काठमाडौं । नेपाली कांग्रेसका ‘तेस्रो तह’ का नेताहरू गुरुराज घिमिरे, रञ्जित कर्ण, मधु आचार्य, देवराज चालिसे, डा.गोविन्दराज पोख्रेल, भूपेन्द्रजंग शाही, भरत खड्कालगायतले सार्वजनिक घोषणा गरेरै ‘कांग्रेस रूपान्तरण अभियान’ सुरुवात गरेका छन् ।
उनीहरूको दाबी छ कि यो अभियानलाई पार्टी महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत केही पदाधिकारीको समेत समर्थन छ ।
नेपाली कांग्रेस आज जुन नैरास्य, शिथिलता, अकर्मण्यता र अन्योलको शिकार छ, जसरी अविश्वास र जनआक्रोशको तारो बन्दै गइरहेको छ, यस्तो बेला रूपान्तरण अभियान आफैँमा एक साहसिक कदम हो । अनुदारवादी वा कम्युनिष्ट पार्टीमा भए यसरी पार्टीको आधिकारिक सङ्गठन प्रणालीभन्दा बाहिर घोषित रूपमा भिन्नै सञ्जाल बनाएर कुनै अभियान सञ्चालन गर्नु गुटबन्दी र कारबाहीको विषय हुन सक्थ्यो ।

कांग्रेसको वर्तमान संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्ष लोकतान्त्रिक पार्टी हुनुको विरासतले देश दुनियाँलाई देखाउन ‘लाजकाज’ नै सही, कारबाहीको तहमा नउत्रिएला । तर, यो अभियानबाट संस्थापन पक्ष खुसी छैन भन्ने सहजै बुझ्न सकिन्छ । यसलाई उसले आफूलाई बदख्वाइँ र बदनाम गर्ने अराजक क्रियाकलापका रूपमा बुझ्नेछ । तसर्थ भन्न सकिन्छ, कांग्रेस रूपान्तरण अभियान सञ्चालन गर्ने नेताहरू पार्टी नेतृत्वको थप कोपभाजनमा पर्ने सम्भावना छ । तर पनि उनीहरूले साहस गरेका छन् ।
नेपालको कुनै पनि राजनीतिक दलको शीर्ष नेतृत्वपङ्क्ति बिरलै त्यति उदार होला, यसले पार्टीभित्र सञ्चालन हुने यस प्रकारको अभियान र समानान्तर अभ्यासलाई खुसी मनले स्वीकार गर्न सकोस । तसर्थ, नेपाली कांग्रेसको ‘तेस्रो तह’ का घिमिरेलगायतका नेताको प्रयास आफैँमा एक राजनीतिक जोखिम हो । उनीहरू पार्टी संस्थापन पक्ष र सभापति शेरबहादुर देउवासँग एक प्रकारको ‘पंगा’ लिन तयार भएको संकेत हो ।
तर, ऐतिहासिक कार्यभारका दृष्टिले हेर्ने हो भने यस्ता अभियान सञ्चालन गर्दा पार्टीको शीर्ष नेतृत्व रिसाउँछ कि खुसाउँछ, त्यो त्यति धेरै महत्त्वपूर्ण कुरा हैन । रिसाए रिसाओस्, खुसाए खुसाओस् भन्ने आँटबिना यस्ता अभियान सञ्चालन हुँदैनन् । र कुनै पनि देश र पार्टीको इतिहासले बेलाबेला यस्ता आँटी मान्छे खोजिरहेको हुन्छ ।
जब कुनै राजनीतिक दल जनता र मतदाताबाट टुटेर समाप्त हुन सक्ने जोखिमको संघारमा पुग्छ, नेतृत्वको कुनै महत्त्वपूर्ण पदमा बसेको कुनै व्यक्तिको निजी मनोदशा अर्थहीन बन्छ । पार्टी नै सकियो भने केको नेता, केको सभापति, केको पार्टी अनुशासन, केको कारबाही ? पार्टी हुनुको पहिले शर्त स्वयम् यसको भविष्य हो ।
जब कुनै राजनीतिक दल जनता र मतदाताबाट टुटेर समाप्त हुन सक्ने जोखिमको संघारमा पुग्छ, नेतृत्वको कुनै महत्त्वपूर्ण पदमा बसेको कुनै व्यक्तिको निजी मनोदशा अर्थहीन् बन्छ । पार्टी नै सकियो भने केको नेता, केको सभापति, केको पार्टी अनुशासन, केको कारबाही ? पार्टी हुनुको पहिले शर्त स्वयं यसको भविष्य हो । कांग्रेसीका लागि देउवाभन्दा कांग्रेसको भविष्य ठूलो हो ।
कांग्रेसको भविष्य सुनिश्चित हुने सर्तमा व्यक्तिगत राजनीतिक ‘करिअर’लाई दाउमा राख्ने साहस चानचुने हैन, बिरलै उत्पन्न हुने पार्टी भावना हो । यस अर्थमा रूपान्तरण अभियानकर्ता कांग्रेसीले ठीकै गरेका हुन् । तर, अझ महत्त्वपूर्ण रूपान्तरण अभियानकर्ताले सुझाएको उपाय र प्रस्तावित गरेको विकल्प चाहिँ के हो ? यो सभापति शेरबहादुर देउवाका कतिपय निर्णय र कार्यशैलीप्रतिको आक्रोश मात्रै हो कि उनीहरूसँग कुनै रचनात्मक विकल्प पनि छ ? यदि यो सभापति देउवाप्रतिको आक्रोश, घुर्की र दबाब मात्र हो भने त्यसले खासै ठूलो अर्थ राख्दैन ।
सभापति देउवाप्रति विमति राख्नेहरूसँग कांग्रेस कहाँ-कहाँ, केके कुराले बिग्रिएको हो र त्यसलाई सपार्ने उपाय केके हुन् ? आन्तरिक किचलो र अविश्वासको कारणले मात्र कांग्रेस कमजोर भएको हो कि यसका बाह्य कारण पनि छन् ? स्वयम् कांग्रेसीहरू आपसमा नमिल्नु समस्या हो कि पार्टीले देश र जनताका समस्याको समाधान नदिएको कारणले मतदाताले समग्र कांग्रेसलाई नै मन पराउन छोडेका हुन् ? यस्ता प्रश्नमा समेत घोत्लिने साहस चाहिन्छ ।
अभियानकर्ता पार्टी विशेष महाधिवेशनको आयोजना र सभापति देउवालाई पदबाट हटाउन सकिनेसम्मको माग गर्दैछन् तर, अझै उनीहरूले प्रष्ट पार्न नसकेको कुरा, के देउवा मात्रै कांग्रेसका समस्या हुन् ? नि:सन्देह हैनन् । देउवा सभापति हुनु वा नहुनुले केही मात्रात्मक भिन्नता अवश्य ल्याउला तर गुणात्मक भिन्नता ल्याउन देउवालाई हटाउनु मात्र पनि पर्याप्त छैन ।
कांग्रेसको दूर्दशा देउवाको सभापतित्वकालमा आएर मात्र सुरुवात भएको हैन । २०४६ सालपछि नै कांग्रेस गणेशमान सिंह–कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला खेमामा विभक्त थियो । यो विवाद प्रकारान्तले ‘३६ से’ र ‘७४ रे’ समूहमा ध्रुवीकृत भएपछि कांग्रेसमा अन्तहीन झगडाको बिउ रोपिएको थियो ।
कम्तिमा ‘कोइराला युग’ सम्म कांग्रेस देशैभरि एक्लै चुनाव लड्न् आँट गर्दैथ्यो । चाहे गिरिजाप्रसाद कोइराला नेतृत्वको समयमा होस् वा सुशिल कोइरालाको कार्यकालमा यो स्तरमा कम्युनिष्ट समूहको वैशाखी टेकेर कांग्रेस हिँडेको थिएन । संसदीय लोकतन्त्रमा एक्लै चुनाव लड्ने आँट नभएको पार्टीको कुनै भविष्य हुँदैन ।
१३ औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाको उदय हुनु अघि पार्टीमा ‘कोइराला समूह’ कै बर्चश्व र हालीमुहाली थियो । ‘कोइराला समूह’ को नेतृत्वमा हुँदा पनि कांग्रेस धेरै गतिलो भने थिएन तर देउवा युगमा आइपुग्दा जति कमजोर र अविश्वासनीय भइसकेको पनि थिएन ।
कम्तिमा ‘कोइराला युग’ सम्म कांग्रेस देशैभरि एक्लै चुनाव लड्न् आँट गर्दैथ्यो । चाहे गिरिजाप्रसाद कोइराला नेतृत्वको समयमा होस् वा सुशिल कोइरालाको कार्यकालमा यो स्तरमा कम्युनिष्ट समूहको वैशाखी टेकेर कांग्रेस हिँडेको थिएन । संसदीय लोकतन्त्रमा एक्लै चुनाव लड्ने आँट नभएको पार्टीको कुनै भविष्य हुँदैन । निरन्तरको गठबन्धनले प्रारम्भमा पार्टी जनमतलाई सङ्कुचन गर्दछ र विस्तारै त्यो सङ्गठनात्मक सङ्कुचन हुँदै राजनीतिक किनारीकरणको स्थितिमा पुग्दछ ।

सभापति शेरबहादुर देउवाको नेतृत्वकालमा २०७४ को स्थानीय चुनावदेखि नै कांग्रेसले त्यो बाटो रोजेको थियो । त्यसको भद्दा प्रयोग भएको थियो– चितवनबाट । आज चितवनमा नेपाली कांग्रेससहित तीन ठूला पुराना दलको जनमत भड्किएर र सङ्गठन भत्किएर कहाँ पुगेको छ ? कांग्रेसले कम्युनिष्ट समूहहरूसँग गर्ने गठबन्धन जनता र मतदाताले मन पराउँदैनन्, तत्काललाई केही फाइदाजस्तो देखिएपनि दीर्घकालमा त्यसको निक्कै ठूलो मूल्य चुकाउन पर्दछ भन्ने यसबाट सहजै पुष्टि हुन्छ ।
देउवाकालमा कांग्रेसले जनविश्वास गुमाउनुको मुख्य कारण कम्युनिष्ट समुहहरूको झगडामा आफूलाई पनि मिसाउनु र माओवादीजस्तो अस्थिर र अविश्वसनीय कम्युनिष्ट समूहसँगको सहकार्यमा आवश्यकताभन्दा बढी लहसिनु हो भन्नेमा दुई मत हुुन सक्दैन ।
तर, कांग्रेसको समस्या यति मात्रै हैन । कांग्रेसी समस्याको गाडी हिड्ने बाटो देउवाको सभापतित्व र कार्यशैलीको आँगनमा पुगेर टुंगिँदैन । त्यो ‘कोइराला निवास’ सम्मै पुग्छ । अझ त्यसको विचार र विरासतको सीमासम्मै पुग्दछ । कांग्रेसका हिजोका प्रकल्पन र प्रस्तावनाले आजको समयको माग र नयाँ पुस्ताको सपनालाई सम्बोधन गर्ने सामर्थ्य राख्छ कि राख्दैन भन्ने विशालकाय प्रश्नको मूल ढोकासम्मै पुग्दछ ।
यथार्थमा कांग्रेस ४ प्रकारका ठूला समस्या बोकेर दशकौंदेखि लखरलखर हिँडिरहेको थियो । कांग्रेसको वैचारिकी, राजनीति, अर्थनीति र पार्टी पद्धति नै आजको युग सुहाउँदो हो कि हैन ? यो आफैँमा निक्कै गम्भीर प्रश्न हो । कांग्रेसले दस्तावेजमा लेख्ने प्रजातान्त्रिक समाजवाद, व्यवहारमा लागू गर्ने नवउदारवादी अर्थनीति तथा अहिले तीव्र र सघन हुँदै गएको आर्थिक संकट र विसंगतिबीच कुनै ‘को–रिलेसन’ छ कि छैन ? कांग्रेसले सबैभन्दा पहिले फत्ते गर्नुपर्ने समस्या यो हो ।
दोस्रो कुरा– कांग्रेस राजनीतिको सारतत्व के हो ? हिजो यसको चरित्र एक उदार लोकतान्त्रिक दलका रूपमा स्थापित थियो । यो राजावादीजस्तो प्रतिगामी र कम्युनिष्टजस्तो उग्रवामपन्थी दुवै थिएन । कम्तीमा मानिसलाई यति विश्वास थियो त्रिशंकु संसद्मा सरकार बनाउन सहकार्यको बाध्यता भए पनि चुनावमा राजावादी र साम्यवादीसँग कुम जोडेर हिँड्दैन । कांग्रेस आज यो ‘सत्य’ मा पनि टिकेको छैन, बरु धेरै टाढा छ ।
माओवादीसँगको कांग्रेसको सत्ता सहकार्यमा जनजीविकाका सवालप्रति कांग्रेस बिल्कुलै योजनाहीन, हुस्सु र फिक्का देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको सापटी शब्दमा भन्ने हो भने ‘हावा न चावा’ को देखिएको छ । देशका विद्यमान चुनौतीको सजिव चित्रण गर्ने र त्यसका समाधान सुझाउँदै सिंगो देशलाई आशावादी बनाउनसक्ने बौद्धिक तथा राजनीतिक क्षमता आज कुनै पनि उपल्लो तहको, अझ त्यसमा पनि संस्थापन पक्षको कांग्रेसी नेतामा छैन ।
अझ महत्त्वपूर्ण कुरा के छ भने कम्युनिष्ट समूहहरू त्यसमा पनि माओवादीसँगको सत्ता सहकार्यमा जनजीविकाका सवालप्रति कांग्रेस बिल्कुलै योजनाहीन, हुस्सु र फिक्का देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको सापटी शब्दमा भन्ने हो भने ‘हावा न चावा’ को देखिएको छ । देशका विद्यमान चुनौतीको सजिव चित्रण गर्ने र त्यसका समाधान सुझाउँदै सिंगो देशलाई आशावादी बनाउनसक्ने बौद्धिक तथा राजनीतिक क्षमता आज कुनै पनि उपल्लो तहको, अझ त्यसमा पनि संस्थापन पक्षको कांग्रेसी नेतामा छैन ।
नेपाली कांग्रेसको आम अपिल गर्ने क्षमता इतिहासका कुनै कालखण्ड यति धेरै कमजोर कहिल्यै भएको थिएन जति अहिले छ । देउवा नेतृत्वकालमा आएर सर्वसाधारणले देशकै सबैभन्दा ठूलो पुरानो पार्टीलाई अति कम मूल्यांकन गर्न र महत्व दिन थालेका छन् । किनकी सर्वसाधारणले जुन समस्याको भारी बोकेर हिँड्न परेको छ, त्यसलाई कम गर्न कांग्रेसले सकिरहेको छैन न त रुचि नै देखाइरहेको छ । अहिले पनि प्रचण्ड सरकारका अर्थमन्त्री कांग्रेस नेता डा. प्रकाशशरण महत छन् । देशको आर्थिक संकट जुनस्तरमा चुलिएको छ, त्यसलाई समाधन गर्ने कुनै ठोस कदम सरकारले चाल्न सकिरहेको छैन ।
कांग्रेसको आन्तरिक जीवनमा देउवा हुनु वा नहुनुको त्यति ठूलो अर्थ छैन, जति पार्टी विधि, पद्धतिको सुधार गर्न जरुरी हुन्छ । कांग्रेस एक शास्त्रीय तथा औपचारिक लोकतन्त्रवादी दल मात्र रहन चाहन्छ कि चुस्त पार्टी पद्धति भएको आधुनिक लोकतान्त्रिक दल ? यो कांग्रेसका लागि निक्कै ठूलो छनोटको बिषय हो । यदि कांग्रेस शास्त्रीय औपचारिकता र सीमितताबाट मुक्त एक उदत्त आधुनिक लोकतन्त्रवादी दल बन्न तयार छैन भने देउवा भए पनि नभए पनि, देउवाको ठाउँमा गगन, विश्वप्रकाश वा गुरुराज नै आए पनि नयाँ पुस्ताले कांग्रेसलाई महत्व दिने छैन ।
कांग्रेसले आफ्ना अधिवेशन, महाधिवेशन, पार्टी सदस्यको प्रत्यक्ष लोकतन्त्रबाट गर्ने साहस गर्नु पर्दछ । पारदर्शी पार्टी कोष र निर्वाचन खर्च प्रणालीको अभ्यास गर्न सक्नु पर्दछ । अन्यथा कसैले रूपान्तरण अभियान चलाओस् कि नचलाओस्, देउवा नै रहुन् कि अरु कोही नेतृत्वमा आओस्, युवा पुस्ताका लागि कुनै मतलबको कुरा हुने छैन ।
हिजो एकातिर राजावादी अर्कोतिर कम्युनिष्टहरू– नेपाली कांग्रेसबाहेक लोकतान्त्रिक दलको विकल्प नै नभएको युगको जुन फाइदा कांग्रेसलाई हुँदै आएको थियो, अब त्यो हुनेवाला छैन । देशमा थुप्रै नयाँ र वैकल्पिक लोकतान्त्रिक दलहरूको उदय भएको छ । हुँदै पनि छ । कांग्रेसले अब राजावादी र साम्यवादीबीचको खाली जमिनमा बसेर मस्ती मार्ने सुविधा पाउने छैन, नयाँ पुस्ताका आधुनिक लोकतान्त्रिक दलसँग प्रतिस्पर्धा गरेर आफूलाई टिकाउन पर्ने छ । अब कांग्रेस कहिले सुध्रिएला भनेर पर्खेर बस्ने समय र धैर्यता कसैसँग बाँकी छैन ।
कांग्रेस अब ‘तेरा र मेरा’ भन्दै क्रियाशील सदस्यको सूचीमा झगडा गरी बस्ने र क्रियाशील सदस्यताको वितरण गर्ने बेलादेखि नै झेली गर्ने दल बन्नु हुँदैन । खुल्ला रजिष्ट्रेसन विधिमा जानु पर्दछ । चुनावको टिकट नियन्त्रण गरी नेता बर्चश्वशाली हुने प्रचलनलाई अन्त्य गर्दै प्राइमरीको प्रचलनमा जान सक्नु पर्दछ ।
कांग्रेसले आफ्ना अधिवेशन, महाधिवेशन, पार्टी सदस्यको प्रत्यक्ष लोकतन्त्रबाट गर्ने साहस गर्नु पर्दछ । पारदर्शी पार्टी कोष र निर्वाचन खर्च प्रणालीको अभ्यास गर्न सक्नु पर्दछ । अन्यथा कसैले रूपान्तरण अभियान चलाओस् कि नचलाओस्, देउवा नै रहुन् कि अरु कोही नेतृत्वमा आओस्, युवा पुस्ताका लागि कुनै मतलबको कुरा हुने छैन ।
के कांग्रेस रूपान्तरण अभियान चलाइरहेका नेता कार्यकर्ताले यी कुरा सोचेका छन् ? कि सभापति देउवाप्रतिको रिस र आक्रोश मात्रै छ उनीहरूसँग ? यदि कुनै रचनात्मक विकल्प छैनन् भने देउवाप्रतिको रिस र आक्रोशबाटमात्रै नेपाली कांग्रेसको रूपान्तरण सम्भव हुने छैन ।