घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव सुरु

नेपालभ्युज

घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव सुरु

काठमाडौं। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११ स्थित पर्यटकीय क्षेत्र ‘घान्द्रुक’मा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु भएको छ। माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरसँगै पुनहिल भ्रमण जाने पर्यटकका लागि पनि घान्द्रुक विश्रामस्थल हो। यहाँबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य देख्न सकिन्छ। अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समिति र घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा महोत्सव सुरु भएको हो ।

सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्दै आएको छ ।

दुई वर्ष कोरोना भाइरसका कारण रोकिएको म्याराथन तेस्रो संस्करणको म्याराथन महोत्सवको अन्तिम दिन जेठ २० गते सञ्चालन हुने आयोजकले जनाएको छ । म्याराथन प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाउनेछन् । यस्तै, महिलातर्फ प्रथम हुने धावकले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । म्याराथनमा सहभागी हुन पुरुषतर्फ ७ र महिलातर्फ ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ।

म्याराथन जेठ २० गते अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, किम्रोबखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न हुनेछ । महोत्सव अवधिभर पर्यटकहरुलाई घान्द्रुकमा २० प्रतिशत छुट दिएको छ भने भलिबल र बास्केटबलतर्फ ८ सय रुपैयाँको प्याकेजमा खाने बस्ने व्यवस्था गरेको आयोजकले जनाएको छ ।

पर्यटकीय घान्द्रुक गाउँका स्थानीयले केन्द्रीय प्रसारण लाइन नहुँदा वर्षाको समयमा विद्युतको समस्या झेल्दै आएको कुरा सो कार्यक्रममा उठाइयो। यसको समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले घान्द्रुकमा लाइन विस्तारका लागि १७ करोड रुपैयाँमा टेण्डर आह्वान गरेको र चाँडै केन्द्रीय प्रसारण लाइनसँग जोडिने गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले बताए।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको बताए । महोत्सवको उद्घाटन समारोहमा घान्द्रुकमा विगत १३ वर्षदेखि फोहोर व्यवस्थापमा सहयोग पुर्‍याउँदै आएका रामबहादुर परियारलाई सम्मान गरियो। महोत्सव जेठ २० गतेसम्म सञ्चालन हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved