प्रचण्डले जसलाई माया गरे उसैबाट हुनसक्छ धोका !

नेपालभ्युज

प्रचण्डले जसलाई माया गरे उसैबाट हुनसक्छ धोका !

मधेसमा आफ्नो प्रभाव गुमाउँदै गएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मंसीर ४ को निर्वाचनमा एमालेसँग गठबन्धन गरे । त्यसभन्दा अगाडि एमालेलाई मधेस विरोधी पार्टी भन्दै आएका उपेन्द्रले निर्वाचनमा गठबन्धन गरेपनि एमालेको साथ पाएन। जसको परिणाम सप्तरी २ मा उनी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग दोब्बर मतले पराजित भए।

चुनावी परिणाम सुखद नभएपछि उपेन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धलाई ‘ब्रेकअप’ दिँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रेम सम्बन्ध बढाए। सत्ता र शक्तिमा कमजोर बन्न नचाने उपेन्द्रलाई सरकारको भोक जाग्नु तर संसदमा प्रवेश नहुनुले थप पिडा र दुःख दियो ।

निर्वाचनपछि सरकार गठनमा प्रचण्डसँग ओली नजिकिएपछि उपेन्द्रमा अर्को छट्पटी शुरु भयो र पार्टीलाई तत्काल सरकारमा जान नदिने अडान लिए। ‘म नभए अरु किन हुने’ भन्ने सोचले उपेन्द्रले पार्टीका सांसदलाई संसदीय दलको नेता छान्नसमेत दिएनन्। त्यसमा कारण एउटै थियो कतै अशोक राई संसदीय दलको नेता भइहाल्छन् कि भन्ने ।

त्यही डरले उपेन्द्रले संसदीय दलको नेतामा आफ्नै घेराभित्रका रामसहाय प्रसाद यादवलाई सर्वसम्मत गराए । बारा २ बाट प्रत्येक्ष निर्वाचन जितेका रामसहायलाई उपेन्द्रले जसरी पनि पन्छाउनु थियो र त्यहाँबाट आफू उठेर संसद् पुग्नुपर्ने थियो। उपेन्द्रको त्यही दिमाग यहाँ काम लाग्यो । सत्ता गठबन्धनमा एमाले र माओवादीबीच ‘खटपट’ सुरु भयो र अन्ततः एमालेले प्रचण्ड नेतृत्वको सरकार छाडेर हिँड्यो।

यही मेसोमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुने भयो । मौका यही हो भन्ने ठानेर उपेन्द्रले सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धन दुवैतर्फ च्याखे थापे । आफ्नो पार्टीलाई उपराष्ट्रपति नै चाहिने र रामसहाय यादव नै हुनुपर्ने उपेन्द्रको हठले यहाँ पनि बाजी मार्‍यो । अन्ततःसत्ता गठबन्धनको पल्लाभारी देखेपछि उपेन्द्रले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई सघाए भने उपराष्ट्रपति रामसहाय यादवलाई अगाडि ल्याएर जिताए।

अब संसद् छिर्ने बाटो क्लियर भएको ठानेका उपेन्द्रलाई आफैंलाई पराजित गरेका डा. सिके राउत भारी पर्ने देखियो। प्रचण्डकै मान्छे लगेर उपेन्द्रसँग चुनाव लडाउने राउतको योजना सफल भयो र माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा बारा २ मा उपेन्द्रसँग चुनावी प्रतिस्पर्धा गर्न आईपुगे। अब उपेन्द्रलाई डर भयो।

उनले फेरि नयाँ जुक्ति लगाए र प्रधानमन्त्री रहेका प्रचण्डसहित पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र माधव नेपाललाई बारा पुर्‍याएर ‘उपेन्द्र यादव संसदमा चाहियो जसरी पनि जिताएर पठाउनुस्’ भन्न लगाए। वर्तमान र पूर्वप्रधानमन्त्रीहरूले पालैपालो त्यही भने। कठीन अवस्थामा पनि उनले चुनाव जिते।

अब गुन तिर्ने पालो आयो उपेन्द्रको । तर, उनले ती सबै कुरा बिर्संदै गए। मधेसमा गठबन्धनका दलहरूबीच आलोपालो मुख्यमन्त्री हुने, मधेस सरकारमा सबैको प्रतिनिधित्व हुने, केन्द्र सरकारमा जसपाले २ मन्त्रालय मात्रै लिने र अरुलाई पनि सहभागी गराउन पहल गर्ने जस्ता कुरालाई उपेन्द्रले बिर्सिदिए ।उपेन्द्रबारे माओवादीका एक नेता भन्छन्–‘उपेन्द्रजी सधैं यस्तै खेलमा रमाउने व्यक्ति हुन्।प्रचण्डको विस्वास जितेर माओवादी समर्थनमा चुनाव जितेर आए अहिले धोका दिन खोज्दैछन्।’

मधेसमा आफ्नै मुख्यमन्त्री भएपछि कसैसँग सल्लाह नगर्ने, कोसी प्रदेसमा आफ्नो समर्थन एमालेका मुख्यमन्त्रीलाई जारी राख्ने र अन्य प्रदेसमा पनि निहुँ खोज्ने अनि केन्द्र सरकारमा बसेर भागबण्डा लिइरहने उपेन्द्रको पुरानै प्रवृत्तिको निरन्तरता मंगलबारको संघीय मन्त्रिपरिषद् र मधेश प्रदेसको सरकार विस्तारमा देखियो। संघमा एक मन्त्रालय पहिल्यै लिएको जसपाले मंगलबार थप एक मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गराउने वित्तिकै मधेसमा सत्ता गठबन्धनका ३ सहयात्री दललाई पाखा लगाए ।

आफ्नो स्वार्थ पूरा नहुँदासम्म सत्ता गठबन्धनमा आफूलाई ‘माइनस’ गरियो भन्दै ‘रोइलो’ गर्ने उपेन्द्रले मधेसमा माओवादी केन्द्र,जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सत्ताबाहिर राखेर अगाडि बढ्न खोज्दैछन्। यी ३ वटै पार्टी वर्तमान गठबन्धनमा छन्। उपेन्द्रको यो व्यवहारले मधेस प्रदेशको सत्ता गठबन्धनमा गडबडी आउने संकेत गरिसकेको छ।
संघीय सरकारमा सँगै रहेका नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई मधेस सरकारमा सहभागी गराउँदा संघीय सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र भने अप्रत्यासित सत्ता बाहिर पुगेको छ।

जसपा नेता सरोज यादव मुख्यमन्त्री रहेको मधेस प्रदेश सरकारमा माओवादीका एक मन्त्री र एक राज्यमन्त्री थिए। तर, मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै माओवादी मधेस प्रदेश संसदीय दलले निर्णय गरेरै सरकार छाडेको छ। ‘मुख्यमन्त्रीले चोरबाटोबाट सरकार विस्तार गरे’–माओवादी मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद यादवले भने–‘त्यसैको विरोधमा हामीले सरकार छाड्ने निर्णय लियौं।’

यसैगरी, मुख्यमन्त्री यादवको कार्यशैलीप्रति जनमत पार्टीले समेत गुनासो गरेको छ । जनमतबाट मन्त्री रहेका वसन्त कुशवाहाले आफ्नो दललाई अपमानित गरेको र पाइरहेको कृषि मन्त्रालय समेत खोसेको बताए।

जसपाको पछिल्लो निर्णयमा लोसपाले समेत आपत्ति प्रकट गरेको छ। सो पार्टीका संसदीय दलका नेता अभिराम शर्माले मुख्यमन्त्रीले आफूहरूको कुरा भन्दा उपेन्द्र यादवको कुरा मानेर अगाडि बढेकोले समस्या आएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved