रोग पत्ता लगाई उपचारमा जान्छौं, प्रचारबाजी होईन : मन्त्री बस्नेत

नेपालभ्युज

रोग पत्ता लगाई उपचारमा जान्छौं, प्रचारबाजी होईन : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले गरेका कामको प्रचारबाजी गर्ने पक्षमा नरहेको बताएका छन् । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफू प्रचारबाजी भन्दा पनि जरो समातेर रोग पत्ता लगाइ उपचार गर्ने पद्धतिमा रहेको बताए ।

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूलाई अस्पतालमा विपन्नहरुलाई निःशुल्क उपचार गर्न आग्रह गर्दै भेट गरेपनि भेट भइसकेपछि भने चेतावनीको रुपमा सामाजिक सञ्जालमा स्टाटस लेखेको बताए । उनले मेयर साहलाई आफूले एक हप्ताभित्र काम गरेर देखाउने वचन दिएको र सोही अनुसार आफूले प्रमाणित गरेको बताए।

‘हामी प्रचारबाजी गर्ने किसिमले गर्दैनौँ । हामी समस्याको जरो समातेर रोग पत्ता लगाएर उपचार गर्ने पद्धतिमा हामी जान्छौँ । मैले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई एक हप्ताभित्र हामीले गरेको कामको रिजल्ट देखाउँछौँ भनेको थिएँ’ उनले भने, ‘उहाँले फेसबुकमा लेखेको स्टाटस के पढ्न पाएँ भने स्वास्थ्यमन्त्रीलाई सबैकुरा जानकारी गरायौँ । तर एक हप्ताभित्रमा काम शुरु भएन भने हामी अस्पतालको काम बन्द गरिदिन्छौँ भन्ने भाषामा लेख्नुभयो । त्यो गर्ने काम त रोकिँदैन ।’

‘नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र काम गर्न पाउँछ । तर मैले तपाईलाई नै लिएर जान्छौँ भनेको थिएँ । तर उहाँलाई आज फेला पारिएन । उहाँ यहाँ भएको भए सँगै जानुहुन्थ्यो । प्रचार भन्दा काम गर्ने शैलीमा जोड दिनुपर्छ । हामी एक्शन ओरिन्टेट बनौँ । प्रचारबाजी सही कुराका लागि सूचना र सचेतनाका लागि गरौँ,’ उनले अगाडी थपे ।

मन्त्री बस्नेतले कसैको सुझावका भरमा सुर्तिजन्य पदार्थमा कर नबाढएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved