रञ्जिताबाहेक को हो रेशमलाई ‘बधाई बूढा’ भन्ने !

राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर रिहा भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षकसमेत रहेका पूर्वसांसद रेशम चौधरीलाई बधाई आयो— बधाई बूढा । रेशमलाई बूढा भन्ने को हुन् त उनी ?

नेपालभ्युज

रञ्जिताबाहेक को हो रेशमलाई ‘बधाई बूढा’ भन्ने !

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर सोमबार (आजै) रिहा भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षकसमेत रहेका पूर्वसांसद रेशम चौधरीलाई बधाई आयो— बधाई बूढा ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी (जो रेशमकी धर्मपत्नी हुन्) रेशम रिहा हुँदा कारागार परिसरमै थिइन् । तर, सामाजिक सञ्जालमा ‘बधाई बूढा’ भन्ने उनी थिइनन् ।

बधाईमा पोस्ट् गरिएको तस्वीरमा रेशमसँगै एक युवती र बच्चासमेत देखिन्छ । यसरी हेर्दा चौधरीका दुई पत्नी भएको बुझिन्छ । स्रोतकाअनुसार बधाई बूढा भनेर फेसबूकमा तस्वीर साझा गर्ने रेशमकी कान्छी पत्नी आशा चौधरी हुन् ।

स्रोतकाअनुसार धनगढी उपमहानगरपालिका ६ स्थित जालीमा माइत रहेकी उनीसँग रेशमले टीकापुर घटना हुनुभन्दा केही समय अगाडि नै बिहे गरेका थिए । उनी अहिले बर्दियामा एउटा रेडियो सञ्चालन गरेर बसेको खुलेको छ । उनीसँगै तस्वीरमा देखिएकी बच्ची रेशम र आशाकै छोरी भएको स्रोत बताउँछ ।

फेसबूकमार्फत आशाले रेशमलाई बधाई तथा स्वागत गरेपछि पनि यसले खासै महत्त्व पाएको भने देखिँदैन । कारागारबाट छुटेपछि मन्त्री क्वार्टर पुगेका रेशम माइतीघर मण्डला हुँदै विमानस्थल भएर नेपालगञ्ज पुगे । श्री एयरलाईन्सको नियमित उडानमार्फत नेपालगञ्ज पुगेका रेशम त्यहाँबाट राजापुर हुँदै टीकापुर पुगेर आमासँग आशीर्वाद लिइसकेका छन् ।

तर, रेशमसँग आफ्नी छोरीसहितको फोटो राख्ने आशाले भने रेशमलाई भेट्न पाएकी छैनन् । रेशमपत्नी रञ्जिता भने काठमाडौंको क्षेत्रपाटीमा जन्मिएकी हुन् । रेशमसँग काठमाडौंमै चिनजान भएपछि अन्तरजातीय विवाह गरेका उनीहरूको एक छोरा छन् ।

आशा चौधरी नामक फेसबूकबाट सार्वजनिक तस्वीर र बधाईबारे बुझ्न खोज्दा रञ्जिता बोल्न चाहिनन् । नेपालभ्यूजसँग उनले भनेकी छन्, “मलाई थाहा छैन । उहाँलाई नै सोध्नुस् ।” उनले थाहा नभएको भन्दै आफूलाई टक्टक्याइन् । “म एउटा नम्बर पठाइदिन्छु, त्यही नम्बरमा फोन गरेर बुझ्नुस्,” यत्ति भनेपछि रञ्जिताले एउटा नम्बर पठाइन् ।

त्यसपछि त्यस नम्बरमा फोन हुँदा रेशमसँग कुराकानी गर्न सकियो । पुन: उनीसँग पनि कुरा बुझ्न खोज्दा उनको प्रतिक्रिया थियो, “त्यो विषय बाहिर ल्याइराख्नुपर्ने विषय होइन ।”

बताइदिनुस् न भनेर दोहोर्‍याउँदा उनले भनेका छन्, ‘यस्ता विषयहरू बाहिर ल्याएर केही फाइदै छैन ।’ यत्ति भनेपछि फोन काटे ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा रेशमलाई सर्वोच्च अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । सत्ता साझेदार दल भएकाले नाउपाकै आग्रहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई आममाफीको लागि राष्ट्रपतिसमक्ष पहल गरेका थिए ।

त्यसै घटनामा संलग्न भएका र दोषी ठहरिएका ५ जना अहिले पनि कारागारमै छन् भने केही फरार छन् । टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने र एक नाबालकसहित ८ जनाको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस:

रेशम चौधरी-राजनीतिलाई आफू वरिपरि घुमाउने शक्ति, तर राजकीय पदमा जान समस्या

रेशम चौधरीलाई बर्दियामा भव्य स्वागत : ८४ सालमा सत्तामा पुग्ने दाबी (तस्वीरहरु)

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved