भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव

नेपालभ्युज

भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव

चितवन।  भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो ।

कारागारमा हाल ४९ महिला चार नाबालक/नाबालिकासहित सात सय ५८ जना कैदीबन्दी छन् । तिनीहरूमध्ये दुई सय हाराहारी दीर्घरोगी छन् । कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार उनीहरू उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, मिर्गौलाजस्ता दीर्घरोग भएका छन् ।

उनीहरूलाई नियमित औषधि खुवाउनुपर्ने हुन्छ । यसका अतिरिक्त समय–समयमा कैदीबन्दी बिरामी पर्दा औषधि किन्नुपर्ने हुन्छ । उनका अनुसार कारागार विभागले चालु आर्थिक वर्षका लागि १२ लाख रुपैयाँ मात्रै बजेट पठाएको छ ।

अघिल्लो वर्ष २५ लाख रुपैयाँ पठाएको थियो । यसभन्दा अघिल्लो वर्ष ४८ लाख पठाएको जनाउँदै उनले कैदीबन्दीलाई औषधि खुवाउन नसक्ने अवस्थामा पुगेको बताए । औषधिको चरम अभाव भएपछि १५ लाख माग गरेकामा एक लाखमात्रै प्राप्त भएको कारागार प्रमुख आचार्यले जानकारी दिए ।

कारागारले जिल्ला स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखामा अनुरोध गरेर केही औषधि जुटाएको छ । दैनिक औषधिको व्यवस्थापनमा जटिलता हुँदै आएको छ । उनले भने, “किन्न बजेट अभाव भएपछि सरकारी र गैरसरकारी क्षेत्रबाट सहयोगका लागि अनुरोध गरिरहेका छौँ ।”

नियमित औषधिसमेत अभाव भएको जनाउँदै शल्यक्रिया गर्नुपर्ने, भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएमा झन् ठूलो समस्या हुने उनले बताए । कारागारमा रहेका आर्थिक अवस्था राम्रो भएकाहरूले आफैँले औषधि किनेर खान थालेका छन् । विपन्नलाई औषधि खान समस्या परेको छ । कारागार प्रमुख आचार्यले भने, “सत्तरी प्रतिशत बिरामीको औषधि किनेर खाने क्षमता छैन ।”

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved