कर्णाली प्रदेशको हिमाली जिल्लामा ‘यार्सागुम्बा’ (यार्चागुम्बु पनि भनिने) टिप्नेहरू लेक चढ्न थालेका छन् । यो यार्चा टिप्ने सिजन हो। स्थानीय सामुदायिक वन समिति वा निकुञ्जभित्रको नियमअनुसार रोयल्टी बुझाएर जेठ १ गतेदेखि स्थानीयहरू यार्साको खोजीमा जंगल पसिसकेका छन्। खाने सामल र रात काट्ने कपडा तथा टेन्ट लिएर परिवारका हिँड्न सक्नेजति घर छाडेर लेकतिर सोझिएका हुन्।
इलाका वन कार्यालयले यार्सा टिप्न अनुमति खुलाएसँगै स्थानीयहरू यार्सा खोज्न निस्केका हुन् । उनीहरूले असार १५ सम्म यार्सा संकलन गर्नेछन् । कर्णालीका मुख्य यार्सा पाइने जिल्ला डोल्पा, मुगु, हुम्ला र जुम्ला हुन् ।
यार्साको खोजीमा निस्केका स्थानीयहरूले जंगलमै रात बिताउने गर्दछन्। यार्सा यो क्षेत्रका स्थानीयको मुख्य आम्दानीको स्रोतसमेत हो। यार्सा टिप्नका लागी सुरुमा सामुदायिक वन र निकुञ्जलाई रोयल्टी बुझाएर मात्रै जंगल जान पाइन्छ। त्यसपछि संकलन गरेको यार्सा ठेकेदारमार्फत बिक्री गर्न सकिन्छ।
ठेकेदारले चाहिँ इलाका वन कार्यालयबाट संकलन आदेश पुर्जी लिनुपर्छ र त्यसलाई कानुनी हिसाबले बिक्री गर्न लैजानसमेत ’छुट पुर्जी’ पनि लिनुपर्छ । संकलन पुर्जी लिँदा प्रति केजी ३१ हजार सरकारी राजस्व पहिल्यै बुझाउनुपर्दछ। ‘ठेकेदारले संकलन इजाजतको लागि प्रतिकेजी ३१ हजारको दरले आफुले संकलन गर्न चाहेको परिणामअनुसार राजस्व बुझाएको भौचर ल्याउनुपर्छ’ इलाका वन कार्यालय डोल्पाका कर्मचारी कमल रावल भन्छन्–,‘भौचर आएपछि इजाजत दिन्छौं र पछि लैजान छुटपुर्जी पनि बनाइदिन्छौं।’
यसरी संकलन गरिएको यार्सा कहाँ र कसरी लैजाने भन्ने पनि खुलाउनुपर्छ। हवाईजहाजमा वा बसमा लैजाने पहिल्यै भन्नुपर्छ । यार्साको तौल र त्यसलाई बाँधेर राखिएको कपडाको तौल कति भन्ने निर्क्योलपछि मात्रै ठेकेदारले छुट पुर्जी पाउँछन्। यसरी लगिएको यार्सा बाटोमा लैजाँदा र बिक्री गर्दा कुनै झमेला नहुनुको साथै चोरी भयो भने पनि प्रहरी गुहार्न सजिलो हुन्छ। यदि, रोयल्टी नबुझाएको र संकलन तथा छुट पुर्जी नहुनेले बिक्री गर्न गाह्रो हुनुको साथै हरायो भने क्षतिपूर्ति पाउने आधार हुँदैन ।
जंगलमा पाइने भए पनि यो ‘किरा’ हो की ‘च्याउ’ भन्ने विषयले पनि चर्चा पाइरहेको हुन्छ। जानकारहरूका अनुसार यार्साको पनि विभिन्न गुणस्तर कायम गरिएको हुन्छ। सिजनमै टिपेको,साइज ठूलो र मोटो भएको यार्सा सबैभन्दा उच्च गुणस्तरको हुनेछ। जसको बजार मूल्य प्रतिकेजी ३५ लाखसम्म पर्दछ। यसमा किलोमा १९०० देखि २२०० वटा यार्सा हुन्छ।
डोल्पाका व्यवसायी एवं लोटस हर्बल एन्ड हेन्डीक्राफ्टका सञ्चालक ङिमा छिरिङ बुढा भन्छन्–,‘सरकारी कर बुझाएर छुटपुर्जी लिनेले सजिलोसँग व्यापार गर्न सक्छ। यसरी कानुनी प्रक्रिया पूरा गरेर बजारमा आएको यार्सा गुणस्तरको हुनुको साथै उपभोक्ताको लागि पनि हितकर हुन्छ।’
त्यसैगरी, किलोमा २५०० भन्दा माथि चढ्यो भने त्यसको साइज सानो हुन्छ। यस्तो यार्साको प्रतिकेजी २५ देखि २८ लाख मूल्य पर्दछ। यदि, उच्च गुणस्तरको यार्सा टिप्ने हो भने यसको सिजन जेठ १ गतेदेखि असार १५ सम्म मात्रै हुन्छ। जेठ १ मा प्रवेश अनुमति खुलेपछि मानिसहरू उकालो चढ्छन् । सामान्यतया घर गाउँदेखि १ दिन हिँडेपछि, क्याम्प गर्ने ठाउँ पुगिन्छ र दोस्रो दिनदेखि यार्सा पाउने ठाउँमा जानुपर्छ ।
यो क्याम्पदेखि १-२ घन्टा टाढा हुन्छ। यार्सा पाउने ठाउँमा क्याम्प बनाउन नसक्ने अवस्थाले यार्सा टिपेपछि बास बस्न भने क्याम्पमै फर्किनुपर्दछ। स्थानीय वन समिति, निकुञ्ज र स्थानीयसँग समन्वय गरेर मात्रै यार्सा टिप्न पाइने हुनाले कहिलेकाही समन्वय नहुँदा सामान्य विवाददेखि झडपसमेत हुने गर्दछ। त्यसमाथि हावापानी र हिमपात र पहिरोको जोखिम पनि उत्तिकै हुनेछ।
यार्सा विशेषत: औषधिजन्य कुरा भएकोले यसले भिटामिनसहित शरीरमा इनर्जी दिने र शरीरमा भएका घातक रोगको समेत प्रतिरोध गर्ने क्षमता राख्दछ ।
‘यार्साको महत्त्व अझै धेरैले बुझेको देखिन्न। धेरैले यौन क्षमता बढाउने मात्रै भनेर प्रचार गर्दछ्न त्यो मात्रै होइन’–लोटस हर्बलका प्रोपाइटर ङिमा छिरिङ भन्छन्–‘यो शक्तिवर्धक कुरा हो, यसले सुगर, प्रेसरजस्ता रोग भएकालाई पनि कुनै साइड इफेक्ट पार्दैन, शरीरमा चाहिने जति इनर्जी दिनसक्ने भनेकै यार्सा हो।’
यसको बिक्री प्रक्रिया पनि स्थानीयका लागि सजिलो छ। आफैंले बजार वा ग्राहक खोजीराख्नु पर्दैन। स्थानीयले टिपेको यार्सा ठेकेदारमार्फत बिक्रि हुन्छ। लाइसेन्स प्राप्त ठेकेदारमार्फत नै यसको कारोबार हुने भएकोले स्थानीयले वन समिति वा निकुञ्जलाई सामान्य रोयल्टी बुझाएर टिप्न गएपछि ल्याएर सिधै ठेकेदार मार्फत बिक्री गर्न सक्छन् ।
टिप्ने विधि :
धेरैलाई यार्साबारे थाहा नै छैन। कसैले यो किरा हो भन्छन् त कसैले च्याउ वा अन्य वनस्पति भनिरहेका हुन्छन् । यार्सा बन्ने मुख्य विधि भनेको शुरुमा जोडी किराले अण्डा पार्छ। अण्डा पार्दासम्म त्यो किरा नै हो। त्यसले कार्तिक मंसिरतिर अण्डा पार्ने रहेछ। त्यसपछि यो घिर्सेर माटोभित्र हिँड्छ र हिंड्दा हिंड्दै त्यसको आयु सकिन्छ।
त्यसपछि त्यो जोडीले माटोमा टाउको बाहिर निकाल्छ र त्यसमा टाउकोमाथि च्याउ निस्कन्छ। जब च्याउ निस्कन्छ त्यो मर्छ। त्यसको शरीरमा रगतको ठाउमा दूधजस्तो पदार्थ हुन्छ। टिप्नेहरूले च्याउको संकेतबाटै टिप्न सक्ने हो।
त्यसलाई बाहिर निकालेर सफा गरेपछि सुकाउने त्यसपछि सुतिको कपडामा ओभानो बनाएर राख्नुपर्छ । शरीरमा रगतको सट्टामा हुने त्यै दुधिलो पदार्थ सुकेर भिटामिन हुने हो।
टिप्न जाने प्रक्रिया :
सुरुमा स्थानीय सामुदायिक वन वा निकुञ्ज मध्य जसको क्षेत्रमा पर्दछ त्यहाँबाट अनुमति लिनुपर्दछ । ईलाका वन कार्यालय वा सरोकारवाला निकायले संकलन गर्ने समय खुलाएपछि स्थानीयले सामुदायिक वन समिति वा निकुञ्जमा सामान्य रोयल्टी तिर्छ। ठाउँ हेरी यसको दस्तुर फरक–फरक हुन्छ। यार्सा टिप्न जानुअघि सबैसँग एक हजारदेखि बढीमा तीन हजार सम्म मात्रै लिइन्छ।
त्यसपछि ठेकेदारले वन कार्यालयमार्फत संकलन आदेश पत्र लिनुपर्छ । यसमा चाहिँ प्रतिकेजी ३१ हजार रुपैयाँ सरकारी राजस्व तोकिएको हुन्छ। यसपछिचाहिँ अरु झन्झट छैन। तर, बिक्रीका लागि लैजाने ठाउँ र प्रयोग गरिने ढुवानीको साधन खुलाएर वन कार्यालयले छुटपुर्जी बनाइदिन्छ।
Facebook Comment
Comment