एमालेका केन्द्रीय सचिवहरु प्रदेश इन्चार्ज, सदस्यहरुलाई पालिकाको जिम्मेवारी

नेपालभ्युज

एमालेका केन्द्रीय सचिवहरु प्रदेश इन्चार्ज, सदस्यहरुलाई पालिकाको जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले केन्द्रीय सचिवहरुलाई प्रदेश इन्चार्ज तोकेको छ भने केन्द्रीय सदस्यहरुलाई पालीकाको जिम्मेवारी दिइएको छ ।

नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार  कोशी प्रदेशमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट र लुम्बिनीमा पद्मा अर्याललाई  इन्चार्जको जिम्मेवारी दिइएको छ ।

यस्तै कर्णालीमा  लेखराज भट्ट, सुदूरपश्चिममा छविलाल विश्वकर्माले इन्चार्जको जिम्मेवारी पाएका छन् ।   बागमती प्रदेशमा विशेष कामहरुको संयोजन केन्द्रीय कार्यालयमार्फत नै हुने बताइएको छ ।

यसैगरी बैठकले केन्द्रीय संगठन प्रमुखमा काशीनाथ अधिकारी, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा राजेन्द्र गौतमलाई जिम्मेवारी दिइएको छ । यसअघि केन्द्रीय संगठन प्रमुखमा खगराज अधिकारी र प्रचार विभाग प्रमुखमा पृथ्वीसुब्बा गुरुङले जिम्मेवारी लिएका थिए  ।

स्थानीय कमिटी र पोलिटब्यूरो सदस्यहरुलाई जिल्ला इन्चार्ज तोकिएको छ भने स्कुलिङ, प्रचार र जनसंगठनहरुको संयोजन गर्न सात वटा प्रदेशमा एक–एक जना केन्द्रीय सदस्य खटाइएको ज्ञवालीले जानकारी दिए ।

बैठकले योजना र नीतिसँग जोडिएको विभागको नेतृत्व ईश्वर पोखरेल, पूर्वाधार निर्माण र विकाससँग जोडिएको विभागको नेतृत्व सुरेन्द्र पाण्डे, कृषि तथा उद्यम रामबहादुर थापा, सामाजिक विकाससँग सम्बन्धित अष्टलक्ष्मी शाक्य, मानव श्रोतसँग सम्बन्धित विभाग युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसँग जोडिएको विभाग सुवासचन्द्र नेम्वाङ र संगठन प्रशिक्षणसँग जोडिएको विभागको नेतृत्व विष्णुप्रसद पौडेलले गर्ने जिम्मेवारी तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved