के हो अल कादिर ट्रस्ट भ्रष्टाचार काण्ड जसमा इमरान खान गिरफ्तार भए ?

खान दम्पतिलाई ४० पटकभन्दा बढी अनुरोध गर्दा पनि भ्रष्टाचार छानबिनमा सहयोग नगरेको हुँदा बाध्य भएर गिरफ्तार गर्नु परेको पाकिस्तानी प्रहरीको तर्क छ । अल कादिर ट्रष्ट घोटाला मामिलामा इमरान खान र उनकी पत्नीमाथि ५० विलियन पाउन्ड बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ।

नेपालभ्युज

के हो अल कादिर ट्रस्ट भ्रष्टाचार काण्ड जसमा इमरान खान गिरफ्तार भए ?

काठमाडौं। पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा संसदको सबैभन्दा ठूलो दल पाकिस्तान तेहरिक–ए–इन्साफ ( पीटीआई) का अध्यक्ष इमरान खानलाई गत मंगलवार इस्लामावाद उच्च अदालत परिसरबाट गिरफ्तार गरिएपछि  देशभरि राजनीतिक हिंसा भड्किएको छ ।

हिंसामा अहिलेसम्म १० भन्दा बढीको मृत्यु भएको बताइएको छ भने देशभरि आगजनी, तोडफोड र प्रदर्शन भइरहेका छन् । राजधानी इस्लामावाद र कराचीमा विशेष सुरक्षा बल परिचालन गरिएको छ । आक्रोशित पीटीआई समर्थकले लाहौर प्रदेश प्रमुखको भवन जलाइदिएका छन्। प्रदर्शनकारीले आर्मी हेडक्वाटरमा समेत ढुंगामुढा गरेका थिए ।

मंगलबार इस्लामावाद उच्च अदालतमा खानमाथिका दुईवटा मुद्दामा सुनुवाइ तोकिएको थियो । तर, इस्लामावाद प्रहरीले एक सूचना जारी गर्दै उनलाई गिरफ्तार गर्न आदेश दिएको थियो । गिरफ्तार गर्नुपर्ने कारण भने उनी प्रधानमन्त्री हुँदा भएको अल कादिर ट्रस्ट भ्रष्टाचार काण्ड भनिएको छ ।

अल कादिर ट्रस्ट भ्रष्टाचार काण्डमा राष्ट्रिय उत्तरदायित्व ब्युरो (एनएबी) ले लामो समयदेखि छानबिन गरिरहेको थियो। यस काण्डमा भइरहेको छानबिनलाई सहयोग गर्न भन्दै एनएबीले बारम्बार पत्राचार तथा सूचना गरेको भए पनि खान र उनकी पत्नी बुसरा बिबी कार्यालयमा हाजिर भएका थिएनन् ।

खान दम्पतीलाई ४० पटकभन्दा बढी अनुरोध गर्दा पनि भ्रष्टाचार छानबिनमा सहयोग नगरेको हुँदा बाध्य भएर गिरफ्तार गर्नुपरेको पाकिस्तानी प्रहरीको तर्क छ । अल कादिर ट्रष्ट घोटाला मामिलामा इमरान खान र उनकी पत्नीमाथि ५० विलियन पाउन्ड बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ।

अल कादिर ट्रस्ट भ्रष्टाचार काण्ड भनेको के हो ?

यो मुद्दाको सुरुवात ५ वर्ष अघि भएको थियो । बेलायतको राष्ट्रिय अपराध एजेन्सी (एनसीए) ले लण्डनमा बस्दै आएका पाकिस्तानी ‘प्रोपर्टी टाइकुन’ मलिक रियाज हुसेनको सम्पत्ति शुद्धीकरणको मुद्दामा छानबिन गर्दै उनले ५० विलियन पाउन्ड बराबरको रकम निजी खातामा राखेको ठहर गरेको थियो ।

पाकिस्तानमा पीटीआई सरकार आउनु केही समय अघिबाटै मलिक रियाजमाथि यस्तो छानबिन भएको थियो । सन् २०१८ को डिसेम्बरमा एनसीए यस्तो निष्कर्षमा पुगेको थियो । सन् २०१९ को अगस्ट १४ मा एक वक्तव्य जारी गर्दै एनसीएले मलिकका ८ बैंक खातामा रहेको १०० मिलियिन पाउन्ड रोक्का गरेको थियो । यो रकम उनले अन्तर्राष्ट्रियस्तरको अबैध कारोबारबाट कमाएको हुन सक्ने आंशका गरिएको थियो ।

मम्लिक हुसेनले यो रकम पाकिस्तानको कराची निकटको बहरिया टाउन लिमिटेड कम्पनीका नाममा भएको घरजग्गा कारोबारबाट कमाएको दाबी गरेका थिए । तर, उनको यो जग्गा प्लानिङमा हजारौं एकड सार्वजनिक जमिनसमेत मिसिएको भन्दै परेको एक मुद्दामा पाकिस्तानको सर्वोच्च अदालतले ४५० विलियन रुपैयाँ बराबरको रकम सरकारी कोषमा बुझाउने प्रस्ताव स्वीकार गरेको थियो ।

बेलायतको अनुसन्धान संस्था एनसीएको छानबिन र प्रेस वक्तव्यपछि मलिक रियाजले बेलायतका बैंक खातामा रोक्का गरिएको रकम पाकिस्तानी सर्वोच्च अदालतले मागेको जरिवाना तिर्नका लागि भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । बेलायतले पाकिस्तानी सर्वोच्च अदालतले माग गरे बराबरको रकम पाकिस्तान भुक्तानी पठाउन स्वीकृति दिएको थियो । त्यसपछि घटना सामसुम भएको थियो ।

सन् २०२२ को जुनमा एक अडियो लिक भएपछि यो घटना फेरि सतहमा आयो । यो अडियो मलिक रियाज र उनकी छोरीबीचको टेलिफोन संवाद थियो । अडियोमा मलिक पितापुत्रीले तत्कालिन प्रधानमन्त्री इमरान खान कि पत्नी बुसरा बिबी र उनकी साथी फराह खान गोगीका मागबारे छलफल गरेको सुनिन्छ ।

यो अडियोमा मलिककी छोरीले पितालाई इमरान खानकी पत्नी बुसरा बिबीले साथी फराह खान गोगीमार्फत् ८ क्यारेटको हिराको औंठी लगायतका सम्पत्ति माग गरेको र त्यसो गरेवापत उनीहरूको सम्पति शुद्धीकरणसम्बन्धी समस्यामा सहजीकरण गरिदिने वचन दिएको ब्रिफिङ गरेकी छन् ।

यद्यपि, मलिक रियाज हुसेनले आफू र छोरी बीचको भनिएको अडियो नक्कली भएको बताएका थिए । तर पाकिस्तानी एजेन्सीले यसबारे छानबिन सुरु गरेका थिए । खान दम्पतीले फराह गोगीमार्फत् ८ क्यारेटको एक हिराको औठी, रियल स्टेट क्षेत्रमा केही एकड जग्गा र ५ अर्ब रुपैयाँ लिएर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा मिलाइदिएको आरोप लागेको थियो ।

आरोपअनुसार यी सबै काम तत्कालीन प्रधानमन्त्री इमरान खानले शेहजाद अबकर नामका एक सहयोगीमार्फत गराएका थिए । त्यसरी बहरिया टाउन लिमिटेडबाट घुसमा प्राप्त भएको जमिन इमरान खानले अल कादिर ट्रस्टको नाममा राख्न लगाएका थिए । बहरिया कम्पनी र ट्रस्टबीचको सम्झौता पत्रमा ट्रस्टको तर्फबाट खानकी पत्नी बुसरा बिबी खानले हस्ताक्षर गरेकी छन् । ट्रष्टलाई यसरी दिएको जमिन ४५८ एकड ठहर भएको छ ।

अल कादिर ट्रस्टलाई एक गैरनाफामूलक संस्थाका रूपमा दर्ता गरिएको छ । तर, ट्रस्टका सदस्य भने २ जना मात्र भएको पाइएको छ । खान दम्पति बुसरा बिबी र इमरान खान । त्यसबाहेक थप केही जमिन बहरिया टाउन लिमिडेटले फराह खान र शेहजाद अबकरको नाममा नामसारी गरेको अभिलेख पाइएको छ।

यी तथ्यांक बाहिरिएपछि पाकिस्तानको अनुसन्धान गर्ने निकाय एनएबीले छानबिन सुरु गरेको थियो । एनएबीले छानबिनमा सहयोग गर्न बारम्बार अनुरोध गरे पनि खान दम्पतीले बेवास्ता गर्दै आएका थिए । मंगलबार इमरान खान एक भिन्नै मुद्दामा उच्च अदालत गएका थिए जसको अल कादिर ट्रस्ट मामिलासँग कुनै सम्बन्ध छैन । त्यहीबाट उनलाई गिरफ्तार गरिएको हो ।

(पाकिस्तानी अखबार डानका रिपोर्टबाट सम्पादित) 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved