सात ‘सत्ता’ गुमाएको एमाले कोशीमा भाग्यमानी !

नेपालभ्युज

सात ‘सत्ता’ गुमाएको एमाले कोशीमा भाग्यमानी !

काठमाडौं। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले सत्ता गठबन्धन भित्रका दलका नेतालाई पत्र लेख्दै कोशी प्रदेश सरकारबाट बाहिर आइदिन गरेको आग्रहलाई माओवादी र जसपाले नसुनेझै गरिदिए।

संघीय सरकार र ६ वटा प्रदेश सरकार गुमाइसकेको एमालेले माओवादी र जसपाकै कारण कोशी प्रदेश सरकार छाड्नुपरेको छैन। यस अर्थमा एमालेसहित प्रदेश सरकार र यसका मुख्यमन्त्री हिक्मत कार्की भाग्यमानी देखिए। संघीय सरकारदेखि नै सत्ता सहयात्री रहेका दलका नेताबाटै कांग्रेस संसदीय दल मार्फत पठाइएको पत्रको समेत कार्यान्वयन नभएपछि कोशी प्रदेश सरकार तत्काल परिवर्तन हुन नसक्ने निष्कर्षमा कांग्रेस पुगेको छ ।

गठबन्धन दलहरू नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी(जसपा)लाई एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन कांग्रेसले पटक–पटक दबाब दिँदै आइरहेको छ । तर, माओवादी र जसपाले कांग्रेसको पत्रलाई भन्दा मुख्यमन्त्री हिक्मत कार्कीलाई बढी मह दिइरहेका छन्।

कोशी प्रदेशको नामाकरण विरुद्ध चलिरहेको पहिचानवादीको आन्दोलन र एमाले–राप्रपा गठबन्धन हुँदा कांग्रेस–माओवादी सहितको अर्को गठबन्धन बन्दा पनि बराबरको अवस्था आएपछि केन्द्रीय शीर्ष नेताहरूनै मुख्यमन्त्री परिवर्तनको ‘झमेला’ र ‘लफडा’मा पर्न नचाहेको देखिन्छ। जसको प्रत्येक्ष लाभ एमाले र मुख्यमन्त्री कार्कीले पाईराखेका छन्।

प्रदेशको नीति तथा कार्यक्रम ल्याउनुभन्दा अगाडि नै प्रदेश सरकार परिवर्तनका लागि दबाब दिइरहेको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दल पनि अब तत्काल सरकार परिवर्तनको मुद्दाबाट पछि हटेको छ। ‘हामीले केन्द्रकै अनुसार प्रदेशमा पनि सरकार गठन गरौं भन्ने प्रस्ताव राख्यौं तर,केन्द्रबाट नै साथ पाइएन’–नेपाली कांग्रेस प्रदेश सभापति एवं संसदीय दलका नेता उद्धव थापा भन्छन्–,‘अहिले सरकार परिवर्तन हाम्रो पार्टी सभापति र माओवादी अध्यक्ष एवं प्रधानमन्त्रीको मुख्य एजेन्डा नै बनेन।’

कोशी प्रदेशमा एमाले, माओवादी केन्द्र,राप्रपा र जसपाको संयुक्त सरकार छ । प्रदेश सभामा ९३ सिट रहेको कोशीमा एमालेको ४० सिट रहेको छ भने एमालेलाई दह्रो समर्थन गर्ने राप्रपाको ६ सांसद छन्। त्यसैगरी, नेपाली कांग्रेस २९ सांसद र सभामुखसहित माओवादीका १४ सांसद छन् भने समाजवादी ४ र जसपाका १ सांसद छन्। यसरी हेर्दा अंक गणित बराबर देखिन्छ। अर्थात् एमाले ४० र राप्रपाको ६ जोड्दा ४६ र अर्को गठबन्धनमा पनि ४६ नै सांसद छन्। सभामुख निर्णायक छन्।

एमाले यसअघि नै संघीय सरकार सहित कोशीबाहेक सबै प्रदेश सरकारबाट बाहिर रहेको छ। सुदूरपश्चिम,गण्डकी र लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री पाएको एमालेले सबै गुमाइसकेको छ भने मधेस, बागमती र कर्णालीमा पाएको मन्त्रालय पनि छाडिसकेको छ।

अब एमालेसँग प्रतिनिधिसभामा सभामुख र राष्ट्रियसभामा अध्यक्ष तथा कोशी प्रदेशको मुख्यमन्त्री मात्रै बाँकी छ। ती बाहेक राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र ६ वटा मुख्यमन्त्री सबैमा एमाले बाहेकको प्रतिनिधित्व छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved