प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीव्र,  के के होलान् सम्झौता ?

कार्यसूचीलाई अन्तिम रूप दिन परराष्ट्र मन्त्रालयमा बिहीबार सार्वजनिक बिदाको दिन पनि गहन गृहकार्यमा कर्मचारी खटिएको मन्त्रालयले जनाएको छ ।

नेपालभ्युज

प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीव्र,  के के होलान् सम्झौता ?
फाइल तश्वीर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको तयारी तीव्र भएको छ। प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि हुन लागेको पहिलो विदेश भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू संलग्न छन्।

यसका लागि नयाँ दिल्लीस्थित नेपाली राजदूतावास पनि सक्रिय  भएको छ। भारतका लागि नेपालका राजदूत डा. शङ्कर शर्माले बिहीबार भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्करसँग भेटवार्ता गरेका छन् ।

भ्रमणको सम्भावित मिति जेठ १७ देखि २० गतेसम्म तय भएको छ तर अर्को मिति त्यसैमा भ्रमण तालिका मिलाउने वा अर्को मिति तय गर्ने भन्ने विषयमा दुई देशका परराष्ट्र मन्त्रालयबिच आपसी समन्वय गर्ने काम भइरहेको छ।

आसन्न भ्रमणलाई फलदायी बनाउने गरी भारतसमक्ष उठाइने कार्यसूचीका विषयमा पनि सबै मन्त्रालयका पदाधिकारीसँगको छलफल लगभग सकिएको छ। त्यसको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गरेका छन्।

उनले अर्थ, गृह, ऊर्जा, भौतिक पूर्वाधार, पर्यटनलगायतका दुई पक्षीय परियोजनामा सम्बद्ध मन्त्रालयबाट आवश्यक कार्यसूचीको खाका गतसाता नै सङ्कलन गरेका छन् । 

प्रधानमन्त्रीको आसन्न भ्रमणको तयारी अन्तिम चरणमा रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। उनका अनुसार तयारीका क्रममा दुई देशबिचको एजेन्डालाई अन्तिम रूप दिने कार्य, भ्रमण टोलीमा सहभागी हुनेको नामावली तय गर्ने कार्यमा अन्तिम छलफल चलिरहेको छ।

भ्रमणको मिति तोक्ने सवालमा दुवै देशले एकै दिन एकै समयमा सार्वजनिक गर्ने नीति अनुसार शनिबार घोषणा गर्ने तयारी भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयको दक्षिण एसिया महाशाखाका प्रमुख रामप्रसाद सुवेदीका अनुसार भ्रमणको कार्यसूचीमा दुई देशीय सम्बन्धमा महत्व राख्ने द्विपक्षीय तथा बहुपक्षीय साझेदारी र बहुआयामिक विषय रहेका छन् ।

कार्यसूचीलाई अन्तिम रूप दिन परराष्ट्र मन्त्रालयमा बिहीबार सार्वजनिक बिदाको दिन पनि गहन गृहकार्यमा कर्मचारी खटिएको मन्त्रालयले जनाएको छ । सबै सरोकारवाला मन्त्रालयले दिएको कार्यसूचीलाई प्राथमिकीकरण गरेर कार्यसूची व्यवस्थित गरेपछि मन्त्रालयले औपचारिक जानकारी दिने सुवेदीले बताए ।

भारतका विदेशमन्त्रीसँग राजदूत शर्माको भेट

भ्रमणकै विषयलाई लिएर भारतस्थित नेपाली दूतावास र भारतको विदेश मन्त्रालयबिच पनि दौडधुप बढेको छ। भ्रमणको व्यवस्थापनमा सघाउँदै दिल्लीस्थित दूतावासले मन्त्रालयसँग बृहत् छलफल र भेटवार्ता उच्च पारेको छ। 

सोही व्रmममा राजदूत डा. शङ्करप्रसाद शर्माले भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्करसँग बिहीबार गरेको भेटवार्तामा पुरानो बहुआयामिक सम्बन्धलाई थप फराकिलो, बलियो र गहिरो बनाउने इच्छा र प्रतिबद्धता दुवै पक्षबाट व्यक्त गरिएको राजदूत शर्माले जानकारी दिएका छन्। 

भारतका विदेशमन्त्री जयशङ्करले पनि राजदूत शर्मासँग गहिरो र बहुआयामिक साझेदारी रहेको मित्रवत् सम्बन्धका विषयमा छलफल भएको सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् । आगामी दिनमा दुई देशबिचको सम्बन्धलाई थप फराकिलो बनाउन पहल गर्ने प्रतिबद्धता विदेशमन्त्री जयशङ्करले व्यक्त गरेका छन्

ऊर्जासम्बन्धी विषय महत्वपूर्ण

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा ऊर्जासम्बन्धी विषयलाई महत्व दिइने भएको छ। नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १० औँ बैठकले पारित गरेका मुख्य विषयले प्रधानमन्त्रीको भ्रमणमा स्थान पाउने छन्।

सो बैठकमा दुई देशबिचका मौजुदा प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तर्देशीय प्रसारण लाइन, अरुण–३ जलविद्युत् तथा सम्बद्ध प्रसारण लाइन आयोजना, अन्तर्देशीय विद्युत् आयात–निर्यातलगायतका विषयमा सहमति भएको थियो।

त्यसमध्ये नेपालबाट ५० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने सम्बन्धमा निश्चित आयोजनासहित नेपालले प्रस्ताव पेस गरेमा भारतको विद्युत् आयात–निर्यात निर्देशकाबमोजिम भारतीय पक्ष स्वीकृति दिन सकारात्मक रहेको थियो। त्रिदेशीय सम्बन्धको आयाम बोकेको यो विषय प्रधानमन्त्री प्रचण्डको भ्रमणमा पनि प्रमुख कार्यसूचीमा रहेको छ।  

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved