ग्रिनसिटी अस्पतालमा तनाव

ठमठमी हिँडेर आएका बिरामीलाई डेट सकिएको औषधि, मृत्युपछि अस्पताल तोडफोड

म्याद गुज्रिएको औषधिका कारण आफ्ना बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्पताल परिसरमा रहेको फार्मेसी तोडफोड गरेका छन्। औषधि बिक्रेता समेत कुटिएका छन्। फार्मेसी बन्द हुनुपर्ने, म्याद गुज्रिएको औषधि बिरामीलाई चढाउने डाक्टर र नर्सलाई कारबाही हुनुपर्ने मृतकका आफन्तको माग छ।

नेपालभ्युज

ठमठमी हिँडेर आएका बिरामीलाई डेट सकिएको औषधि, मृत्युपछि अस्पताल तोडफोड

काठमाडौं। सामान्य ज्वरोको बिरामीलाई डेट एक्सपाएर औषधि चढाउँदा मृत्यु भएको भन्दै हिजो सोमबार दिनभर तनावग्रस्त बसुन्धाराको ग्रिनसिटी अस्पतालमा आज पनि बिहानैदेखि प्रदर्शन भइरहेको छ।

ज्वरो आएका बिरामी गोरखा बारपाक सुलिकोट ४ का ६१ वर्षीय लोकनाथ भट्टको सोमबार दिउँसो २ बजे मृत्यु भएपछि अस्पतालमा तनाव भएको हो । अस्पताल परिसर र औषधि पसलमा तोडफोड भएको छ ।

अघिल्लो दिन लोकनाथ अस्पताल सम्म हिँडेर पुगेका थिए। आफ्ना समस्या चिकित्सक र नर्सलाई बताएका थिए। तर, भर्ना भएको २४ घण्टा नबित्दै उनको मृत्यु भएपछि आफन्त आक्रोशित बनेका हुन्। डेढ महिनाअघि म्याद नाघेको ‘एड्रेनालाईन’ नामको औषधिका कारण बिरामीको मृत्यु भएको मृतकका आफन्तको दाबी छ। उनीहरूले सार्वजनिक गरेको औषधिको बिल र बाँकी औषधी हेर्दा डेढ महिनाअघि नै म्याद सकिएको देखिन्छ।

अप्रिल २०२३ मा म्याद सकिएको सोही औषधिको ७ डोज बिरामीलाई दिइएको आफन्त पक्षको भनाइ छ। १० वटा किनेको सो औषधिको बाँकी ३ वटा बिरामीका आफन्तसँगै छ। ‘‘हिजो (आइतबार) दिउँसो ३ बजे भर्ना भएका थिए। बेलुका खाना खाइरहेका थिए। हामीसँग कुरा भइरहेको थियो। तर आज दिउँसो २ बजे अस्पतालले भन्यो, तपाईँको बिरामीलाई बचाउन सकेनौँ। हामी त छाँगाबाट खसेजस्तो भयौँ। पछि चेक गर्दा थाहा भयो म्याद सकिएको औषधि चढाइरहेको रहेछ,’’ मृतकका आफन्त शिव पन्त भन्छन्।

म्याद गुज्रेको ‘एड्रेनालाईन’ नामको औषधिसहित अरू औषधी किनेको बिल र ‘एड्रेनालाईन’ नामको औषधि

म्याद गुज्रिएको सोही औषधिका कारण आफ्ना बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्पताल परिसरमा रहेको फार्मेसी तोडफोड गरेका छन्। औषधि बिक्रेता समेत कुटिएका छन्। फार्मेसी बन्द हुनुपर्ने, म्याद गुज्रिएको औषधि बिरामीलाई चढाउने डाक्टर र नर्सलाई कारबाही हुनुपर्ने आफूहरूको माग रहेको मृतकका आफन्त केशरी प्रसाद ढकालले बताए।

मृतक भट्टका आफन्त पक्ष र अस्पताल प्रशासनबीच सहमति नहुँदा मंगलबार बिहान पनि ग्रिनसिटी अस्पताल तनावग्रस्त छ। आन्दोलनका कारण अस्पतालमा बहिरङ्ग सेवा चल्न सकेको छैन । तोडफोडपछि स्थिति सामान्य बनाउन दर्जनौँ प्रहरी परिचालन गरिएको छ।

मृतकका आफन्त केशरी भन्छन्, ‘‘बिरामीलाई नर्मल बेडमै राखिएको थियो। तर धेरै पैसा असुल्न आइसीयूमा राखिएको भनियो। हामीले सीसीटीभी फुटेज हेरौँ भन्दा क्यामेरा बिग्रेको छ भनियो।’’ मृतकका आफन्तले अस्पतालले लापरबाही गरेको गल्ती स्विकार्नुपर्ने, आफन्तलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्।

अरू बिरामी पनि अर्को अस्पतालमा सर्दै

अस्पतालको सेवा चित्त नबुझेको अन्य बिरामीका आफन्तको पनि गुनासो छ।  तारकेश्वरकी २७ वर्षीय गङ्गा तिवारी सोही अस्पतालको आइसीयुमा उपचाररत छिन्। निमोनियाकी बिरामी उनलाई अर्को अस्पतालमा लैजान लागिएको छोरा नवराज तिवारी बताउँछन्।

उनी भन्छन्, ‘‘निमोनिया भएर आमालाई ल्याएको छ। १६ दिन भइसक्यो। २० को १९ भएन। यहाँ उपचारमा लापरबाही छ। बिरामीको बेवास्ता छ। सद्दे मान्छे मरिरहेको अस्पतालमा हामी बिरामीलाई कसरी राख्न सक्छौँ ? अर्को अस्पताल लैजान तयारी गरिरहेको छौँ।’’

अस्पतालमा भेटिएका राजन नगरकोटीले पनि लापरबाही भएकै कारण आफ्ना बिरामी फिर्ता लैजान लागेको बताए। उनका बुवा ५४ वर्षीय सोमसिंह नगरकोटीको खुट्टा भाँचिएपछि ५ दिनअघि अस्पतालमा ल्याइएको थियो। सोमसिंहका छोरा राजन भन्छन्, ‘‘यहाँ राम्रो उपचार छैन, बुवालाई अर्को अस्पताल लैजान्छु।’’

म्याद गुज्रेको औषधि बेच्ने एक जना पक्राउ

अस्पताल स्रोतले भने औषधिमा खराबी नभएको दाबी गरेको छ। ‘‘औषधि बिक्री गर्दा फार्मेसीबाट नै हेरेर एक्सपाइरी हेरेर नै दिइन्छ । पछि चढाउने बेलामा पनि नर्सहरूले हेर्ने गर्नु हुन्छ। अझ आइसीयूमा रहेको बिरामीलाई त भन् बढी संवेदनशील कुरा भयो,’’ एक जना चिकित्सकले भने।

अस्पताल भित्रकै फार्मेसीमा तोडफोड हुन थालेपछि नजिकै रहेको प्रहरीले तत्काल स्थिति नियन्त्रणमा लिएको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालले बताए।

उनले म्याद गुज्रेको औषधि विक्री गरेको आरोपमा एक जना फार्मासिस्टलाई नियन्त्रणमा लिइएको बताए। नियन्त्रणमा लिइएको व्यक्तिलाई महाराजगन्ज प्रहरी वृत्तमा राखिएको छ। तोडफोडपछि अहिले अस्पतालको फार्मेसी सञ्चालनमा आएको छैन।

भिडिओहरू-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved