कांग्रेसले भोट पाए पनि विश्वास गुमायो : गगन थापा

नेपालभ्युज

कांग्रेसले भोट पाए पनि विश्वास गुमायो : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सरकारले गरेका अलोकप्रिय कामको समर्थन गर्दै जाँदा कांग्रेसले भोट पाए पनि जनताको विश्वास गुमाउँदै गएको बताएका छन्।

शुक्रबार कांग्रेस निकट पत्रकारको संस्था नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले रेशम चौधरीलगायतको आममाफी, नागरिकता विधेयक र सांसद विकास कोषजस्ता अलोकप्रिय कुरामा कांग्रेस सभापतिकै सहयोग र समर्थन हुनु दु:खद भएको समेत बताए।

उनले यी सबै विषयमा पार्टीमा छलफल नभएको र सभापति शेरबहादुर देउवा एक्लैले गरेको आरोपसमेत लगाए। ‘यो सभापति एक्लैको निर्णय हो, कांग्रेसको निर्णय होइन’ महामन्त्री थापाले भने–,‘अब त्यस्ता निर्णय सहेर बस्ने होइन। यस्ता निर्णयले भोट पाए पनि कांग्रेसले जनताको विश्वास गुमाएको छ।’

उनले कांग्रेसलाई बदल्ने संकल्प लिएर अघि बढ्न सबैलाई आग्रहसमेत गरे।‘कांग्रेसलाई नबदल्ने हो भने गुमेको विश्वास फर्किँदैन’, थापाको भनाइ थियो–‘कांग्रेस बदल्न नेता कार्यकर्ता सबै बदलिनुपर्छ।’

उनले पार्टी सभापतिले गरेका पार्टी हित विपरीतका निर्णय अब आफूले सहेर नबस्ने धम्कीसमेत दिए। ‘कांग्रेस संलग्न भएको सरकारले यस्ता गम्भीर निर्णय गर्दा पनि पार्टी नबोल्ने ?’ उनले प्रश्न गरे–‘आममाफी, नागरिकता विधेयक र सांसद विकास कोषजस्ता कैयौं विषयका सन्दर्भमा पार्टी सभापति एक्लैले यो निर्णयमा ‘ओके’ गरेको हो। मैले त पछि थाहा पाएको हो । यो परिपाटी एक डेढ वर्षदेखि चल्दै आएको छ । आजको दिनसम्म चल्यो । मैले सहँदै आएँ अब सहन्न।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved