मधेस प्रदेशमा चौथोपटक मन्त्रिपरिषद् विस्तार

मधेस प्रदेशमा चौथोपटक मन्त्रिपरिषद् विस्तार

जनकपुरधाम। मधेस प्रदेशमा चौथोपटक मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराई मंगलबार चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मधेस सरकारमा नेपाली कांग्रेसबाट कृष्ण प्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्र प्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेकपा एकीकृत समाजवादीबाट गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त तिनैजना मन्त्रीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

मुख्यमन्त्री यादवले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय जनमत पार्टीबाट खोसेर नेकपा एकीकृत समाजवादीलाई जिम्मामा दिएको छ । यसअघि यस मन्त्रालयको जिम्मेवारी जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाहाले सम्हाल्दै आएका थिए ।

गत २९ पुसमा मुख्यमन्त्री यादवसँगै नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीका संजय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए । मुख्यमन्त्री यादवले १२ माघमा विनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकेका थिए ।

त्यस्तै, जसपाबाट गत २० माघमा सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएकी सुरिता साह पनि मन्त्रालय विहीन बनेकी छन् । उनको जिम्मेवारी पछि तोकिने बताइएको छ । सामाजिक विकास राज्यमन्त्री शेख अबु कलाम आजाद, गृह तथा सञ्चार राज्यमन्त्री केशव राय चौधरी र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जयकुमार यादवलाई पनि मन्त्रालयविहीन बनाइएको छ । उनीहरू जिम्मेवारी पनि पछि तोकिने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved