काठमाडौं। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई रकम ठगी गर्ने प्रकरणसम्बन्धी मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ।
काठमाडौं जिल्ला अदालतमा दायर ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा २५ नम्बरमा न्यायाधीश न्यौपानेको इजलासमा परेको हो। मुद्दामा आजदेखि थुनछेक बहस शुरु हुनेछ।
सरकारी वकिल कार्यालय काठमाडौंले यो प्रकरणमा मुछिएका १६ पक्राउ परेका र अन्य फरार सुचिका सहित ३० जना बिरुद्ध बुधबार मुद्दा दायर गरेको थियो। मुद्दामा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण,उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेक नारायण पाण्डे,भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल,पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा.ईन्द्रजित राई,पूर्व सांसद आङटावा शेर्पा लगायतका ३० जनालाई प्रतिवादी बनाईएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै उनिहरुले विभिन्न ब्यक्तिबाट होटल,रेष्टुरेष्ट,मन्त्रीक्वाटर,मन्त्रालय र सिंहदरबारमा बसेर रकम असुली गरेको अनुसन्धानमा खुलेको छ। उनिहरुले १ सय ४५ जनाभन्दा बढीसँग २८ करोड ८४ लाख ठगी गरेको बुझिएको छ।
उनिहरुमाथिको मुद्दामा आज (शुक्रबार)बाट न्यायाधीशसमक्ष बयान सुरु हुन लागेको हो । बयान र थुनछेक प्रयोजनका लागि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पेसी तोकिएको हो।