रतिशत, दुरा ०.०२ प्रतिशत, साम्पाङ ०.०२ प्रतिशत, चुम्बानुब्री ०.०२ प्रतिशत, लेप्चा ०.१ प्रतिशत, हायु ०.०१ प्रतिशत, लोहारुङ ०.०१ प्रतिशत, र अन्य केही साना जनजाति समूहसमेत २६.५१ प्रतिशत छ ।

मधेसी जनजाति समुदायमा सबैभन्दा धेरै जनसंख्या थारू समुदायको ६.३ प्रतिशत छ । अन्य मधेसी जनजातिहरू क्रमशः राजवंशी ०.४५ प्रतिशत, रानाथारू ०.२९ प्रतिशत, दनुवार ०.२८ प्रतिशत, सतार ०.२ प्रतिशत, कुडुक ०.१६ प्रतिशत, धिमाल ०.०९ प्रतिशत, खसास ०.०८ प्रतिशत, ताजपुरिया ०.०७ प्रतिशत, गन्गाई ०.१४ प्रतिशत, पहारी ०.०५ प्रतिशत, मेचे ०.०२ प्रतिशत, राजी ०.०२ प्रतिशत, मुन्डा ०.०१ प्रतिशत, रोङ ०.०१ प्रतिशत, किसान ०.०१ प्रतिशत र अन्य केही गरी ८ प्रतिशत हुन्छ। पहाडी र मधेसी जनजति समुदायलाई एक ठाउँ गर्दा जनजाति जनसंख्या ३४.५१ प्रतिशत हुन्छ ।

मधेसी समुदायमा भने सबैभन्दा धेरै जनसंख्या यादव जातिको ४.२१ प्रतिशत छ । अन्य मधेसी समुदाय क्रमशः तेली १.४८ प्रतिशत, कोइरी १.२२ प्रतिशत, कुर्मी ०.९५ प्रतिशत, धानुक ०.८६ प्रतिशत, ब्राह्मण ०.७५ प्रतिशत, मल्लाह ०.७१ प्रतिशत, केवट ०.६३ प्रतिशत, कानु ०.५२ प्रतिशत, ठाकुर ०.४७ प्रतिशत, कलवार ०.४६ प्रतिशत, नुनिया ०.३७ प्रतिशत, सुँडी ०.३७ प्रतिशत, हलुवाई ०.२५ प्रतिशत, बनियाँ ०.१८ प्रतिशत, कठबनिया ०.१८ प्रतिशत, राजपूत ०.१६ प्रतिशत, अमात ०.१६ प्रतिशत, लोध ०.१४, भेडियार ०.१४, मारवाडी ०.१२ प्रतिशत,कायस्थ ०.११ प्रतिशत, राजभोर ०.१ प्रतिशत, रौनियार ०.०९ प्रतिशत र अन्य केही गरी १४.२२ प्रतिशत हुन्छ ।

मधेसी समुदायको १४.२२, मधेसी दलितको ६.२ प्रतिशत र मधेसी जनजाति ८ प्रतिशतलाई एक ठाउँ गर्दा मुसलमानलाई छोडेर मधेसी समुदायको जनसंख्या २८.५२ प्रतिशत हुन्छ । यसमा मुस्लिम समुदायको (मुस्लिम समुदाय पहाडका नगन्य छ भन्ने मान्यतामा ) ४.८६ प्रतिशत समेत जोड्दा ३३.३८ प्रतिशत हुन्छ ।

तीन ठूलो सामुदायिक वर्गीकरण पहाडी दलित सहितको खस–आर्य, मुस्लिमसहितको मधेसी, मधेसी जनजाति तथा मधेसी दलित र पहाडी जनजातिमा वर्गीकरण गर्दा यसको अनुपात क्रमशः ३८.७५ प्रतिशत, ३३.३८ प्रतिशत र २६.५१ प्रतिशत हुन्छ ।

जनगणनाले देशको जातजातिको अनुपातमा उल्लेखनीय भिन्नता आएको देखाउँदैन । विगतका जनगणनाले पनि करिब यस्तै प्रकारको सामुदायिक अनुपात देखाउने गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved