चुसबा चमार भन्छन्, ‘अमुक’ दललाई भोट दिएन भने हाम्रो पञ्चायती कसले गरिदिन्छ ? अड्डा, अदालत, मालपोतमा हामीसँग को गइदिन्छ ? र मर्दापर्दा कसले सहयोग गरिदिन्छ ? यो आलेख लख काटेको प्रश्नको उत्तर दिन हैन, दलतन्त्र र माईबाप संसारको केही चियोचर्चा गर्न लेखिएको हो । नेपालमा लोकतन्त्र छ कि दलतन्त्र ? प्रश्न गर्नुपर्ने बेला भएको छ ।
बहुदलीय व्यवस्था (मल्टी पार्टी) डेमोक्रेसी को अर्थ दलतन्त्र हैन । राजनीतिशास्त्रमा बहुदलीय व्यवस्थाको अर्थ यस्तो राजनीतिक प्रणाली हो जसमा देशका विभिन्न राजनीतिक दलले राष्ट्रिय चुनावको आयोजना गर्छन्, भाग लिन्छन् र जित्नेले एकल वा गठबन्धनमा सरकारी निकायमाथि नियन्त्रण गर्ने क्षमता प्राप्त गर्दछन् ।
प्रष्ट छ, राजनीतिक दलहरू राष्ट्रिय जीवनका हरेक आयामका मालिक हैनन् । आजको बदलिँदो विश्वमा राजनीतिक दलहरूको प्राथमिक काम राज्य संयन्त्रमाथि नियन्त्रण र सहजीकरण गरेर सुशासन र विकास सुनिश्चित गर्नु हो । तर चुसबा चमारको भनाइलाई आधार मान्ने हो भने नेपालमा राजनीतिशास्त्रको यो परिभाषाले काम गर्ने देखिँदैन ।
राजनीतिक दलहरू नेपालमा सबथोक हुन् । उनीहरु नेपालमा जनताका माईबाप भएका छन् । दल भनेको परिवार हो, जात हो, धर्म हो, अभिभावक हो, संरक्षक हो, खेत हो, बारी हो, स्कुल हो, अस्पताल हो, बैंक हो, साहु हो । यहाँसम्म कि, भगवान् भन्दा पनि हुन्छ । राजनीतिशास्त्रकै भाषामा भन्दा पनि राजनीतिक दल र जनताबीचको सम्बन्ध अभिभावक (सेवाग्राही (प्याट्रोन-क्लाइन्ट) को हो ।
यसो हेर्दा के देखिन्छ भने राजनीति कहाँ छैन ? धर्मकर्ममा छ, विद्यार्थीमा छ, शिक्षकमा छ, सहकारीमा छ, बैंकमा छ, बिजनेसमा छ, सामुदायिक वनमा छ, गैरसरकारी संस्थामा छ, वकिलमा छ, कलाकारमा छ, प्राध्यापकमा छ, डाक्टरमा छ, इन्जिनियरमा छ, कर्मचारीमा छ, लेनदेनमा छ, पुजापाठमा छ, बिहेबारीमा छ, भोजभतेरमा छ । यहाँसम्म कि, जीवनका हरेक गतिमा छ । त्यसैले, भनिन्छ कि नेपालमा सबभन्दा ठूलो उद्योग राजनीति हो, सबभन्दा ठूलो रोजगारदाता राजनीतिक दलहरू हुन् र नेपालमा जीवन नै चलायमान राजनीतिले हुँदै आएको छ ।
कुनै बेला एमालेको सांगठनिक मन्त्र नै थियो, जनतालाई कुखुराले चल्ला छोपे जसरी राख्नु । क्याडर बेस पार्टीको कुरा बुझ्न सकिन्छ, मास बेस पार्टी भनेर चिनिने नेपाली कांग्रेस पनि यही फर्मुलामा फस्यो । हरेक पार्टी सत्तामा पुगेपछि आफ्नो नेता कार्यकर्ताको संरक्षण र सेवामा मात्र केन्द्रित भइदिए । राज्यको सेवामा त्यसको मात्र पहुँच हुने स्थिति छ जो कुनै न कुनै पार्टीको सदस्य हो ।
अब त पार्टीहरूले मानिसको विवेक पनि बन्धकीमा राखिसकेका छन् । त्यो संविधानसभाबाट संविधान निर्माण र जारी भएकै बखत पनि देखियो । तर, अहिले विभिन्न कुरामा पनि त्यही देखिन थालेका छन् । सुनिन्छ, भुटानी शरणार्थी प्रकरणमा आरजु देउवाको विरुद्धमा लेखिएका सामाजिक सञ्जालका पोष्टमा लाइक र शेयर गर्न कांग्रेसका मानिसलाई रोक लगाउने सर्कुलर जारी भएको छ । मतलब नेपालका दलहरू सृष्टिभन्दा पनि ताकतबर भएर आएको देखिन्छ । मान्छेले के सोच्छ, देख्छ, बोल्छ, गर्छ, यो सबै नियन्त्रण गर्नसक्ने दलहरूले आफूलाई ईश्वरभन्दा पनि शक्तिशाली ठान्न थालेका छन् ।
अर्कोतिर, एमालेका विष्णु रिमालले ओलीका हरेक पोष्टमा लाइक र सेयर गर्न कार्यकर्तालाई उर्दी जारी गरेका छन् । मतलब, मानिसको सोच, छनोट, चाहना, भावना सबैलाई नियन्त्रण गर्नसक्ने दलहरूका अगाडि त भगवान् वा प्रकृति भन्ने कुरा केही पनि हैन जस्तो देखियो । यसबाट देखिन्छ, जनताको सार्वभौमसत्ता भन्नु धोखा हो । नेपाली त फगत एक रोबोट रहेछन् ।
चेतना, संवेदना, चाहना, घृणा, छनोटको स्वतन्त्रता, पहिचान र आत्मसम्मान मरिसकेपछि त्यो मानिस रहिरहन सक्दैन, त्यो दुर्भाग्यपूर्ण मानिस (जुम्बी) मा परिणत हुन्छ । दुर्भाग्य नै भन्नुपर्छ, नेपालको राज्य संरचनाले आजसम्म जुम्बीको हुल तयार गर्दै आएको छ । पृथ्वी नारायण शाहले जुम्बीको फौज तयार गरेर गए । ती फौजले जंगबहादुरको उदय हुन्जेलसम्म उत्पात मच्चाए । जंगबहादुरले अर्को जुम्बी फौज तयार गरे जसले १०४ वर्षसम्म मारकाट र लुटपाट मच्चाए ।
महेन्द्र शाहले त्यसपछि अर्को राष्ट्रवादी जुम्बी फौज बनाए जसले आजसम्म विभिन्न रूप धारण गरी दुःख दिइरहेका छन् यो देशलाई । पछिल्लो कालको नयाँ अपडेटेड भेरिएन्ट कांग्रेस र एमाले नामका जुम्बी फौजहरू हुन् जो जलमा, थलमा र नभमण्डलमा सर्वत्र विराजमान छन् तर जो अब चाँडै आउटडेटेड हुन गइरहेका छन् ।
यसलाई सरलीकृत र सारांशीकृत गरौं अब, प्रष्ट छ, सामन्तवाद हामी नेपालीको रगत, मांस, मज्जामा अन्तरनीहित छ । मुकुट त फालियो तर, जुम्बीहरूको मुर्कुट्टा फौज चलायमान छ । हाम्रो सोच र विधि (एप्रोच) आधुनिक समयानुसार नहुन्जेल हामी द्विविधा (डेलिमा) मा हुन्छौं र हामी स्वयं पाखण्ड उत्पादन गर्ने कारखाना बनिरहेका हुन्छौं । अमेरिकाको रेस्टुरेन्टमा भाँडा मस्काएर बसिरहेका नेपाली फोनमा बाउलाई कमलरीको आर्थिक शोषण गरिरहन उक्साइरहेका हुन्छौं । वा संघीय व्यवस्थाको फाइदा लुटेर क्यानाडाको कुनै उदार राज्यमा सजिलै स्थायी बसोबासको चाँजोपाँचो मिलाएका हामी संघीयताका विरोधी पार्टीलाई भोट हाल्न बाउलाई फोन गरिरहेका हुनसक्छौं ।
हो, यही विरोधाभाषका बीच बाँच्नु नै संक्रमणकाल हो । नेपाल पहिचानको संकटमा बाँचिरहेको छ । नयाँ पहिचानलाई अंगीकार गर्न, स्वागत गर्न नेपाल तयार छैन । पुरानो पहिचानलाई धारण गर्न सक्दैन, तर फाल्न पनि सकिरहेको छैन । यथार्थ, के हो भने सामन्तवादको मजा पनि चाहिने र आर्टिफिसियल इन्टेलिजेन्सको मजा पनि लिने दोहोरो दाउमा नेपालका दल र जनता छन् । यही स्थितिको फाइदा दलहरूले उठाइरहेका छन् र जुम्बीहरूको नयाँ फौज तयार गरेका छन् । यसरी दलतन्त्रको धन्दा नेपालमा बेस्सरी फस्टाएको छ, माईबाप संसारको सिर्जना भएको छ ।
अब अन्तिम प्रश्न, के यसरी नै चलिरहन्छ त नेपालमा ? सीधा उत्तर छ- चल्दैन । लोकतान्त्रिक समाजका तीन खम्बा हुन्छन्, लोकतान्त्रिक राज्य, मानवीय बजार र सचेत नागरिक समाज । नेपालका दलतन्त्रले यी तीनै खम्बा संक्रमित पारेका छन् र धराशायीको अवस्थामा लगेका छन् । दलतन्त्रका जुम्बीहरूले नेपाल राज्यका संयन्त्रलाई लोकतान्त्रिक र उत्तरदायित्वपूर्ण रहन दिएका छैनन् । जुम्बीहरूले बजारलाई अमानवीय बनाइदिएका छन्, सिन्डिकेटतन्त्र खडा गरेका छन् र नागरिक समाजलाई आत्मसम्मानविहीन वफादार नोकरको रूपमा परिणत गरिदिएका छन् ।
तर, लोकतन्त्र भनेको स्वयं प्रतिरक्षातन्त्र (इम्युनिटी) भएको प्रणाली हो । अबको चुनावले दलतन्त्रका जुम्बीलाई सफाया गरेर विषहरण (डिटोक्स) गर्ने पक्का छ । लोकतान्त्रिक राज्य, मानवीय बजार र सचेत नागरिक समाजको पुनर्स्थापना निश्चित छ । तर, यसका लागि चुनाव नै कुर्नुपर्छ भन्ने छैन । सचेत नागरिकको तर्फबाट विचारको लडाइँ जारी रहनुपर्दछ । अभिष्ट एउटै हुनुपर्छ, नागरिकको राजनीतिक न्याय, सामाजिक न्याय, आर्थिक न्याय र सांस्कृतिक न्यायको सुनिश्चिता । यो भन्नाले डेलिभरीको प्रश्न हो ।
त्यसैले, नालायकहरू आफ्ना अयोग्यता लुकाउन अनेकन खराब प्रबन्ध गरिरहेका छन् । जनताले यी कुरा बुझ्न थालिसकेका छन् । त्यसैले, जुम्बीहरू त्राहिमाममा छन् । यो प्रजावाट जनता हुँदै नागरिक बन्ने लडाइँ पनि हो । प्रष्ट भए हुन्छ, नालायकहरूको फौजको समूहगत सफाया हुँदैछ । समयको हुरीबतासले यी सबै फोहोर बढारिँदैछन् । रूपान्तरण र परिवर्तन अन्तिम सत्य हो । समय छँदै सबैले यो कुरा बुझे कल्याण हुनेछ ।
Facebook Comment
Comment