प्रचण्डकै पछि-पछि किन भारत पुगे रवि लामिछाने ?

प्रचण्ड दिल्लीमा रवि लामिछाने मुम्बईमा

प्रचण्डकै पछि-पछि किन भारत पुगे रवि लामिछाने ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा निस्केको केही घण्टामै पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् सांसद रवि लामिछाने पनि आकस्मिकरूपमा भारत पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजेको नेपाल एयरलाइन्सको जहाजबाट दिल्ली पुगेका हुन् । उनी ४ दिनको भ्रमण सकेर २० जेठमा स्वदेश फर्किने कार्यक्रम छ । स्रोतका अनुसार रवि पनि दिउँसोको उडानबाट मुम्बई पुगेका छन् । उनी मुम्बई गएको कुरा रास्वपा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले पनि परपुष्टि गरे । उनले भनेका छन्, “उहाँ जाने कुरा पहिले नै तय भएको हो । प्रधानमन्त्री दिल्ली जाने कुरासँग कुनै सम्बन्ध नै छैन ।”

सङ्गठनको कामले पर्वत हुँदै गोरखा पुगेका बुर्लाकोटीले नेपालभ्यूजसँग थप भने, “यसमा राजनीतिक विषय केही पनि छैन । मुम्बईमा रहेका नेपाली साथीहरू र हाम्रा शुभेच्छुकहरूसँग भेट हुनसक्छ, अरु पूर्वनिर्धारित कार्यक्रम केही छैन ।”

त्यसो त रविले भारत गएको कुरा पार्टीका नेताहरूको साझा मेसेन्जर ग्रुपमा पनि शेयर गरेका छन् । उनको भारत बसाइ कम्तीमा ६ दिन हुनेछ । बताइएअनुसार यसबीचमा उनले भारतको मुम्बई र दक्षिण भारतका प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र घुम्नेछन् ।

रविसँगै उनकी पत्नी निकिता पौडेल पनि भारत भ्रमणमा रहेको स्रोतले पुष्टि गरेको छ । “यो उहाँहरू श्रीमान्-श्रीमतीको मात्रै निजी धार्मिक भ्रमण हो,” रास्वपाका एक नेता भन्छन्, “पार्टीमा मलाई भारत जानुछ २/४ दिन छुट्टी दिनुस् भनेरै कुरा राखेर जानुभएको हो ।”

रविले भारत जाने कुरा पार्टी नेता/कार्यकर्तालाई नभनेपनि योजना पहिले नै बनाएको बुझिएको छ । जसको पुष्टि उनले पार्टी संसदीय जिम्मेवारीसमेत काठमाडौं ८ बाट निर्वाचित सांसद विराजभक्त श्रेष्ठलाई दिएर गएका छन् । यसैगरी देशव्यापी सङ्गठन विस्तारको काम भइरहेको र धेरै ठाउँमा सभापति रविको उपस्थिति खोज्ने हुँदा त्यसलाई समेत व्यवस्थापन गरेर गएको देखिन्छ ।

यद्यपि यसबारेमा रास्वपाले कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन । ‘सङ्गठनको कामबाट पनि केही समय मलाई पारिवारिक भ्रमण गर्न दिनुस् भन्नुभएको थियो,’ सङ्गठन विभाग प्रमुखसमेत रहेका सहमहामन्त्री बुर्लाकोटी भन्छन्, ‘प्रधानमन्त्री गएकै दिन भारत किन ? भन्ने प्रश्न उठाउनु नै बेकार छ । प्रधानमन्त्री औपचारिक भ्रमणमा दिल्ली जानुभएको हो, हाम्रो सभापतिज्यू पारिवारिक भ्रमणमा मुम्बई जानुभयो । यो भ्रमणमा पार्टीका साथीहरू पनि हुनुहुन्न र कुनै राजनीतिक भेटघाटको कुरा पनि छैन ।’

तर, रास्वपा सभापति रविले जेठको पहिलो साता भारतका कट्टर हिन्दूवादी नेतालाई काठमाडौंमा भेटेका थिए । विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्ष एवम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पारिवारिक सदस्य (भाइ) प्रह्लाद दामोदर मोदीसँग रविले काठमाडौंमा भेट गरेको कुरा समेत गोप्य राखिएको थियो ।

त्यतिबेला रविले मोदीलाई भेट गरेको कुरा पछि मात्रै सार्बजनिक भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ पाँच दिनसम्म नेपालमा बसेर गोप्य भेटघाट गरेका थिए । उनले रविबाहेक अन्य दलका नेता समेत भेटेर फर्केका थिए ।

अमेरिकी राहदानी लिएर नातेदार भिषामा नेपाल आएपछि पुरानै नेपाली नागरिकताबाट दल दर्ता र सांसद तथा गृहमन्त्री भएको भन्दै माघ १३ मा सर्वोच्च अदालतको फैसलाले उनको सबै पद खारेज गरेको थियो ।

२०७९ पुस ११ गते प्रचण्ड नेतृत्वकै सरकारमा उपप्रधान तथा गृहमन्त्री भएका रवि नागरिकता विवादमा अदालतको फैसला आएपछि माघ १३ गते सबै पद गुमाएका थिए । तर, माघ १५ मा नागरिकता पुन: प्राप्ति गरेपछि उनी गत वैशाख १० को उपनिर्वाचन जितेर फेरि संससद्‌मा ‘कम्ब्याक’ भएका छन् ।

रविको निर्वाचन क्षेत्र र प्रधानमन्त्री प्रचण्डको गृहजिल्ला एउटै भएको कारण मात्रै होइन, उपनिर्वाचन जित्नुअघि र जितेपछि प्रचण्डसँग रविको भेटघाट बाक्लो छ । उनीहरूको पटक-पटकको भेटघाट रहस्यमय र गोप्य हुने गरेको कारण पनि अहिले प्रधानमन्त्री भारत भ्रमणमा निस्केकै दिन रवि भारत पुग्नुलाई संयोग मात्रै मानेका छैनन् ।


Comment

One thought on “प्रचण्डकै पछि-पछि किन भारत पुगे रवि लामिछाने ?

  1. के पछि पछि पुगे होर ? आफैँले भित्र प्रचण्ड र रविको भ्रमण कुनै सम्बन्ध नभएको पुष्टि गरिबक्सनुभएको छ, फेरि टाइटलमा पछि पछि पुगे रे ? खतरै शेयर होला भन्ठानेर टाइटललाई नसुहाउने गरि बटार्नुभएको छ। तपाइँको यो भ्यूज १ लाख कटोस ! शुभकामना छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved