यी ‘हाईप्रोफाइल’ जो अदालतले छाडे पनि हुनसक्छन् पुनः पक्राउ

नेपालभ्युज

यी ‘हाईप्रोफाइल’ जो अदालतले छाडे पनि हुनसक्छन् पुनः पक्राउ

काठमाडौं। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भनी ठगी गर्ने प्रकरणमा प्रतिवादी बनाइएका ‘हाईप्रोफाइल’ आरोपितलाई अदालतले छाडे पनि प्रहरीले पुनः पक्राउ गर्नसक्ने छ।

बुधबार अदालतमा मुद्दा दर्ता गरिएका ३० आरोपितमध्ये धेरैजसोलाई काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अन्य दुई प्रकरणमा समेत अनुसन्धान गर्न सक्नेगरी पत्राचार गरेको छ।

सरकारी कर्मचारी र सार्वजनिक ओहदामा रहेकाको हकमा अख्तियार र अन्यको हकमा सम्पत्ति शुद्धीकरणले अनुसन्धान गर्न सक्ने गरी पत्राचार गर्ने निर्णय गरिएसँगै उनीहरू यो प्रकरणमा अदालतबाट धरौटीमा छुट्ने अवस्था भए पनि पुनः पक्राउ पर्नेछन्।

अभियोग पत्रमा नै प्रतिवादीहरू छुटेको अवस्थामा प्रहरीको जिम्मा लगाउन माग गरिएको छ । यसैगरी प्रतिवादीको सम्पत्ति र राहदानी पनि रोक्का राख्न माग गरिएको छ । जसले गर्दा उनीहरू शरणार्थी प्रकरणबाहेक भ्रष्टाचार,अकूत सम्पत्ति र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान हुनसक्नेछ।

सार्वजनिक पद धारण गरेकामा रायमाझी पूर्वउपप्रधानमन्त्री, खाण पूर्वगृहमन्त्री र टेकनारायण पाण्डे बहालवाला सचिव हुन्। त्यस्तै, इन्द्रजित राईलगायत अन्यले राजनीतिक नियुक्तिसँगै सार्वजनिक पदको लाभ लिएका थिए।

आरोपितलाई भ्रष्टाचारको विषयमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने राय प्रहरीले नै सरकारी वकिललाई दिएको थियो।। त्यस्तै, सार्वजनिक पद धारण गरेका बाहेकको हकमा भने अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखी पठाउने राय पनि प्रहरीले दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved