यसरी जोडिइन् प्रचण्ड परिवारसँग सोबिता !

खासगरी सोबिताको उम्मेदवारी फिर्ता गराउनलाई केही माओवादी केन्द्रका युवाहरू खुल्ला हृदयले नै लागेका थिए । उनीहरूले सोबिताको चिनजानको साथी भनिएका चितवनका गेहेन्द्र घिमिरेसँग सल्लाह गरे ।

नेपालभ्युज

यसरी जोडिइन् प्रचण्ड परिवारसँग सोबिता !

काठमाडौं । मंसिर ४ को प्रतिनिधि सभा निर्वाचन नजिकिँदै थियो । काठमाडौं २ बाट गठबन्धनको तर्फबाट उम्मेदवार थिइन् पूर्वसभामुखसमेत रहेकी नेकपा (माओवादी केन्द्र) की प्रभावशाली नेता ओनसरी घर्ती । गठबन्धनको पहिलो चुनावी सभा नै भक्तपुरको काँडाघारीस्थित एक पार्टी प्यालेसमा आयोजना गरिएको थियो । जहाँ, प्रमुख अतिथि थिए तत्कालीन तथा नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा । अतिथिहरूमा हालका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र काठमाडौं २ का पूर्वसभासद (जसले २०६४ सालमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालाई पराजित गरेका थिए) झक्कुप्रसाद सुवेदी थिए ।

सत्ता गठबन्धनसम्बद्ध दलहरूको पहिलो चुनावी सभाबाट प्रचण्डले ओनसरीको जित सुनिश्चित भएकाले ‘यो क्षेत्रले मन्त्री पाउँदैछ’ भनेर भाषण गरे । त्यसैमा देउवा र नेपालले पनि ‘होमा हो’ मिलाए । ओनसरीले पनि चुनावै जितेजस्तो भावी योजनामा विकास निर्माणका फेहरिस्त सुनाइन् । चुनावी कार्यक्रम अगाडि बढ्दै जाँदा त्यसै क्षेत्रबाट नेकपा (एमाले) को तर्फबाट उम्मेदवार रहेका मणिराम फुँयाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ति पोखरेल ओनसरीको मुख्य प्रतिस्पर्धीको रूपमा देखिए ।

चुनावी प्रचारकै क्रममा थाहा भयो, दोलखा घर भइ कागेश्वरी मनोहरा डेरा गरी बस्ने कानूनकी विद्यार्थी सोबिता गौतम रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार रहेछिन् । प्रचारको क्रममा उनका पछाडि खासै भीडभाड र सभा-सम्मेलन र तडकभडक नदेखिकाले आफूलाई ‘हेबी वेट’ ठानेका गठबन्धन र एमालेका उम्मेदवारहरूले सोबितालाई ‘नोटिस’ नै गरेनन् । जब चुनाव नजिकिँदै आयो, रास्वपाको देशव्यापी प्रचारका क्रममा काठमाडौं २ मा पनि केही मत रहेको आकलन गरियो । यो आकलन उम्मेदवारहरूले भन्दा पनि दलका कार्यकताहरूले गरेका थिए ।

त्यसैक्रममा ओनसरीको चुनावी कमाण्डर रहेका माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य कुमार पौडेल र नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. २ का क्षेत्रीय सभापति कवीर शर्मालाई माओवादीका एक कार्यकताले ‘ओनसरी दिदीलाई चुनाव जित्न गाह्रो हुन्छ भने रास्वपाकी उम्मेदवार सोबिता गौतम मेरो चिनजानको साथी हो, म उसलाई उम्मेदवारी फिर्ता लिएर दिदीलाई सघाउन आग्रह गर्छु’ भन्ने सन्देश पठाए । त्यतिबेला सत्ता गठबन्धनका कुनै पनि नेता यो कुरा पत्याउन तयार थिएनन् । उनीहरूका अगाडि भर्खरै खुलेको रास्वपा र त्यसका उम्मेदवार सोबिता ‘नोटिस’ मै थिएनन् ।

त्यसपछि उम्मेदवार नै रहेको ओनसरीसम्म पनि कार्यकर्तामार्फत सोबितालाई उम्मेदवारी फिर्ता गराउन लगाउने कुरा पुग्यो । तर, ओनसरीले ‘चुनावी प्रतिस्पर्धाले एउटी महिलालाई राजनीति सिकाउँछ, उनको मतले हामीलाई जित-हारमा फरक पार्दैन । त्यसैले उनको उम्मेदवारी फिर्ता गराउनुभन्दा उनलाई राजनीतिक प्रतिस्पर्धा दिनुपर्छ’ भन्ने सदासयता व्यक्त गरिन् ।

खासगरी सोबिताको उम्मेदवारी फिर्ता गराउनलाई केही माओवादी केन्द्रका युवाहरू खुल्ला हृदयले नै लागेका थिए । उनीहरूले सोबिताको चिनजानको साथी भनिएका चितवनका गेहेन्द्र घिमिरेसँग सल्लाह गरे । गेहेन्द्र तिनै व्यक्ति हुन्, जो माओवादी केन्द्रको राजनीतिमा स्वच्छ छविका युवा र नाताले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका भान्जा पनि हुन् ।

चितवनमा उनको घर र प्रचण्डको घर नजिकै पर्छ । भरतपुर महानगरपालिका १४ मा प्रचण्डले भर्खरै आफ्नो घर निर्माण गरेका छन् । भरतपुरको मेयर पनि प्रचण्डकै छोरी रेनु दाहाल छिन् । यदि सोबिताको उम्मेदवार फिर्ता गराउन गहनरूपमा लिएको भए गेहेन्द्रले सघाउन सक्थे । गेहेन्द्रको आशय पनि ओनसरीले चुनाव हार्नु हुँदैन भन्ने नै थियो ।

संयोग नै भनौँ— निर्वाचनको परिणाम आफ्नो पक्षमा पारेकी सोबिताले गेहेन्द्रलाई समेत जीवनसाथी बनाइन् । माओवादी केन्द्रको राजनीतिबाट उदाएका युवा गेहेन्द्र र रास्वपा राजनीतिबाट उदाएकी सोबिताबीच विवाह भएको छ । स्रोतकाअनुसार उनीहरू अहिले ‘हनीमून’का लागि जापान उडिसकेका छन् । यसरी परोक्षरूपमा सोबिता प्रचण्ड परिवारसँग जोडिएकी छन् ।

सोबिता काठमाडौं २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य तथा रास्वपा केन्द्रीय समिति सदस्य हुन् । उनी पार्टीको कानून तथा न्याय विभाग प्रमुखसमेत हुन् । संसद्‌मा सम्बन्धित विषयमा जायज प्रश्न गर्ने भनेर प्रशंसा बटुलेकी सोबिताको यसअघि उपसभामुख बन्ने चर्चासमेत थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved