काठमाडौं । २०४८ सालमा तत्कालीन प्रधानमन्त्री नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई काठमाडौं क्षेत्र नम्बर १ मा चुनौती दिँदै थिए, नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी । मदन भण्डारीको चुनावी अभियानमा सँगसँगै थिए, अनेरास्ववियुका नेता कुमार गुरुङ ।
चुनावी घरदैलो अभियानमा कुमार सँगसँगै हिँड्थे ।
खाइलाग्दो ज्यान र फुर्तिला कुमार मदनको अङ्गरक्षकझैँ खटिएका थिए चुनावी मैदानमा । काठमाडौं ५ मा पनि उम्मेदवार रहेका मदन भण्डारी १ मा पनि उम्मेदवार थिए । तर, कृष्णप्रसाद भट्टराईसँग प्रतिस्पर्धामा मदन भण्डारी भएका कारण भण्डारी रहेकाले राष्ट्रको सम्पूर्ण ध्यान काठमाडौं क्षेत्र नम्बर– १ मै केन्द्रित थियो ।
त्यतिबेला एमाले र मदन भण्डारीको लोकप्रियता बढ्दो थियो । त्यो लोभलाग्दो लोकप्रियता अन्य माध्यमबाट रोक्न नसकेपछि विरोधीहरूले ठाउँठाउँमा चुनाव प्रचार अभियानमा भौतिक रूपमै अवरोध पुर्याउन थालेका थिए। एक दिन भीमसेनगोलामा मदन भण्डारी घरदैलो अभियानमा थिए। वैशाख महिना थियो, बढ्दो गर्मी। मदन भण्डारीको साथमा एउटा पार्टी झण्डा र अरू चुनाव चिह्न सूर्यअंकित झण्डा बोक्ने करिब दर्जन कार्यकर्ता थिए। मदन भण्डारी अघिअघि मतदातालाई नमस्कार गर्दै बढ्दै थिए। पछिपछि कार्यकर्ता पछ्याउँदै थिए।
भीमसेनगोलामा पुगेपछि एक हुल मानिसको जमात चुनावी प्रचारको रहेको टोलीतर्फ आयो। कसैका हातमा लाठी थियो, कसैका हातमा छुरी र तरबार। सिधै हान्निएर आएको जमातको एउटाले मदन भण्डारीलाई ताकेरै लाठीले हान्यो। मदन भण्डारीको ठीकपछि कुमार थिए।
मदन भण्डारीको टाउकोमा लाठी बज्रिन लागेको देखेर कुमारले उनलाई आफ्नै कुमले घचेटे। त्यो क्रममा मदन भण्डारीको टाउकामा हानिएको लाठी कुमारको टाउकामा बज्रियो। कुमार ढले। केहीको भागाभाग भयो। केही कार्यकर्ता भीडसँग जुध्न लागे ।
केहीबेरको घम्साघम्सीपछि आक्रमणकारी भागे। मदन भण्डारीमाथिको प्रहार आफ्नो टाउकामा थापेका कुमारलाई तत्कालै वीर अस्पताल लगियो। केही दिनको अस्पताल बसाई पछि कुमार डिस्चार्ज भए। तर त्यसपछि उनलाई टाउको दुख्ने समस्याले गाँज्दै लग्यो। नियमित औषधि खानुपर्ने थियो ।
***
२०२५ साल भदौ १२ गते गोरखाको थालाजुङ (हाल सिरानचोक गाउँपालिका वडा नं २) सिम्लेमा जन्मिएका कुमार गुरुङ ३८ वर्षअघि देशको राजधानी काठमाडौं आएका थिए। उनी २०४९ र २०५१ सालमा अस्कल क्याम्पसको स्ववियू सभापति पनि बने। उनी स्ववियु सभापतिमध्येबाट त्रिभुवन विश्वविद्यालय सभाको सदस्य समेत बनेका थिए।
विद्यार्थी र सँगसँगै पार्टी राजनीतिमा क्रियाशील रहँदा पनि कुमारलाई टाउको दुख्ने समस्याले गाँज्दै लग्यो। टाउकोमा लाठी बजारिएको छ वर्षपछि ०५४ सालको तीजको दर खाने दिन अचानक कुमारको बोली बन्द भयो, हात–खुट्टा पनि चलेनन्। उनी पक्षघातले थलिए। त्यस बेलादेखि गुमेको कुमारको स्मरण शक्ति अझै कमजोर छ।
कुमारका दाजु दिलबहादुर सम्झन्छन्, “०५४ सालको तीजको दर खाने दिन भाइको बोली एक्कासी बन्द भयो। हात–खुट्टा पनि चलेनन्। पक्षघातले थलिए। अहिलेसम्म उसको दाहिने अङ्ग चल्दैन। त्यसवेलादेखि गुमेको स्मरण शक्ति केही मात्र कभर भएको छ ।” कुमारसँग भने आफ्नो विगतबारे त्यत्ति धेरै सम्झना बाँकी छैन। कारण उनी मस्तिष्कको पक्षघातबाट थलिए। आफ्नो वाणी र पुराना सम्झना गुमेका छन्। अहिले पनि अकुपञ्चर विधिबाट उपचार जारी छ ।
***
एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई आफूले बचाएको कुरामा उनमा अहिले पनि गौरवबोध छ भन्ने बुझ्न सकिन्छ। मदनको तस्वीर देखाउँदा कुमार श्रद्धाकासाथ शीर झुकाउँछन्।
किनकि मदन भण्डारी, कुमारको जीवनसँग गाँसिएका राजनेता हुन्। मदन भण्डारीको कुनै घटनाको विषयमा कुरा गर्दा कुमारको अनुहारको भाव हेरेर बुझ्नुपर्छ। अनुहारको रङ्ग र भाव हेरेर गरिने संवादबाहेक उनको जीवनबाट थप कुरा खोतल्न मुस्किल हुन्छ।
दाजु दिलबहादुरका अनुसार ०५० साल जेठ ३ गते मदन भण्डारी चढेको जिप त्रिशूली नदीमा खसेर हराउँदाको साँझ कुमार भोकै बसे। उनी राति नै पुगे दासढुंगा। खुब रोए, आफ्ना प्रिय नेताको वियोगमा।
मस्तिष्कको पक्षघातका कारण कुमारसँग आफ्नो विगतबारे त्यत्ति धेरै सम्झना बाँकी छैनन्। थलिएका उनले अहिले आफ्नो बोली र पुराना सम्झना गुमाएका छन्।
तैपनि उनको एकोहोरोपनलाई घरीघरी ब्युँझाउने शब्द बनेको छ ‘दासढुंगा’। मस्तिस्कघातले धेरै कुरा सम्झन नपाए पनि, बोलीले भावना सम्प्रेषण गर्न नसके पनि उनको हृदय छोएको छ त्यो घटनाले। मदन भण्डारीलाई बचाउन आफूले प्रदर्शन गरेको पुरुषार्थबाट कुमार खुबै खुसी छन्। उनी चुक चुकाउँछन्, दासढुंगामा भण्डारीको देहान्त भएको घटना सम्झेर।
***
कुमार अहिले अहिले काठमाडौंको गल्कोपाखामा बस्छन्। २०५४ सालमा बल्झिएपछि उनको शरीरको दायाँ भाग प्यारालाइसिस भएयता कुमार २६ वर्षसम्म निरन्तर उपचारमै छन् । उपचारका क्रममा निजी सम्पत्ति सकाइसकेका छन्। पारिवारिक अवस्था नाजुक छ।
यसबिचमा नेपालका विभिन्न अस्पताल तथा भारतको भेलोर र दिल्लीमा गरिएको उपचारले कुमारमा सुधारका केही संकेत देखिएका छन्। अहिले पनि नियमित रूपमा फिजियोथेरापी चलिरहेको छ।
कुमारको उपचारका लागि उनका शुभचिन्तकहरूले कुमार ट्रस्ट स्थापना गरेका छन्। उपचारपछि हिजो बोल्न, हिँड्न नसक्ने, शरीर चलाउनै नसक्ने कुमारको स्वास्थ्यमा केही सुधार आएको थियो। तर फेरि उनको अवस्था बिग्राएको ट्रस्टका संस्थापक डा। हरिप्रसाद पोखरेल बताउँछन्।
कुमार अनेरास्ववीयुको कार्यकर्ता हुँदा अध्यक्ष हालका एमाले महासचिव शङ्कर पोखरेल थिए । कुमार घाइते भएपछि पोखरेल आफैँ उनको डेरामा गएर रेखदेख गर्थे।
अहिले एमालेको युवा नेतृत्वपंक्तिमा रहेका नेताहरू योगेश भट्टराई, भानुभक्त ढकाल काठमाडौंका पूर्वमेयर केशव स्थापित कुमारका तत्कालीन साथी हुन्।
Facebook Comment
Comment