वैशाखको अन्तिम मंगलबार २३ फूलको डोली भित्रियो

नेपालभ्युज

वैशाखको अन्तिम मंगलबार २३ फूलको डोली भित्रियो

दमौली । तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाई मन्दिरमा वैशाखको अन्तिम मङ्गलबार आज २३ फूलको डोली भित्रिएको छ । मन्दिरमा तनहुँ, लमजुङ, गोरखा र चितवनलगायतबाट आएका भक्तजनले २३ फूलको डोली भित्र्याएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

त्यसक्रममा दुई हजार एक सयभन्दा बढी भक्तजनले मन्दिरमा पूजाआजा गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए । मन्दिरमा सोमबार राति ५५ जना भक्तजनले जागाराम बसेर बत्ती बालेका थिए ।

सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ । पछिल्ला वर्षहरूमा थानीमाई जाने नयाँ सडकसमेत खुलेका छन् । सडक खुलेपछि भक्तजनको सङ्ख्या बढ्न थालेको छ ।

भक्तजन फूलको डोली र पञ्चेबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजाअर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ ।

समुद्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको थियो ।

विसं १८२५ बाट यस मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीय बताउँछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा भोटिनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना सुरु भएको स्थानीयवासीको भनाइ छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved