कर्णाली पुलमा टिकटक बनाउनेको भीड, दुर्घटनाको जोखिम बढ्यो (तस्वीरहरू)

नेपालभ्युज

कर्णाली पुलमा टिकटक बनाउनेको भीड, दुर्घटनाको जोखिम बढ्यो (तस्वीरहरू)

कैलाली। कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरूको भीडले दुर्घटनाको जोखिम बढाएको छ । पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरूको भीडका कारण दुर्घटनाका घटनाहरू बढ्न थालेका हुन्।

चिसापानीको सिमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुलको अवलोकन गर्ने पर्यटकको संख्या बढ्नु सकारात्मक भएपनि बीच सडकमै टिकटक बनाउनेहरुका कारण जोखिम बढाएको हो । चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्धस्थलका रूपमा लिइन्छ। पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरू कर्णाली नदीको चिसो हावामा रमाउन पुग्दा स्थानीय बजारीकरणलाई फाइदा पुगेको भएपनि आवश्यक सतर्कता अपनाउन नसक्दा समस्या भएको हो ।

कर्णाली नदीको पुलमा जोखिमपूर्ण ढंगले टिकटक बनाई भाइरल बन्न चाहनेहरूको क्रियाकलापका कारण सवारी आवागमनमा नै समस्या पर्ने गरेको चालकहरु बताउँछन् । पर्यटक लिएर चिसापानी आएका चालक कृष बोहराले शनिबार पुलमा सवारी पास गर्नसमेत समस्या हुनेगरी टिकटक बनाउनेहरूले भरिने बताए ।

कर्णाली नदी क्षेत्र र पुलमा चिसो हावा चल्ने भएकाले गर्मी छल्नका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या प्रतिदिन बढ्न थालेको छ ।

२०५० सालमा जापानिज कम्पनीले निर्माण गरेको सो पुलको तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका थिए । पुलको बीचमा रहेको ठूलो खम्बामा स्टिलका तारहरू बाँधेर अड्याइएको छ । तारलाई ट्रसमा आकर्षक ढंगले बाँधेर राखिएको छ । यो दृश्य हेर्नकै लागि पर्यटक पुलमा जाने गर्छन् । पुलको लम्बाइ ५०० मिटर र १० मिटर चौडाइ रहेको छ । पछिल्लो समय कर्णाली नदीमा र्‍याफ्टिङ गर्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्यासमेत बढ्दो छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved