हातमा फिल्म छैन, सञ्जालमा कलाभन्दा बढी चर्तिकला !

साम्राज्ञी मात्रै होइन नेपाली चलचित्र अभिनयमा राम्रो संभावना भएका र फिल्मको ज्ञान भएका धेरै नायिकाको हातमा अहिले चलचित्र छैन। तर,कसैले सोधिहाल्यो भने चलचित्रमै ‘बिजी छु’ चाहिँ भनिरहेका हुन्छन्।

नेपालभ्युज

हातमा फिल्म छैन, सञ्जालमा कलाभन्दा बढी चर्तिकला !

काठमाडौं। नेपाली चलचित्रकी नायिका शुष्मा कार्कीले एउटा अन्तर्वार्तामा ‘म एउटा स्टेज प्रोग्राममा फाइभ मिनेट्स डान्स गरेको थ्री लाख चार्ज गर्छु’ भनेर बोलेकै दिनदेखि उनका चलचित्र फिल्म हलमा देखिएका छैनन्।

तर, शुष्मा यो कुरा मान्न तयार छैनन्। उनी आफू चलचित्रकै काममा व्यस्त भएर कतिपय सार्वजनिक कार्यक्रममा जान नभ्याएको समेत भन्छिन्। पछिल्लो समय ‘साली कसको भेनाको’ भन्ने फिल्ममा २६ वर्षको उमेरमा १६ पटक पोइल गैसकेँ भन्ने चरित्रमा अभिनय गरेको बाहेक त्यसपछि उनको अभिनय दर्शकले हेर्न पाएका छैनन्। सुष्माले भने आफू व्यस्त नै भएको बताउन छाडेकी छैनन्।

चलचित्र ‘एटिएम’ अभिनय गरेपछी चर्चामा आएकी नायिका हुन् जिया केसी । उनी अहिले चलचित्रका पर्दामा गुमनाम छिन्। तर, चलचित्र हलमा भने कहिलेकाहीँ दर्शकको रूपमा भेटिन्छिन्।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसँग भने उनलाई देश तथा विदेशका कार्यक्रममा सँगै देख्न सकिन्छ । उनीहरूबीचको ‘रिलेसन’ बारे कसैले सोधीखोजी गरेको छैन। यद्यपि, उनीहरू ‘लिभिङ टुगेदर’मा छन् भन्ने बजार हल्लाबारे पनि प्रतिक्रिया दिँदैनन्।

चलचित्र विकास बोर्डका अध्यक्ष केसीसँगको लफडापछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि पर्दामा कमै देखिन्छिन्। चलचित्रको पर्दामा नदेखिए पनि उनी आमासँग टिकटकमा भने देखिन्छिन्। उनका फ्यानहरू टिकटकमै उनको भिडिओ हेरेर रमाइरहेको देखिन्छन्। उनकी आमाले टिकटक लाइभ चलाइरहँदा साम्राज्ञीले भान्सामा मिठो परिकार बनाइरहेको देख्न सकिन्छ।


साम्राज्ञी मात्रै होइन नेपाली चलचित्र अभिनयमा राम्रो संभावना भएका र फिल्मको ज्ञान भएका धेरै नायिकाको हातमा अहिले चलचित्र छैन। शुष्मा र जिया जस्ता थुप्रै नायिकाहरू त अब सायद चलचित्रको पर्दामा देखिँदैनन् । तर,कसैले सोधिहाल्यो भने चलचित्रमै ‘बिजी छु’ चाहिँ भनिरहेका हुन्छन्। शुस्मा कार्की, जिया केसी, सोनीया शर्मा, शिल्पा पोखरेल, नम्रता श्रेष्ठ मात्रै होइन पछिल्लो पुस्ताका नायिकाहरुले पनि चलचित्र पाएको देखिँदैन।

नेपाली चलचित्रमा अभिनय गर्दागर्दै विदेश पुगेका नायिकाहरू त अब चलचित्र अभिनयमा फर्कने सम्भावना धेरै कम छ। पूजा चन्द, जल शाह, कृष्टि मैनाली, अनुपमा प्रसाईं, रमा बुढाथोकी,शारङ्गा श्रेष्ठ र अरुणिमा लम्सालले पुनः नेपाली चलचित्रमा फर्केर अभिनयको जादू देखाउने अवस्था छैन।

अर्कोतिर, नेपालमै रहेर पनि छोरा छोरी हुर्काउँदै गरेका सञ्चिता लुइँटेल, प्रियंका कार्की, ऋचा शर्मा, निशा अधिकारीको पुनः ‘कम्ब्याक’ हुने चाहना भए पनि अबको दर्शकको रोजाइमा नपर्न सक्छन्। केकी अधिकारी,आँचल शर्मा, मिरुना मगर, जसिता गुरुङ, स्वस्तिमा खड्का, उपासना सिंह ठकुरीजस्ता नायिकाले यतिबेलाको चलचित्र बजारमा चर्चा पाइरहेका छन्।

हातमा चलचित्र नभएपछि धेरै नायिकाहरुको रोजाइ इन्स्टाग्राम, फेसबुक, ट्विटर र ‘टिकटक’ भएको छ। सुस्मा कार्कीले लाइभमा बसेर कहिलेकाँही झगडासमेत गर्छिन्। पूजा शर्मासँग लफडा परेपछि उनले अरु कलाकारसँग पनि सम्बन्ध राम्रो राख्न सकिनन्। उनले पछिल्लो समय शिलु पोखरेल भन्ने पात्रसँग टिकटकमै ‘अपशब्द’ समेत बोलेर झगडा गरिन्।


कहिले नेपाली कलाकारसँगको दुश्मनी र कहिले भारतीय नायक सलमान खानसँगको निकटताको विषयमा ‘गसिप’ बन्ने गरेकी शुस्माले टिकटकमा पनि कलाभन्दा बढी ‘चर्तिकला’ देखाइरहेको देखिन्छ।

उनी मात्रै होइन चलचित्र हातमा नपरेपछि सामाजिक सञ्जालमा आएर कलाको सट्टा ‘चर्तिकला’ देखाउने नायिका, मोडल र टेलिफिल्ममा अभिनय गर्ने कलाकारहरूबारे धेरै आलोचना र चर्चा हुने गरेको छ। कलाकार राष्ट्रका ‘गहना’ भनिरहेको सन्दर्भमा कलाभन्दा बढीको चर्तिकला उनीहरूकै लागि हितकर नहोला।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved