प्रधानमन्त्रीको भारत भ्रमण

नेपाली श्रमिकका चर्का समस्या, तर कहिल्लै बनेन एजेण्डा

कामको खोजीमा भारत छिरेका नेपालीका समस्या राज्यको सानो पहलले नै समाधान हुने सम्भावना छ । धेरै र ठुलाठुला एजेन्डाका साथ प्रधानमन्त्रीले भारत भ्रमण गरेको पहिलो पटक भने होइन। हरेक पटक भइरहन्छ। तर, २५ लाख भन्दा बढी नेपालीका यस्ता समस्या भने भ्रमणको एजेन्डा कहिल्लै बनेका छैनन्। 

नेपाली श्रमिकका चर्का समस्या, तर कहिल्लै बनेन एजेण्डा

नयाँ दिल्ली। भारतको नयाँ दिल्ली बस्ने अछामका पुरन साउदको कहानी सुरु गरौँ, २४ वर्षअघि भारत पसेको सन्दर्भबाट। ४४ वर्षीय उनी भारतमा काम गर्न आउँदा २० वर्षका थिए। कलिलै उमेरदेखि काम गर्न भारत आएका थालेका उनी उमेर ढल्किँदै जाँदा पनि भारतमै पौरख गरिरहेका छन्।

जीवनको ऊर्जाशील उमेर भारतमा बिताएका उनका दुई दशकमा धेरै तिता मिठा अनुभव छन्। नयाँदिल्लीस्थित एक होटेलमा भाडा माझ्ने, कपडा धुने, शौचालय सफा गर्नेदेखि इँटा बोक्ने काम गर्ने गर्दै आएका छन्। हरेक वर्षको दशैँमा उनी नेपाल घर जान्छन्। उनका छोरा समेत भारतमै काम थालेका छन्। अझ, पुरनको बुवा पनि पहिला भारतमै काम गर्थे। अहिले बितिसके।

१० वर्ष भन्दा बढी काम गरेका उनी थलिएर नेपाल फर्किएका थिए। तीन पुस्तादेखि कामको खोजीमा भारत आएर पसिना बगाउँदै आएका पुरनको परिवारको कथा–व्यथा जति कहालीलाग्दो छ, उनले पाइरहेका हन्डर त्योभन्दा कम छैन।

उनको तीन पुस्ताले भारतमा श्रम गरेको रहरले होइन। अनेक दुख झेल्दै भारत प्रवेश गरेका उनको परिवार काम गर्ने स्थानमा पुग्दासम्म दर्जनौँ ठाउँमा ठगियो। पैसा कमाएर घर फर्किदा लुटियो।

‘‘सुरुमा मलाई यहाँ ल्याइदिने दलालबाट ठगिए। काम गर्ने ठाउँमा पुग्दासम्म पुग्दा दर्जनौँ ठाउँमा ठगिएँ र लुटिएँ,’’ उनले आफ्नो प्रवास कहानी सुरु गरे। काममा लागेपछि रोजगारदाताको शोषण र उत्पीडन सहिरहेको उनले आँसु झार्दै सुनाए। ‘‘साह्रै थोरै तलबमा धेरै काम गर्नुपर्छ। तोकिएको तलब पनि समयमा पाइँदैन। धेरै ठाउँमा तलब माया मारेर हिँड्नुपर्याे’’, उनले भने।

आफूले सुरक्षाकर्मीबाटै उत्पीडनका अनेक शृङ्खलाहरू पार गर्नुपरेको अनुभव सुनाउँदै भने, वर्ष भरी कमाएको २०–२५ हजार कमाएर घर लैजाँदा पनि बाटैमा लुटिए। बाटोमा भारतीय पुलिसलाई घुस दिनुपर्छ। नत्र लुटिदिन्छन्।

जीवनभर कमाएको पैसा बैंकमा राख्न नपाउँदा घर लैजाँदा लुटिनुपरेको उनी सुनाउँछन्। किनकि भारतमा रहेका नेपालीले बैंक खाता खोल्न पाएका छैनन्। पुरनका छोरा अर्जुनको दुख पनि कम्ती छैन। बाबुसँग पछि लागेर मजदुरी गर्न आएका अर्जुन दिल्लीमै काम गर्छन्।

भारतमा सुरुमा आउँदाका कठिन दिनहरू उनी सम्झिन्छन्, ‘‘हजुर बुवाले आफ्नो पूरै जीवन भारतमा बिताउनुभयो। बुवाले पनि बिताए। अब मैले पनि कर्मभूमि बनाउन सुरु गरेँ। हाम्रो र हामीजस्ता धेरै नेपालीले पसिना बगाएको यो ठाउँमा सुरुमा मोबाइलको सीमकार्ड लिन समेत पाइएन। धेरै समयपछि आधार कार्ड दियो। त्यसपछि मात्र सीमकार्ड पाएँ।’’

जीवनको उर्वर समय भारतमा विताउँदै आएका नेपालीले भारतमा श्रम गर्छन्, उत्तिकै सास्तीपनि । विभिन्न खालका शोषण र उत्पीडनको सिकार हुँदै आएका छन्। भारत आउने नेपालीका दुख घरबाट निस्कनासाथै सुरु हुन्छन् ।

सुरुमा त उनीहरूले यहाँ ल्याइदिने दलालबाट ठगिएका हुन्छन् । अनेक दुख झेल्दै भारत प्रवेश गर्छन् । त्यसपछि आफू काम गर्ने स्थानमा पुग्दासम्म पुग्दा दर्जनौँ ठाउँमा ठगिने र लुटिने क्रम हुन्छ ।

कमजोर आर्थिक अवस्थाका कारण ७ कक्षाको पढाइ छोडेर १४ वर्षको उमेरदेखि मजदुरी गर्न थालेका स्याडजाका रामचन्द्र श्रेष्ठको पीडा पनि कम छैन। दिल्लीको अशोका रोडमा रहेको एक होटेलमा काम गर्दै आएका उनीसँग दोस्रो दर्जाको नागरिकको व्यवहार पाइरहेको दुखद अनुभव छ।

‘‘आफ्नो देशको माया लाग्छ तर के गर्नु यहाँ काम पाइँदैन। त्यसैले भारतमा बसेर काम गरिरहेको छु। तर यहाँ भारतीयलाई र हामी नेपालीलाई फरक फरक व्यवहार गरिन्छ’’ उनको गुनासो छ, ‘‘एकदिन बाटो काट्दै जाँदा मलाई मोटर साइकलले हान्यो। दुर्घटना हुँदा कुनै सहायता पाइएन। उल्टो झुटो मुद्दा लगाएर फसाइयो।’’

डडेलधुराका किरण मडै पनि भरतमा पसिना बगाउँदा बगाउँदा दिक्क छन्। भारतमा आफूले पाएको हन्डर र ठक्करका कारण ‘फेरि भारत नफर्कने’ बाचासहित गत दशैंमा घर गए। कतै केही गर्दा पनि काम पाएनन्। कामका लागि कैलालीदेखि काठमाडौंसम्म धाए। तर, बेरोजगार बस्दा घर धान्न मुस्किल परेपछि फेरि दिल्ली नै फर्किए।

‘‘यहाँ काम गर्न त आएँ, तर कमाएको पैसा घर पुर्‍याउन नसकिएला भन्ने सधैँको चिन्ता हुन्छ। बाटोमा लुटिन्छ। बैंकमा राख्न खाता खोल्न समस्या छ। नेपालका नेताहरू भारतमा आउँदा ठुला एजेन्डामा सहमति गर्छन्। हाम्रो समस्या कसैले देखेनन्’’ मंगलबार १२ खम्बारोडस्थित नेपाली दूतावास अगाडी भेटिएका उनले भने।

न कामअनुसारको ज्याला, न सुरक्षा

भारतमा नेपाली श्रमिक न्यूनतम ज्यालाबाट वञ्चित छन्। त्यहीमाथि भारतमा कार्यरत नेपाली श्रमिकमध्ये अधिकांश अदक्ष छन्। नेपालीलाई करार पत्र दिइँदैन। जसका कारण कार्यस्थलमा हुने दुर्घटना, बिरामी, घाइते र अशक्त हुँदा कुनै पनि खालको सहयोग पाउँदैनन्। कुनै घटना भएमा निर्दोष नेपालीहरूलाई झुटो मुद्दा लगाइने क्रम बढ्दो छ।

भारतमा रोजगारीमा रहेका नेपाली श्रमिकलाई पहिचानकै समस्या छ । भारतमा नेपाली श्रमिकको पासपोर्ट र नागरिकतालाई मानिँदैन । भारतीय आधार कार्ड नभएसम्म श्रमिकले कुनै पनि औपचारिक काम गर्न पाउँदैनन्। जसले नेपाली श्रमिकलाई पहिचानको अभाव हुँदै आएको छ । नेपाली नागरिकता र पासपोर्ट मान्य नहुने भएपछि नेपाली श्रमिकले भारतमा बैंक खातासमेत खोल्न पाउँदैनन्।

नेपालीले आफ्ना परिवारसँग सम्पर्क गर्नसमेत कठिन छ। भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट १८ देखि २० रुपैयाँ लाग्छ । फोन गर्न महँगो हुँदा श्रमिकले चाहेको बखतमा घर–परिवारलाई सम्पर्कसमेत गर्न पाउँदैनन्।

आफ्नो घरमा पैसा पठाउन समस्या परेको श्रमिकहरू बताउँछन्। सजिलै आधार कार्ड पाउँदैनन्। जसका कारण नेपाली श्रमिकले आफ्नो घर–परिवारलाई भनेको समयमा पैसा पठाउन सक्दैनन्। यता नेपालीले मोबाइलको सिम कार्ड समेत पाउन मुस्किल छ।

दिल्लीस्थित नेपाली दूतावास

प्रधानमन्त्रीको भ्रमणमा उठलान श्रमिकका समस्या ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दिल्ली आउँदैछन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा नेपाल आउन लागेका उनको भ्रमणको क्रममा हवाई रुट अनुमति, विद्युत् व्यापार र सीमा समस्या समाधानलगायतका दर्जन बढी एजेन्डामा छलफल हुने चर्चा छ।

व्यापार, पारवहन, लगानी प्रवर्द्धन, ऊर्जा क्षेत्रमा व्यापार तथा अन्तर्देशीय विद्युत् प्रसारण लाइन, सिँचाइ बाढी तथा डुबान नियन्त्रण, कृषि, हवाई प्रवेश मार्ग, सम्पर्क सञ्जाल निर्माण, पक्की पुल निर्माण तथा एकीकृत जाँच चौकी, आन्तरिक कन्टेनर डिपो पूर्वाधार निर्माणलगायतको विषयमा छलफल हुने परराष्ट्र अधिकारी बताउँछन्।

कामको खोजीमा भारत छिरेका नेपालीका समस्या राज्यको सानो पहलले नै समाधान हुने सम्भावना छ । धेरै र ठुलाठुला एजेन्डाका साथ प्रधानमन्त्रीले भारत भ्रमण गरेको पहिलो पटक भने होइन। हरेक पटक भइरहन्छ। तर, २५ लाख भन्दा बढी नेपालीका यस्ता समस्या भने भ्रमणको एजेन्डा कहिलै बनेका छैनन्।

सरकारले वैदेशिक रोजगारमा जाने कामदारका बारे छलफल, नीति, नियम बनाए पनि भारतमा कार्यरत कामदारका बारेमा छलफल नचलाउँदा समस्या बढ्दै आएको छ।

आरबी खड्का, अध्यक्ष, अखिल भारत नेपाली एकता मञ्च

नेपालीको मुख्य गन्तव्य भारत भए पनि नेपाल सरकारले भारतसँग समन्वय नगरिदिँदा यहाँ कार्यरत नेपाली कामदार कष्टकर जीवन बिताउन बाध्य भएको अखिल भारत नेपाली एकता मञ्चमा अध्यक्ष आरबी खड्का बताउँछन्। कामका लागि भारत आएका नेपालीहरू बिस पच्चिस लाख रहे पनि उनीहरूको समस्या समाधान गर्न नेपाल सरकारले पहल नगरेको उनले गुनासो गरे।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्व सन्ध्यामा दिल्लीको अशोका रोडमा भेटिएका उनले भने,‘‘हरेक पटक प्रधानमन्त्री फेरिएपछि पहिलो पटक भारतकै भ्रमणमा आउँछन्। ठूलाठूला योजना ल्याउँछन्। सम्झौता गर्छन्। तर, साना काममा ध्यान दिँदैनन्। जसले गर्दा हामी ठूलोठूलो दुख भोग्न विवश छौँ।’’

नेपाल समाजवादी पार्टी(नेसपा)का नेता लोकेन्द्र श्रीपाइली भारतको रोजगारीका विषयमा सरकारले हालसम्म न कुनै नीति–नियम नबनाएको गुनासो गर्छन्। उनी भन्छन्, ‘‘न त कुनै नीति छ। न कुनै श्रम सम्झौता नै गरेको छ । त्यसो हुँदा अनौपचारिक क्षेत्रमा काम गर्नेहरू चरम शोषण सहेर अत्यन्तै न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन्।

यो भ्रमणमा यी मुद्दा उठाउनुपर्ने खड्का र श्रीपाइली बताउँछन् । नेता श्रीपाइलीले भारतमा रहेका नेपालीका समस्या समाधानका लागि आफूहरुले प्रधानमन्त्रीलाई १४ बुँदे ज्ञापन पात्र बुझाउने तयारी गरेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved