‘कांग्रेस रूपान्तरण अभियानमा महामन्त्रीको पनि सहयोग छ (भिडिओवार्ता)

सत्ता साझेदार दल नेपाली कांग्रेसका केही युवा नेताहरूले ‘कांग्रेस रूपान्तरण’ अभियान घोषणा गरेका छन् । अभियान घोषणा गरेकामध्ये एक युवा नेता गुरुराज घिमिरेसँगको कुराकानी ।

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका केही युवा नेताहरूले ‘कांग्रेस रूपान्तरण’ अभियान घोषणा गरेका छन् । अभियानले सातैवटा प्रदेशमा बृहत् भेलासमेत गर्दैछ । अभियानमा मुख्यत: तेस्रो पुस्ताका नेताहरू जोडिएका छन् । उनीहरूले ‘कांग्रेस रूपान्तरण’को विकल्प नभएको उल्लेख गर्दै अभियानको घोषणा गरेका हुन् ।

त्यसो त कतिपयले यो अभियानलाई फरक दलका रूपमा आउनसक्ने भनेर संशयपूर्ण आकलनसमेत गर्न थालेका छन् भने कतिपयले यो अभियानले कांग्रेसलाई रूपान्तरण गर्न नसक्नेसमेत बताउने गरेका छन् । उसो त खासरूपमा अभियान के हो ? किन आवश्यक पर्‍यो ? अब कसरी अगाडि बढ्छ ? के साँच्चै यो अभियान फरक दलका रूपमा अगाडि आउँछ ? यसले कांग्रेसलाई ठिक पार्न सक्नछ ? यी यावत् सन्दर्भबारे हामीले अभियानका अभियानकर्ता नेता गुरुराज घिमिरेसँग कुराकानी गरेका छौँ ।

कांग्रेस रूपान्तरणको घोषणा गर्नुभएको छ, किन आवश्यक पर्‍यो यो अभियान ?

हेर्नुस्, सबैभन्दा ठूलो धन भनेको शरीर हो । यो मेरो भनाइ होइन, चाणक्यको भनाइ हो । र, शरीरलाई सबैभन्दा पहिले तन्दुरुस्त राख्नुपर्छ भन्ने हो तर, हामी त्यस्तो धेरै ख्याल गर्दैनौँ । हामी हाम्रो स्वास्थ्यमाथि खेलबाड नै गरिरहेका हुन्छौँ । त्यसैगरी हाम्रो पार्टी नेपाली कांग्रेसको स्वास्थ्यमाथि पनि खेलबाड नै भइरहेको छ । पार्टीको स्वास्थ्य राम्रो भएन भने उसले निर्धारण गरेको उद्देश्य र लक्ष्य प्राप्त गर्न सक्दैन । हाम्रो पार्टको स्वास्थ्य ठिक थियो र ००७ सालको क्रान्ति गर्‍यौँ । हाम्रो पार्टीको स्वास्थ्य ठिक थियो र नै ३० वर्षीय निरङ्कुश निर्दलीय पञ्चायतविरुद्ध लड्यौँ । हाम्रो पार्टीको स्वास्थ्य ठिक थियो र नै ०६२/६३ को जनआन्दोलनबाट मुलुकमा अभूतपूर्व राजनीतिक परिवर्तन गर्‍यौँ । तर, त्यसयता हाम्रो पार्टीको स्वास्थ्य बिग्रिन थाल्यो क्रमिकरूपमा । अलिअलि बिग्रिने क्रम ०४६/४७ बाट नै भयो । अबचाहिँ त्यो क्रम बढ्दै-बढ्दै उत्कर्षमा पुग्न लागेको छ भन्ने हामीले ठान्यौँ । किनभने एउटा लोकतान्त्रिक पार्टीचाहिँ विधिसम्मत चल्न छाड्यो भने त्यसका दुस्प्रभावहरू समाजमा नराम्रोगरी पर्छन् । हाम्रो पार्टी ठूलो पार्टी, नेपालका अधिकांश राजनीतिक आन्दोलनहरूमा बारबार नेतृत्व गरेको पार्टी; जस्तो गाउँको ठूलोबडा मानिएको व्यक्तिले बाटो बिरायो भने त्यसको गाउँमा दुस्प्रभाव परेजस्तै, घरको अभिभावकले बाटो बिरायो भने घरपरिवारमा त्यसको नकारात्मक प्रभाव परेजस्तै ठूलो राजनीतिक दलले चाहिँ बाटो बिरायो भने, आफ्नो आन्तरिक जीवनलाई स्वस्थ राखेन भने मुलुकका निम्ति उसले गर्ने कामचाहिँ ठिकठाकरूपमा गरेन भने, सरकार चलाउँदा राम्रोसँग चलाएन भने र मूलत: आफ्नै पार्टी चलाउँदा पनि राम्रोसँग चलाएन भने आन्तरिक सरोकारवालामा त प्रभाव पर्छ नै, समग्र समाजमा पनि प्रभाव पर्छ । त्यसैले हामीले पार्टी ठिकरूपमा चलिरहेको छैन भन्ने लाग्यो । किनभने विधानलाई अक्षरस: पालन गरिएन ।

अलिअलि १९/२० हुँदा त हामीले सहेकै थियौँ । तर, महाधिवेशनबाट यता आउँदाको १७ महिना पार्टी कसरी सञ्चालन भयो, हामीले हेर्‍यौँ । अहिले केन्द्रीय समितिका साथीहरूको समेत स्वीकारोक्ति अहिले आइसक्यो । अब अति भयो भनेर महामन्त्रीले नै भनिसक्नुभयो । अर्को महामन्त्रीद्ये या त रूपान्तरण या त राजीनामा भनिसक्नुभयो । यो अवस्थाबारे हामीले अगाडि नै दर्शाउँदै आएका थियौँ । हामीले प्रारम्भबाटै विधिसम्मत पार्टी चलाउँ है भनेर भन्यौँ । हामी कसैले पनि भूमिका मागेको, अवसर खोजेको थिएनौँ । हामीले पार्टी विधिसम्मत सञ्चालन भयो भने त्यही पर्याप्त हो भनेका थियौँ । तर भएन । हामीले १३ देखि १४औं महाधिवेशनबीचमा भएका घटनाक्रमलाई शिक्षाका रूपमा लिएर अब १४ बाट १५औं महाधिवेशनमा चाहिँ सुधार चाहिन्छ है भनेर सभापतिज्यूलाई भन्यौँ । तर, अहिले पार्टीको आन्तरिक जीवन अझ बिग्रेर गयो । हामी यो हेरेर बस्न सक्ने अवस्था भएन । त्यसैले हामीले रूपान्तरण हुनुपर्छ भन्यौँ ।

रूपान्तरणको घोषणा गर्दैगर्दा पार्टीका नेता तथा पदाधिकारीहरूसँग पनि कुराकानी भयो ? मुख्यगरी नेतृत्वपङ्क्तिहरूसँग ?

सूचित त हामीले गर्‍यौँ उपलब्ध भएका साथीहरूलाई । सभापतिसम्म त हाम्र पहुँच नै छैन । उहाँले खोज्नुहुन्न, हामीले त खोजिरहेकै हुन्छौँ । तर उहाँले भेट्न चाहनुहुन्न । पहिलेका सभापतिज्यूहरू कृष्णप्रसाद भट्टराई, सुशील कोइरालाहरूले भेट्न चाहना राख्नुहुन्थ्यो, हामीले बार-बार भेट्थ्यौँ । अहिलेका सभापतिज्यूले भेट्न चाहनुहुन्न, हामीले भेट्न पाउँ भनेर दरखास्त पनि हालेका छैनौँ । त्यसैले सभापतिज्यूलाई थाहा छैन ।

…महामन्त्रीहरूको लाइन त यही हो नि । उहाँहरूले पनि अगाडिबाटै रूपान्तरण, रूपान्तरण भन्दै आउनुभएको छ, उहाँहरूलाई चाहिँ थाहा छ कि छैन ?

उहाँहरू हुनुभयो, उपसभापति, अरु नेताहरूलाई चाहिँ अब पार्टी रूपान्तरणको एजेन्डा लिएर देशभर जान्छौँ, साथीहरूसँऊ बृहत् अन्तर्क्रिया गर्छौँ, सुझाव लिन्छौँ, हामी साना व्यापारी, किसानदेखि व्यवसायीहरूलाई भेट्छौँ, विद्यार्थी, महिलाकहाँ पुग्छौँ भनेका छौँ । उहाँहरू कस्तो शासन चाहन्छन् ? प्रणालीमा त विवाद छैन, लोकतान्त्रिक शासन प्रणाली छ । सरकारबाट कस्तोखाले काम चाहनुहुन्छ ? सरकारको कार्यसम्पादन कस्तो चाहनुहुन्छ ? र, कस्ता राजनीतिक दलहरू तपाईं चाहनुहुन्छ ? र, नेपाली कांग्रेस कसरी चलोस् भनेन चाहनुहुन्छ ? नेपाली कांग्रेसका कमजोरीहरू के-के हुन् ? नेपालका अरु राजनीतिक दलहरू कसरी चलुन् भन्ने चाहनुहुन्छ ? नेपालका सरकारहरूका कमजोरीहरू के हुन् ? तपाईंहरूको सुझाव के छ ? हामीले कसरी अगाडि बढ्नु उपयुक्त हुन्छ ? भन्नेमा बृहत् अन्तर्क्रिया गर्छौँ र ती सुझावहरूलाई दस्तावेज बनाउँछौँ र पार्टीमा बुझाउँछौँ । तदनुसार पार्टी चल्नुपर्छ भनेर दबाब पनि दिन्छौँ ।

खासगरी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको त शुभेच्छा, शुभकामना नै होला नि तपाईंहरूलाई, उहाँहरूकै सल्लाहमा यो अभियान घोषणा भएको हो ?

हो, उहाँहरू आफैँचाहिँ यसबीचको १७ महिनामा पार्टी सुध्रिएन, सुधारको लक्षण देखिएन भनेर निष्कर्ष निकालिसक्नुभएको छ । दुवै महामन्त्रीले । उहाँहरूले औपचारिकरूपमै बाहिर पनि बोल्नुभएको छ, उहाँहरूले त सभापतिसँगै विवाद गरिसक्नुभयो यस सन्दर्भमा । उहाँहरूमा त्यो महसुस छ, पार्टी राम्रो चलिरहेको छैन भन्ने । हामी कार्यकारी भूमिकाबाहिर रहेका साथीहरूलाई त पहिल्यैदेखि थाहा थियो । त्यसैले यो कुरालाई हामीले पार्टीले सुन्नेगरी सार्वजनिक ठाउँमै उठाउने निधो गरेका हौँ ।

महामन्त्रीद्वयसँग यो अभियानका सन्दर्भमा कुरा गर्दैगर्दा उहाँहरूको प्रतिक्रिया के थियो ?

उहाँहरू खुसी नै हुनुहुन्छ । भित्र बसेर कोसिस गर्‍यौँ, त्यो कुरा महसुस भएको छ, अब हामी पनि सल्लाह गरेर पार्टीलाई रूपान्तरण गर्छौँ, पार्टी रूपान्तरणका लागि आन्तरिकरूपमा विद्रोह गर्न परेपनि गर्छौँ भनेर उहाँहरूले जुन भन्नुभएको छ, त्यही कुरा नै गर्नुभयो । र, मलाई पनि के लाग्छ भने हाम्रो अभियानले उहाँहरूलाई बल नै पुग्छ । र, पार्टी रूपान्तरण गर्छौँ भन्ने उहाँहरूको प्रतिबद्धताले हामीलाई पनि बल पुग्छ ।

यसका लागि तपाईंहरू सामूहिकरूपमा आन्तरिक विद्रोह गर्न पनि तयार हो ?

बिल्कुलै ! यस्तो छ, नेपाली समाज अथवा नेताहरूको मनोविज्ञान कस्तो छ भने असहमति राख्नेबित्तिकै विद्रोह वा विरोध ठान्ने प्रवृत्ति छ । प्रकारान्तरले भन्नुहुन्छ भने त्यो सहयोग हो । अहिले हामीले जुन अभियान चलाइरहेका छौँ, यो पार्टीलाई मद्दत हो । योचाहिँ पार्टीको पुन:जीवनका लागि एउटा प्रयत्न हो । केन्द्रीय समितिका साथीहरूदेखि गाउँ तहका साथीहरू यसमा हुनुहुन्छ । तर, नेतृत्वले बुझ्दै आएको कुराचाहिँ असहमति राख्नेबित्तिकै विरोध हो । तर यो त यथास्थितिमा पार्टी चल्दैन है, पार्टीलाई सापेक्ष बनाउनुपर्‍यो भनिएको हो । अहिलेका समयको मुद्दालाई बोक्न सकिएन भने हामी त असान्दर्भिक हुन्छौँ । ती मुद्दाहरूलाई अर्को दलले बोक्छ, नयाँ दलहरू खुलेका छन्, ती दलहरू एकदमै गह्रौँ चुनौती भएर आएका छन् । परम्परागत चुनौतीहरू त छँदै थिए, राजसंस्था पुन:स्थापित गर्नुपर्छ भनेर राजा देश भ्रमणमा निस्केका छन् ।शान्तिपूर्ण ढङ्गले जो पनि हिँड्न पाउँछ फेरि । राजा हिँड्न पाउँदैन भनेर भन्न त सक्दैनौँ हामी ।

राजा शान्तिपूर्णरूपले हिँड्न पाउने कुरा त प्रजातन्त्रले प्रत्याभूत गरेको छ । राप्रपा राजासँगै उभिएको छ, त्यो एउटा परम्परागत चुनौती हो । अर्कोचाहिँ कम्युनिष्ट पार्टीहरू आफूविरुद्ध चुनौती बढ्यो भन्नेबित्तिकै एक भइहाल्छन् । विगतमा एक भएको पनि हामीले भोग्यौँ । अब नयाँ राजनीतिक दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति, जनमत राम्रैगरी आएका छन् । त्यसैले यी सर्वत्र चुनौतीले घेरेको बेलामा पार्टीलाई युगसापेक्ष बनाउन सकेनौँ, आन्तरिक जीवनलाई व्यवस्थित गर्न सकेनौँ भनेचाहिँ यी सबै चुनौतीहरूको सामना गर्न सक्दैनौँ । त्यसैले सबैभन्दा पहिले आफैँ परिवर्तन/रूपान्तरण हुनैपर्छ भन्ने हाम्रो दबाब हो ।

तपाईंहरूले चाहेजसरी पार्टी रूपान्तरण भएन भने तपाईंहरूको कदम कस्तो हुन्छ ? कतिपय संशयचाहिँ फरक दलका रूपमा आउने भन्ने पनि छ नि ?

हामीले त्यहाँसम्म सोचेका छैनौँ । अहिलेका लागि यो हाइपोथेसिस कुरा हो । हामी पहिले आफ्नो घरै सिंगार्ने, आफ्नो घरै बलियो बनाउने हाम्रो पहिलो प्राथमिकता हो । र, हामीलाई के लाग्छ भने पार्टी सुधारौँ, पार्टीलाई ठिकठाक बनाऔँ, पार्टीलाई उपचार गरौँ भन्ने कुरा त समग्र पार्टीकै कार्यक्रम हुनुपर्छ नि त । निर्वाचन हारिसकेपछि समीक्षा गरेर पुन: राम्रो नतिजा ल्याएको हामीले देखेका छौँ । त्यसैले हामीले पनि सबैभन्दा पहिले यो कुरा ०७४ सालमा उठायौँ । ०७४ मा संसदीय निर्वाचनमा नराम्रो हार ब्यहोरेपछि १२ जनाजत्ति साथीहरूले; त्यहाँ अहिलेका महामन्त्रीसमेत गरेर । हामीले दस्तावेज बनाएर केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरेका थियौँ । सभापतिसमेतको भेलामा प्रस्तुत गर्‍यौँ । तर, त्यसलाई नजरअन्दाज गरियो । अन्देखा गर्ने काम भयो । पार्टीले त्यसको स्वामित्व लिएन । तर त्यो कुरालाई स्वीकार गरेर अगाडि बढ्न सकेको भए ०८९ को निर्वाचन एक्लै लड्थ्यौँ । तर त्यसलाई अन्देखा गरेर जाँदा एक्लै उभिनै नसक्ने ठाउँमा पुग्यौँ । हामीले स्कूलको, बनको, स्ववियुको निर्वाचनमा गठबन्धन, गठबन्धन नै गठबन्धन । हामीले कस्तोचाहिँ गठबन्धनको प्रयास गरिरहेका छौँ ? यसले लोकतन्त्रको आधारभूत आधारमाथि हमला गर्छ, हामीले त्यही गरिरहेका छौँ । हामी एक्लाएक्लै लड्यौँ भनेमात्रै लोकतन्त्रको चरित्र बचाउन सक्छौँ । यदि मिल्दै गयौँ भने लोकतन्त्रको गुणवत्तालाई गुमाउँछौँ । एक प्रकाले भन्ने हो भने अवसरवादी ढङ्गमा पुग्छौँ । मैले चुना जित्नका लागि ४ दलले सहयोग गर्नुपर्ने । अर्को दललाई हामीले सघाउने र अर्कै दललाई पनि हामीले नै सघाउने भएपछि कहाँ रह्यो लोकतन्त्र ? यसलाई लोकतन्त्र भन्न सकिँदैन ।

तपाईंहरूले सोचेको छैन भनेर भन्नुभयो, तर फेरि सभापति पनि त्यही हुनुहुन्छ, यसरी हेर्दाखेरि तपाईंहरूको अभियान कहाँ पुग्ला ?

पहिले त हामी वैधानिक बाटोबाटै अगाडि बढ्छौँ । हामीलाई त्यो सुविधा छ । नीति अधिवेशनको कुरा केन्द्रले नै गरेको छ । महासमितिको बैठक साथीहरूले माग गर्नुभएको छ । र, धेरै साथीहरूले विशेष महाधिवेशनको माग गर्नुभा’छ । हामीले पनि सल्लाह गरेर पार्टीसँगकै मीटिङ्ग पोइन्टबाट अगाडि बढ्छौँ, यदि पार्टीले हाम्रो अभियानलाई अस्वीकार गर्‍यो भने वैधानिक विकल्पको प्रयो गर्छौँ हामी ।

त्यो भनेकोचाहिँ कस्तो ?

अब पार्टीले अस्वीकार गर्छ, पार्टीले नजरअन्दाज गर्छ, पार्टी रूपान्तरणको अभियान नै आवश्यक छैन भन्छ भने त हामीले त केही न केही कदम त चाल्नैपर्‍यो नि त । त्यसैले हामीले देशभरिका साथीहरूको भावना कस्तो छ भनेर बुझेका छौँ । अस्तिमात्रै हामी लुम्बिनी प्रदेशमा ३ दिवसीय प्रशिक्षण कार्यक्रम थियो । बारा, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देहीलगायतका जिल्लामा हामीले भेला गर्‍यौँ । त्यहाँ अधिकांश साथीहरूले नेतृत्व परिवर्तनको माग गर्नुभयो, साथीहरूले वर्तमान नेतृत्वबाट चाहिँ हामीले सोचेको कुरा सम्भव छैन रूपान्तरण भन्ने साथीहरूको सुझाव आयो । हाम्रो प्रयत्न पनि नेतृत्वसँगकै समझदारीमा र पार्टीका पदाधिकारीहरूको समझदारीमा अगाडि बढ्ने हो । पार्टी रूपान्तरणको अभियानलाई पार्टीको अभियान बनाउने हो । हाम्रो प्रयत्नचाहिँ यो अभियानलाई पार्टीले नै अगाडि बढाओस् भन्ने हो ।

पार्टीलाई महसुस गराउने कामचाहिँ हामी गर्छौँ । र, अभियानचाहिँ पार्टीले नै गरोस् भन्ने हो । पार्टीका महामन्त्रीहरू पनि त्यसमा सहमत हुनुहुन्छ, उहाँहरूले यसलाई पार्टीले अगाडि बढाउनुपर्छ भन्नुभयो भने त्यो ठिक छ । अथवा पार्टी सभापतिले के गर्दैछौ भाइहरू, साथीहरू यसलाई त एक्लाएक्लै अगाडि बढाएर त काम छैन भनेर भन्नुभयो भने अथवा यसलाई त संस्थागतरूपबाटै लिएर जानुपर्‍यो भन्नुभयो भने त्यो पनि ठिक छ । तर, फेरि पनि नजरअन्दाज गर्ने, सुनको-नसुन्यै गर्ने हो भने त हामीले वैधानिक बाटो त समात्नैपर्छ नि । त्यो त विधानले दिएको सुविधा हो ।

भनेपछि यो अभियान कुनै छुट्टै पार्टीका रूपमा चाहिँ आउँदैन ?

अहिलेका लागि यो काल्पनिक संशय हो । अहिले त्यतातिर ध्यान नै छैन । पहिले घर सिंगार्ने हो । घरको अव्यवस्थालाई हटाउँदा नै हाम्रो पनि इज्जत बढ्छ नि ।

तपाईंहरूले ‘कोरोनाभाइरसझैँ सङ्क्रमित कांग्रसलाई उपचार गर्ने हो’ भन्नुभएको छ, तर कांग्रेसलाई चट्टै पार्ने भ्याक्सिन त छैन नि तपाईंहरूसँग पनि ?

हाम्रो अभियान भ्याक्सिन नै हो । हामीले पहिलो डोज त पत्रकार सम्मेलन गरेरै दिइसक्यौँ । अब सेकेन्ड डोज र बूस्टर डोज त हुन् । हामी बेला बेलामा बूस्टर डोज लगाइरहनुपर्छ । जुन काम हामीले कांग्रेसका लागि गर्नेछौँ । जस्तो हामीले कुनै सवारी किन्यौँ भने त्यो सवारीलाई निश्चित समयभित्र सर्भिसिङ्ग गर्नुपर्छ । मोबिल फेर्नुपर्छ, यदि त्यसो गरेनौँ भने इन्जिनमा नकारात्मक असर पर्छ । त्यसपछि त्यो सवारीचाहिँ लामो समय चल्न सक्दैन । त्यसैगरी पार्टीलाई सर्भिसिङ्ग गर्ने बेला भएको छ । पार्टीको मोबिल फेर्नेबेला भइसक्यो । त्यसैले यो काम गरौँ भन्ने हाम्रो आग्रह हो ।

तपाईंहरूले खोज्नुभएको कांग्रेस कस्तो हो, ३ बुँदा भन्नुस् त ।

हामीले ३ वटै कुरा भनेका छौँ । चेहरा, चरित्र र चाल भनेर हामीले कुरा राखेका छौँ । चेहरा भनेको नेतृत्व हो । झट्ट जनताले हेर्दाखेरि सम्मान गर्ने हुनुपर्छ चेहरा । अथवा भएको चेहराले आफूलाई बदल्नुपर्‍यो । जस्तो मोदीको नाममा भारतमा उम्मेदवारहर जित्छन् । भोटचाहिँ मोदी सम्झेर हालिन्छन् । अर्को चरित्र, उसले प्रदर्शन गर्ने व्यवहार कस्तो छ त ? प्रदीप गिरि भन्नुहुन्थ्यो कि सिद्धान्त भनेको १० प्रतिशत मात्रै हो, बाँकी ९० प्रतिशत त व्यवहार हो । पार्टी र सङ्गठनको कुरामात्रै त अमूर्त कुरा हो । सिद्धान्त कार्यान्वयन गर्ने त व्यक्तिले हो । त्यसैले नेतृत्वको चरित्र पनि राम्रो हुनुपर्‍यो । र, अर्को चाल, चाल भनेकोचाहिँ उसको निर्णय प्रक्रिया हो । निर्णय प्रक्रियामा सरोकारवालाहरूको सहभागिता हुनुपर्‍यो । उसले तर्जुमा गर्ने कार्यक्रम । त्यसलाई कार्यान्वयन गर्ने संयन्त्र, त्यसबाट प्राप्त गर्ने परिणाम; त्यसलाई हामीले चाल भनेका छौँ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved