खुमबहादुरदेखि खाणसम्म ५ पूर्वगृहमन्त्री जसलाई प्रहरीले ‘सलाम’ ठोक्दै पक्राउ गरे

तत्कालीन गृहमन्त्री योगप्रसाद उपाध्यायदेखि हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठसम्म आईपुग्दा ५ जना पूर्वगृहमन्त्री प्रहरी हिरासतमा पुगेका छन्। उनीहरूलाई प्रहरीले निवासबाटै पक्राउ गरी प्रहरी कार्यालय र अदालतसम्म डुलाएको थियो।

खुमबहादुरदेखि खाणसम्म ५ पूर्वगृहमन्त्री जसलाई प्रहरीले ‘सलाम’ ठोक्दै पक्राउ गरे

२०४६ चैत्र २४ गतेको ऐतिहासिक जनआन्दोलनसँगै बहुदलीय व्यवस्था घोषणापछि नेपालमा २६ पटक गृहमन्त्री फेरिएका छन्। यीमध्ये ५ गृह मन्त्रीलाई प्रहरीले पक्राउ समेत गर्नुपरेको छ।

तत्कालीन गृहमन्त्री योगप्रसाद उपाध्यायदेखि हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठसम्म आईपुग्दा ५ जना पूर्वगृहमन्त्री प्रहरी हिरासतमा पुगेका छन्। उनीहरूलाई प्रहरीले निवासबाटै पक्राउ गरी प्रहरी कार्यालय र अदालतसम्म डुलाएको थियो।

२०४६ चैत्र २४ देखि २०४८ जेठ १४ सम्म योग प्रसाद उपाध्यायले गृह मन्त्रालय सम्हालेका थिए । त्यसपछि २०४८ को आम निर्वाचनपछि नेपाली कांग्रेसको एकल बहुमतमा सरकार गठन हुँदा गृहमन्त्री बनेका शेरबहादुर देउवा हाल ५ पटक देशको प्रधानमन्त्री भइसकेका छन्। देउवाले २०४८ जेठ १५ देखि २०५१ मंसिर १३ सम्म गृहमन्त्रालय सम्हालेका थिए।

त्यसैगरी, २०५१ सालको मध्यावधि निर्वाचनपछि नेकपा एमालेको अल्पमतको सरकारमा गृहमन्त्री रहेका केपी शर्मा ओली पनि २ पटक देशको प्रधानमन्त्री भइसकेका छन्। हाल नेकपा एमाले अध्यक्ष रहेका ओली २०५१ मंसीर १४ देखि २०५२ असोज ६ सम्म गृहमन्त्री बनेका थिए।

ओलीपछि खुमबहादुर खड्का ५ असोज २०५२ मा मन्त्रालय हेरफेर हुँदा गृहमन्त्री बने । खड्का ०५३ फागुन २८ सम्म गृहमन्त्री रहे । खड्कापछि एमाले नेता वामदेव गौतमलाई गृहमन्त्री बनाइयो । उनी २०५३ फागुन २९ देखि ०५४ असोज २६ सम्म गृहमन्त्री भए र सोही समयमा सुन काण्डदेखि स्थानीय निकाय निर्वाचनमा चरम धाँधली भएको आरोप लाग्यो ।

वामदेवपछि राप्रपा नेता बुद्धिमान तामाङ गृहमन्त्री बने । उनले २०५४ असोज २७ देखि २०५४ मंसिर १७ सम्म मन्त्रालय सम्हालेका थिए । त्यसपछि कांग्रेस नेता खुमबहादुर खड्का पुनः २०५४ मंसीर १८ देखि २०५५ वैशाख ७ सम्म गृहमन्त्री बने । खुमबहादुरपछि कांग्रेस नेता गोविन्दराज जोशी गृहमन्त्री नियुक्त भए । उनले २०५५ वैशाख ८ देखि २०५६ असार १५ सम्म मन्त्रालयको जिम्मेवारी लिए ।

त्यसपछि पनि गृह मन्त्रालय कांग्रेसकै भागमा पारियो र गृहमन्त्रीमा नेता पूर्णबहादुर खड्कालाई उभ्याइयो । खड्काले २०५६ असार १६ देखि २०५६ चैत ७ सम्म मन्त्रालयको जिम्मेवारी पाए। खड्कापछि कांग्रेस नेता रामचन्द्र पौडेलले गृहमन्त्रीको जिम्मेवारी सम्हाले । हाल राष्ट्रपति रहेका पौडेल २०५६ चैत ८ देखि २०५८ साउन १० सम्म गृहमन्त्री थिए।

२०५८ जेठ १९ मा दरबार हत्याकाण्ड घटेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाह राजा भए र बहुदलीय व्यवस्थाविरुद्ध गतिविधि हुन थाले । एकातिर माओवादी जनयुद्ध र अर्कोतिर राजा ज्ञानेन्द्रको सक्रियता बढ्दै गएपछि दलहरूभन्दा बाहिरका व्यक्ति गृहमन्त्री बन्न आईपुगे । धर्मबहादुर थापा र दानबहादुर शाही यो बीचमा गृहमन्त्री बने । यही समयमा राप्रपा नेता कमल थापा समेत गृहमन्त्री हुन आइपुगे।

०६२-०६३ को दोस्रो जनआन्दोलनपछि तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आउँदै गर्दा देशको गृह मन्त्रालयको जिम्मेवारी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सम्हाले । उनले २०६३ वैशाख १२ देखि २०६५ भदौ ५ सम्म गृह मन्त्रालयको जिम्मेवारी लिएका थिए । ०६४ को संविधानसभा निर्वाचन सम्पन्न भई माओवादी सबैभन्दा ठूलो दल बनेपछि भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा एमाले नेता भीम रावल गृहमन्त्री बने।

रावलपछि माओवादी नेता कृष्णबहादुर महरा गृहमन्त्री भए भने केही दिन नारायणकाजी श्रेष्ठ र त्यसपछि कांग्रेस नेता विजय गच्छदार गृहमन्त्री भए। महरा २०६८ वैशाख १ देखि २०६८ साउन १५ सम्म र श्रेष्ठ ०६८ साउन १६ देखि २०६८ भदौ ३ सम्म गृहमन्त्री बने । त्यसपछिका गच्छदार भने ०६८ भदौ १२ देखि ०६९ फागुन ३० सम्म गृहमन्त्रीको जिम्मेवारीमा रहे ।

त्यसपछि, राजनीतिक दल भन्दा बाहिरबाट सरकार सञ्चालनको अभ्यास गर्दै सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायधिश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा माधवप्रसाद घिमिरे गृहमन्त्री भए । उनले ०६९ फागुन ४ देखि ०७० माघ २७ सम्म मन्त्रालय सम्हाले । त्यसपछि, गृहमन्त्रीमा माओवादीका शक्तिबहादुर बस्नेतको उदय भयो । उनले ०७२असोज १ देखि ०७३ साउन २० सम्म मन्त्रालयको जिम्मेवारी पाए।

त्यसपछि कांग्रेस नेता विमलेन्द्र निधी गृहमन्त्री बने । उनले ०७३ साउन २० देखि ०७४ जेठ २४ सम्म गृह मन्त्रालय चलाए । निधीपछि माओवादी नेता जनार्दन शर्मा गृहमन्त्री भए । शर्माले ०७४ असार १२ देखि ०७४ असोज ३१ सम्म मात्रै गृह मन्त्रालयको जिम्मेवारी लिए । माओवादी नेता शर्मापछी गृहमन्त्री बनेका रामबहादुर थापा बादलले ०७४ फागुन १४ देखि ०७८ असार २८ सम्म मन्त्रालयको जिम्मेवारी पाए । त्यसपछि गृहमन्त्रीमा कांग्रेसका बालकृष्ण खाणको उदय भयो । उनले ०७८ असार २९ देखि ०७९ पुस ११ सम्म गृह मन्त्रालय सम्हाले।

०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनबाट २० सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टीको उदयसँगै त्यसका सभापति रवि लामिछाने गृहमन्त्री बने । नागरिकता विवादमा परेपछि उनले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीबाट ३१ दिनमै राजीनामा दिएका थिए । लामिछानेले ०७९ पुस ११ देखि माघ १३ सम्म मात्रै सो मन्त्रालय सम्हाले । त्यसपछि गृहमन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले राखेर हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मा लगाए।

बहुदल घोषणाको ३४ वर्षमा २५ पटक गृह मन्त्रालयको नेतृत्व फेरिँदा ५ पूर्वगृहमन्त्री भने प्रहरी हिरासतदेखि कारागारसमेत पुगे । प्रहरी निकायलाई चुस्त दुरुस्त राख्ने र सुसाशन तथा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएका पूर्वगृहमन्त्री स्व.खुमबहादुर खड्का, गोविन्दराज जोशी, कृष्णबहादुर महरा र बालकृष्ण खाण प्रहरीबाटै पक्राउ परे । विजय गच्छदार भने एकैपटक अदालतमा उपस्थित भएर धरौटी बुझाए ।

खड्का,जोशी र गच्छदारलाई भ्रष्टाचार काण्ड र महरामाथि यौन दुर्व्यवहारको आरोप लाग्यो । अदालतको आदेशपछि डिल्लीबजार कारागारमा राखिएका महराले यस मुद्दामा सफाइ पाइसकेका छन्।

बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका गच्छदार अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । लामो समय फरार रहेका उनी सीधै विशेष अदालतमा हाजिर भएका थिए ।

पूर्वमन्त्री खड्काले पदको दुरुपयोग गरी अकुत सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरी भ्रष्टाचार गरेको भन्ने आयोगमा उजुरी परेको थियो । यसैगरी, २०४८ पछि पटक-पटक मन्त्री रहँदा जोशीले अकूत सम्पत्ति आर्जन गरेको र सो सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेषमा मुद्दा परेको थियो।

यसैगरी, खाणलाई भने हाल प्रहरी हिरासतमा राखिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा रकम लिएको आशंकामा अनुसन्धानका लागि भन्दै दुई दिनअघि खाणलाई हिरासतमा लिएको हो। खाणसँगै यो मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसमेत मुछिएका छन्। उनी पनि हाल ‘फरार’ छन्।

यसैगरी, पूर्वगृहमन्त्री रवि लामिछाने नागरिकता विवादमा तानिए भने अर्का पूर्वगृहमन्त्री वामदेव गौतम र रामबहादुर थापा बादल पनि विवादरहित गृहमन्त्री बन्न सकेनन्। त्यस्तै, गृहमन्त्री रहेर जनआन्दोलन दबाउन भूमिका खेलेको अभियोग कमल थापा माथि पनि छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved