काठमाडौं। २०७२ भदौमा भएको टिकापुर हत्याकाण्डका मुख्य दोषी भनिएका रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीलाई सत्ता गठबन्धन भित्रैबाट अवरोध गरिएको छ।
उक्त हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना भएको र मुख्य दोषी रेशम चौधरी नै भएको भन्दै सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले रेशमलाई ‘आममाफी नहोस्’ भन्ने विज्ञप्ति जारी गरेको छ।
सरकारले राष्ट्रपति कार्यालय मार्फत रेशमलाई आममाफी दिने प्रकृया अगाडि बढाएको र उक्त प्रक्रिया रोक्न सरकारसँग राष्ट्रिय जनमोर्चाले माग गरेको छ । सर्वोच्च अदालतले चौधरीलाई तोकेको सर्वस्वसहितको जन्मकैदलाई आममाफी दिन लागेको भन्दै जनमोर्चाले त्यसको कडा प्रतिवाद समेत गरेको छ।
पार्टी अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा यो प्रक्रियालाई आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक सौदाबाजी मात्र भएको ठहर गरिएको छ । विज्ञप्तिमा भनिएको छ,‘टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना थियो । त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिई कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी मात्र हो ।’
केसीले यो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी बारेमा पनि बोलेका छन्। उनले विज्ञप्तिमा भनेका छन्, ‘विगतमा सरकारले रवि लामिछानेको राहदानी प्रकरणमा राजनीतिक सौदाबाजी गरेर मुद्दा नचल्ने निर्णय गरेको थियो । तर त्यो सौदाबाजी सरकारलाई कति महँगो भयो ? प्रष्ट छ । टिकापुर हत्याकाण्डका नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने छ । जसको परिणाम मुलुकमा कानुनको शासन नभएर अराजकता र दण्डहीनता मौलाउने छ । त्यसैले रेशम चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाएको प्रक्रिया रोक्न सरकारसँग माग गर्दछौँ ।