कलंकीमाई मन्दिरको रजत जयन्ती

नेपालभ्युज

कलंकीमाई मन्दिरको रजत जयन्ती

काठमाडौं । कलंकीमाई मन्दिरको रजत जयन्तीका अवसरमा आठ महिनासम्म विभिन्न कार्यक्रम सञ्चालन गरी मनाइने भएको छ । कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाद्वारा बिहिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा गत वर्ष फागुन २५ देखि यही कात्तिक २५ गतेसम्म पदयात्रा, सरसफाइ, रक्तदानलगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको हो ।

संस्थाका अध्यक्ष वीरबहादुर थापाले कलंकी चोक जसरी प्रख्यात छ सोही अनुरुपले यहाँको कालिमाता मन्दिरको महिमा पनि सबैले बुझ्न जरुरी रहेकाले मन्दिरको प्रचारप्रसारका लागि विविध कार्यक्रम गरिने बताए ।

कामपा–१४ का वडाध्यक्ष सुमन श्रेष्ठले हिजोका पुस्ताले जोगाएका धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षणका लागि आउने पुस्ताले निरन्तरता दिनुपर्ने बताए । धार्मिक सम्पदाको संरक्षण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो ।

दुई हजार पाँच सय सदस्य समिति गठन गरी गत समितिले फागुन २५ गते कलंकीमाई मन्दिरमा विशेष पूजाआराधाना गरी महोत्सव शुभारम्भ गरेको थियो । संस्थाले यसअघि सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम, नववर्षको शुभकामना आदानप्रदान, क्यालेन्डर वितरण, कङ्लकीदेखि कालुपाण्डे समाधिस्थलसम्म पदयात्रा कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ ।

संस्थाले आउँदो शनिबार रक्तदान कार्यक्रम, यही असार ३० गते धार्मिक प्रवचन, साउन २७ गते बूढानीलकण्ठ, गुहेश्वरी मन्दिर भ्रमण, भदौ २३ गते विद्यालयस्तरीय दौड प्रतियोगिता, घटस्थापनादेखि नवमीसम्म विभिन्न धार्मिक कार्यक्रम र कात्तिक २५ गते स्मारिका प्रकाशन, ज्येष्ठ सदस्य, विद्यार्थी, गरिब नागरिकको सम्मान र भोजनको आयोजना गर्ने संस्थाका अध्यक्ष थापाले जानकारी दिए। रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved