एमाले नेता पार्वत गुरुङले सर्वसाधारण कुटे

नेपालभ्युज

एमाले नेता पार्वत गुरुङले सर्वसाधारण कुटे

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री पार्वत गुरुङले काभ्रेमा सर्वसाधारणलाई कुटपिट गरेका छन् ।

दोलखाबाट काठमाडौं आउँदै गरेका गुरुङले आफ्नो गाडीलाई बाटो नछाडिदिएको भन्दै युवालाई झापड हानेका हुन् । गाडीमा इमर्जेन्सी लाइट बालेर दोलखाबाट काठमाडौं आउँदै गरेका गुरुङले काभ्रेमा युवालाई झापड हानेको बुझिएको छ ।

गुरुङ बागमती प्रदेश ०२५ च ५४०२ नम्बरको निजी कारमा दोलखाबाट काठमाडौं आउने क्रममा सुकुटेमा अर्को गाडीलाई अस्वभाविक ओभरटेक गरेका थिए । गुरुङको गाडीले ओभरटेक गर्दा अर्को गाडी झण्डै दुर्घटनामा परेको थियो ।

सुकुटेबाट अलि अघि जाँदा नेता गुरुङको गाडीले कुरेर बसेको र आफ्नो गाडी अघि लागेपछि फेरि पनि अस्वभाविक ओभरटेक गरेको पीडित युवा अमित अधिकारीले बताए ।

जथाभावी गर्दै हिँडेको गुरुङको गाडी खावा प्रहरी चौकी नजिकै रोकिएको थियो । त्यहाँ युवा अमित अधिकारीले खतरनाक ओभरटेक गरेको कुरा उठाउँदा पूर्वमन्त्री गुरुङ आफै गाडीबाट झरेर झापड हानेका थिए । उनले आफ्नो गाडीलाई देखेपछि किन बाटो नछाडेको भन्दै झपारेका पनि थिए ।

चौकी अगाडि हातपात हुँदा पनि प्रहरी रमिते बनेको पीडित युवाको गुनासो छ । उल्टै पीडित युवालाई जिल्ला प्रहरी कार्यालय धुलिखेल लगेर प्रहरीले केरकार गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved