महिलाले एकैपटक ५ जना छोरी जन्माइन,  बुबाआमालाई खुसीसँगै चिन्ता

नेपालभ्युज

महिलाले एकैपटक ५ जना छोरी जन्माइन,  बुबाआमालाई खुसीसँगै चिन्ता

 एजेन्सी।  झारखण्डको सबैभन्दा ठूलो सरकारी अस्पताल राँचीको राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेस रिम्समा सोमबार दिउँसो एक महिलाले पाँचवटा छोरीलाई जन्म दिएकी छन् ।

विवाहको सात वर्षपछि सन्तान जन्माएको भन्दै आमा अंकिता कुमारी र बाबु प्रकाशकुमार साव खुसी छन् । तर यो खुशीले उनीहरुका लागि धेरै चिन्ता पनि ल्याएको छ । अहिले बालिका र आमाको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । तर, उनले आगामी केही साता अस्पतालमै बिताउनु पर्ने छ ।

उनीहरुका बालिकालाई दुई फरक अस्पतालको नवजात शिशु सघन उपचार इकाई (एनआईसीयू) मा भेन्टिलेटर सपोर्टमा राखिएको छ ।

अंकिता कुमारी गत वैशाख ७ गतेदेखि रिम्सको स्त्री रोग तथा प्रसूति विभागका प्राडा शशिबाला सिंहको इकाईमा भर्ना भएकी थिइन् । प्रि-नेटल जाँचपछि डाक्टरले उनलाई एक भन्दा बढी बच्चाहरु भएको बताएका थिए ।

उनी चिकित्सकको निगरानीमा थिइन् । वैशाख २२ गते दिउँसो उनलाई एक्कासी सुत्केरी पीडाले आधा घण्टामा एक एक गरी पाँच छोरीलाई जन्म दिइन् ।
उनको उपचारमा संलग्न डा. शशिबाला सिंहको टोलीमा रहेका डा बुलुप्रियाले रिम्समा पहिलो पटक एकैसाथ पाँच सन्तान जन्मेको बताए । यसअघि यहाँ एक महिलाले चार सन्तानलाई जन्म दिएकी थिइन् । अहिले त्यो रेकर्ड तोडिएको छ ।

२७ वर्षीया अंकिता झारखण्डको चतरा जिल्लाको मलकापुर गाउँकी बासिन्दा हुन् । । उनका श्रीमान् प्रकाश सावले फलफूलको गाडा चलाउँछन् । पहिले उनी होटलमा काम गर्थे । जागिर गुमाएपछि फलफुल बेच्न थाले ।

प्रकाश साउले बीबीसीलाई भने, “मैले एकैपटक पाँच छोरी जन्माउँछु भनेर कहिल्यै सोचेको थिइनँ। विवाहको यति दिनपछि बच्चा जन्मियो त्यसैले हामी खुसी छौं तर अहिले यी बालबालिकाको जीवन बचाउने चिन्ता पनि छ। रिम्समा एनआईसीयूको शैया उपलब्ध नहुँदा मैले मेरा दुई नवजात छोरीहरूलाई राँचीको निजी अस्पतालमा भर्ना गर्नुपर्‍यो। बाँकी तीन छोरीहरू रिम्समै छन्।”

उनले अस्पताल प्रशासनप्रति पनि दुखेसो पोखेका छन्,  “मेरो प्रश्न यो छ कि मेरी श्रीमती यहाँ १६ दिनदेखि भर्ना हुँदा रिम्स अस्पतालले किन मेरा छोरीका लागि बेडको व्यवस्था गरेनन्। मेरी श्रीमती पाँच सन्तानकी गर्भवती छिन् भन्ने सबैलाई थाहा थियो। हिजो राति अचानक मलाई दुई छोरी निजि अस्पतालमा भर्ना गर्न भनियो। म गरिब मान्छे हुँ। मलाई निजी अस्पतालमा खर्च गर्न धेरै गाह्रो छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved