अर्घाखाँची आगलागी प्रकरण : आगो लगाउने ४ जना पक्राउ

नेपालभ्युज

अर्घाखाँची आगलागी प्रकरण : आगो लगाउने ४ जना पक्राउ

काठमाडौं। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका २ ढाकाबाङमा चार जनाको ज्यान जाने गरी बनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भुमिकास्थान २ ढाकाबांगको बेल्वासेमा बनमा लगाएको आगो सल्किएर गाउँमा पसेपछि निभाउने क्रममा चार जनाको ज्यान गएको थियो।

आगो लगाउने भुमिकास्थान २ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दिपक बिक, ७० वर्षीय देविराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जंगली जनावरले सताएर आगो लगाएको उनीहरुले स्विकार गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए।

गत बैशाख २६ गते दुई जना र २७ गते दुई जना गरी चार जनाको मृत्यु भएको थियो। एक जना महिला अझै उपचाररत छिन्।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२, ज्यान सम्बन्धी कसुरको दफा १८२ अन्तर्गत हेलचेक्रयाँइ गरी ज्यान मार्न नहुने नियम ३ उपदफा १ अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । यो नियममा ६ महिनादेखि दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने उल्लेख छ ।

यस्तै सन्धिखर्क ७ खाँचीकोटको सामुदायिक वनमा आगो लगाउने ४१ वर्षीय ईश्वरीप्रसाद न्यौपाने १० हजार धरौटीमा रिहा भएका छन् भने सन्धिखर्क ३ खाँचीखर्कमा आगो लगाउने ५० वर्षीय मजुना निशालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved