नाटक समीक्षा :

लुटतन्त्रले दिक्क युवा ‘मृत्यु कुण्ड’ मा होमिँदै

रविन दोङले निर्देशित नाटकको कथाले भन्छ, समाजमा जसरी अहिले नेताहरूको लुछाचुँडी, जालझेल, ठगी र अत्याचार चलिरहेको छ। यसलाई स्विकार्न युवा पुस्तालाई सकस छ । अन्ततः लुटतन्त्रले दिक्क भएका युवाले पलायने (मृत्यु कुण्डको)बाटो रोज्न मजबुर छन्।

लुटतन्त्रले दिक्क युवा ‘मृत्यु कुण्ड’ मा होमिँदै

काठमाडौं। एयर होस्टेसले उडानसम्बन्धि जानकारी दिएपछि कतारको लागि उड्न लागेको जहाजले धर्ती छाड्छ। अधिकांश यात्रु वैदेशिक रोजगारीका लागि बिदेसिन लागेकाहरू हुन्छन्। कोही कतार, दुबई, मलेसिया। कोही पढाइसँगै रोजगारीको लागि अस्ट्रेलिया पनि। एक यात्रु अर्कोसँग भन्छन्, ‘‘सम्धी पिनेलको झ्याल चैँ खुल्लै राखौँ है। मेरो घरमाथि प्लेन जाँदा टाउको निकालेर यस्सो हेर्नुपरेन?’’

हाँसोको खित्का छुट्छ। रातोपुलस्थित ओजस थिएटरभित्र प्रवेश गर्दा देखिएको दृश्य हो यो। मनछुने कथामा रोचक प्रस्तुति विमानभित्रको दृश्यमा देखाइन्छ। बुधबार नाटक ‘मृत्यु कुण्डकाे’ प्रिमियर थियो। बिहीबार नाटक देखाउने तालिका छैन। शुक्रबारबाट भने नियमित मञ्चन हुने नाटकमा वैदेशिक रोजगारीमा जान बाध्य युवाहरूको कथा छ।

अहिले नेपाली समाजको सबैभन्दा ठुलो समस्या बनेको युवा शक्तिको विदेश पलायन। २ करोड ९१ लाख जनसंख्यामध्ये ६० लाख भन्दा बढी युवा श्रमिक देश बाहिरै छन्। सबै भूगोलका मानिस विदेश गए पनि तुलनात्मक रूपमा सुदूर गाउँघरका विपन्न र सीमान्तकृत समुदायका युवाहरू बढी जसो विदेश गएका पाइन्छन्। स्वदेशमै केही गर्ने चाहना हुँदाहुँदै पनि पनि विदेश पलायनमा कसरी बाध्य पारिन्छ ? यो देखाउने ऐना हो ‘मृत्यु कुण्ड’।

जहाँ सुदूरपश्चिमका क्षेत्रदेखि मधेशसम्मका समुदायको गतिविधि भेटिन्छन्। आम्दानीको खोजीमा विदेश पस्ने चलन पुरानै हो। तर, अहिलेका पढेलेखेका युवाहरू स्वदेशमै केही गर्न चाहन्छन्।

त्यस्तै मध्यका एक पात्र हुन् हिरा (राजु खतिवडा)। उनी स्वदेशमै केही गर्ने र गाउँ समृद्ध बनाउने सोचमा छन्। विकाश बजेट पारेर गाउँकै विकास गर्नेदेखि उद्यम गर्ने उनको लक्ष्य छ।

तर, एक दिन उनका बा भीरबाट लड्छन्। उपचार गर्न खर्च पुग्दैन। अस्पताल लैजान न सडक छ, न त प्लेनको टिकटकै पाइन्छ। उपचार गराउन नेतालाई गुहारियो तर, वास्ता गरेनन्। बुवाको उपचार र घर खर्च धान्न हिरासँग अन्ततः बिदेसिनुको विकल्प भएन। ‘‘बा म विदेश जान्या हुँ। टन्न पैसा कमाउन्या हुँ। तमी चिन्ता नगर। तमीलाई पहिलेजस्तै ठमठम हिँड्ने र सिलाजित टिप्ने बनाउने गरी निको बनाउन्या हो। आस नमार तमीलाई म यो संसारकै सुखी बा बनाउन्या हो’’ बाध्यात्मक परिस्थितमा हिराले बिरामी बालाई भन्छ।

000

उता मधेसको कथा पनि कहाँ फरक छ र। उस्तै समस्या छ। रामभजन (वीरेन्द्र सिंह कुशवाह) छठको पूर्वसन्धयामा पत्नीलाई छाडेर बिदेसिन बाध्य हुन्छन्। ‘‘घर बनाउनको खातिर विदेश जान्छु’ राम भजन गर्भवती पत्नीलाई आफ्नो निर्णय सुनाउँछन्।

पत्नी विनीता (शालु रौनियार) बिन्ती र प्रश्न एकसाथ गर्छिन्, ‘‘पेट भर्नकै खातिर विदेश?’’ स्वदेशमा कुनै विकल्प नपाएका पतिले रामभजन मजबुरीको फेहरिस्त सम्झाउँछन् ‘‘बात पेट भर्ने होइन। बालबालिका पढाउनु लिखाउनु छ। सुन्दर भविष्य बनाउनु छ।’’ गरिब भनेर सबैले हेप्ने गरेका उनलाई सबैको मुख बन्द गर्न विदेश जानैपर्ने बाध्यतामा दर्शक मर्माहत हुन्छन्।

गाउँमा पत्रकारिता पढिरहेका हुन्छन्, प्रजा (अजय बान्तावा राई)। उनको स्वदेशमै केही गर्ने सपना र बाध्यताबीचको १ सय ८० डिग्रीको फरकले जीवनलाई कहाँबाट कहाँ पुर्‍याउँछ।

उता नाटक सिकेर कला क्षेत्रमा करियर अघि बढाइरहेका हुन्छिन्, अनिता (सानुमाया तामाङ)। ‘‘नाटक खेलेर बाँच्न गाह्रो छ, अब विदेश जानुपर्ला’’ ठगबहादुर (ओसन कार्की)को चिया पसलमा नाट्य अभिनेत्रीले वेदना पोख्छिन्।

उनले पोखेको वेदना नाटकमा संवाद मात्रै होइन। उनी र उनीसँगै नाटक खेल्ने सबैको वास्तविक जीवनकै दुख हो। कला क्षेत्रमा आफ्नो स्वर्णिम भविष्य नभए पनि अरुलाई मनोरञ्जन दिन र नाट्य क्षेत्रमा योगदान पुर्‍याइरहेका सयौँ कलाकारको पीडा त्यो एक वाक्यले हजार शब्दमा व्याख्या गरेको छ।

000

संगित सिकेर गीतका केही एल्बम निकालिसकेका हुन्छन्, आकाश (हेमन्त, लामिछाने)ले। उनी स्वदेशमै केही गर्न चाहन्छन्। तर, गरिबी र रोजगारीको अभावले उनीहरूको सपना पुरा हुँदैन। बन्द व्यापार गर्न बुबाआमाले लगानी गरिदिँदैनन्।

उनी आफ्नै विवेकले स्वदेशमै बस्न चाहन्छन्। तर, बा–आमा र आफन्त उनलाई विदेशै पठाउन चाहन्छन, त्यो पनि अर्की केटीसँग डिपेन्डेनमा।

‘‘मलाई विदेश पठाउन लाग्ने पैसा दिनुस्। म यही बिजनेस गर्छु,’’ उनी अभिभावकलाई हजार बिन्ती गर्छन्। तर, बुबाआमाले खेत बचेरै भए पनि विदेश पठाउन तयार हुन्छन्। बाआमाले छोराको सपना पुरा गर्न बिजनेसमा लगानी गराउँदैनन्। अन्ततः उनी पनि विदेशी बाध्य हुन्छन्। अभिभावक र छोराको द्वन्द्वले दर्शकलाई उद्देलित बनाउँछ।

अरू त अरू आफ्ना गाउँका युवालाई विदेश नजान मोटिभेसन दिँदैहिँड्ने फार्म हाउसका सञ्चालक सुजित (विशाल महर्जन)समेत बिदेसिन बाध्य हुन्छन्। बेरोजगार युवासँगै विदेश जान एउटै प्लेनमा चढेका उनको बाध्यता सुनिसाध्य छैन।

‘‘फार्म हाउसमा उत्पादन त भयो। तर, बिचौलियाले भारतबाट तरकारी आयात गरे। मेरो फार्मको तरकारी बिकेन। समयमै मल पाइएन। बिउको पनि अभाव। फार्म हाउस खोल्न लागेको ऋण तिर्न विदेश जाँदैछु’’ फार्म हाउस बेचेर बिदेसिँदै गरेका उनी आफ्नो रामकहानी सुनाउँछन्। ‘‘विभिन्न परिस्थितिले मन मन लाग्यो। मर्न सकिन। अनि विदेश आएँ,’’ युवा उद्यमीलाई चित्रण गरेका सुजितको कथाले दर्शकको आँखा भिजाउँछ।

000

‘पेपर म्यारिज’ गरेर विदेश जान बाध्य युवाका कहानीले दर्शकलाई दुखी बनाउँदैन मात्रै केही सीनमा हसाँउछ पनि। आफ्नो ब्याइफ्रेण्डलाई छाडेर अरूसँग कागजी बिहे गर्नुपर्ने बाध्यता आइलागेको छ उर्मिला (एलिसा न्यौपाने)लाई।

पछिल्ला समय धेरै युवाका बाध्यतालाई उर्मिला पात्रले चित्रण गरेको छ। ‘‘पैसा नभई त यो सहरमा हावा पनि चल्दैन। खुट्टाको पाइला पनि चल्दैन। उसँग टन्न पैसा छ। त्यसैले तिमीले उसलाई अस्ट्रेलिया लाँदैछौ’’ आफ्नी प्रेमिकासँगको वियोगमा प्रेमी सतिस (शिशिर)को चित्कार कारुणिक लाग्छ। आयल्ट्समा राम्रो अंकले पास भए पनि पैसा नभएपछि मन नपरेको केटासँग अस्ट्रेलिया उड्नु सतिसकी प्रेमीका उर्मिलाको पनि बाध्यता हो। त्यसपछि कथा कसरी अगाडि बढ्छ, त्यो थाहा पाउन रातोपुलस्थित ओजस थिएटर नै जानुपर्छ।

गाउँमा बेरोजगार युवा लक्षित रोजगार अभियान सरकारले नल्याएको पनि होइन। त्यहाँ लामो लाइन हुन्छ। सरकारले ल्याएको कार्यक्रममा जागिर पाउन युवाहरूले कस्तो सकस भोग्नुपर्छ त्यो त्यहाँ देखिन्छ। ‘‘गरिब भएको प्रमाण खै? बेरोजगार भएको प्रमाण खोइ?’’, रोजगारीको लागि आवेदन दिन आएका युवालाई सोधेर धपाइन्छ।

पछाडिबाट बिचौलियाले फाइल ल्याएर आफ्नाको काम गरिदिन्छन्। यो देख्दा दर्शकलाई आफू कुनै थिएटरमा होइन कि सरकारी कार्यालयमै छु’ भन्ने भान हुन्छ। नेताहरूले मिलेर आफूले मात्रै कसरी रजाइँ गरिरहेका छन् र जनताको कस्तो हालत छ जस्ताको तस्तै भन्छ, ‘मृत्यु कुण्ड’ले। केही ठाउँमा हाँस्दाहाँस्दै दुखित तुल्याउने र मार्मिक बन्दा हँसाउने कथा छ नाटकमा।

‘‘देखेको छैन भोलि, अन्त्य हुँदैछ जीवनको फेर्दैछु नयाँ चोली’’ नाटकको बीचमा प्रवृत्ति राई, शुक्रराज मगर, अनिल गुरुङ र साथीहरूको बाध्यबादन र गायनले नाटकको कथालाई अझै मार्मिक बनाउँछ। संगित लय भने रमिला तामाङले सिर्जना गरेकी हुन्।

नाटकमा के छ?

‘मृत्यु कुण्ड’ नाटक आफ्ना सन्तानलाई मुग्लान पठाउन बाध्य हुनेहरूको कथा हो। वैदेशिक रोजगारीकै सिलसिलामा मानिसहरूले ज्यान गुमाउनुपर्ने तीतो यथार्थलाई नाटकमा देखाउन खोजेका छन् नाटककार रविन दोङले।

‘मृत्यु कुण्ड’ले समस्या मात्र देखाएको छैन, ‘आफ्नै भविष्य बनाउन यहीँ रगत–पसिना बगाउनुपर्ने यो ऊर्जाशील युवा नै विदेश जान किन बाध्य छ’ भन्ने कारण समेत देखाएको छैन। युवालाई कुराले विदेश धकेल्दैछ? किन भविष्य किन देख्न सकेका छैनन्? यिनलाई आस जगाउनुपर्ने समाजको अगुवा वर्ग कहाँ बरालिएको छ? राजनीतिक चरित्र कस्तो छ सबै डेढघन्टाको नाटकमा चित्रण गरिएको छ।

बहुसङ्ख्यक युवा नेपालमै कर्म गर्न छोडेर किन यो पलायनको बाटो रोजे होलान्? यो प्रश्न जति पेचिलो छ उत्तर भने उत्तिकै सरल तरिकाबाट नाटकले दिन्छ। युवालाई रोजगारी र आम्दानीको भरोसा दिलाउन सकेकै छैन। जागिरमा पनि आफ्नो मान्छे हुनुपर्छ। यसो हुनुमा, दोष खास गरी राजनीतिलाई दिइएको छ। बिचौलियालाई देखाइएको छ। उनीहरूको मनोमानी र उत्पीडनबाट थकित युवा अन्ततः ‘मृत्यु कुण्ड’मा होमिन बाध्य देखाइएको छ।

रविन दोङले निर्देशित नाटकको कथाले भन्छ, समाजमा जसरी अहिले नेताहरूको लुछाचुँडी, जालझेल, ठगी र अत्याचार चलिरहेको छ। यसलाई स्विकार्न युवा पुस्तालाई सकस छ ।

अन्ततः लुटतन्त्रले दिक्क भएका युवाले पलायने (मृत्यु कुण्डको)बाटो रोज्न मजबुर छन्।
गाउँघरदेखि सहरसम्म, कार्यालयदेखि पसलसम्म हैकम र मनोमानीको पीडा भोग्दै युवाहरू देश छाड्न बाध्य भएका आरोह–अवरोह नै नाटकको मूल कथा हो। यही उकाली–ओरालीमा हुने द्वन्द्वसँगै नाटक अगाडि बढेको छ।

000

समग्रमा ‘मृत्यु कुण्ड’ हेर्ने जति सबैलाई एक पटक सोच्न बाध्य बनाउँछ। नाटकमा केही कमजोरी पनि छन्। सेटमा खासै मेहनत गरेको आभास हुँदैन। तैपनि ती दृश्यसँगको नाटकका पात्रको ‘एट्याचमेन्ट’ बुझ्नलाई दर्शकलाई पर्याप्त नै छ।

नाटकमा विशाल महर्जन, अजय बान्तवा राई, सबिना तामाङ, विवेक घिमिरे, राजु खतिवडा, शिशिर भट्टराई, शालु रौनियार, उदिप सिवाकोटी र सानुमाया तामाङ मुख्य भूमिकामा छन्। उनीहरूले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका छन्।

त्यसैगरी निस्वम थापा मगर, बिटी महर, गोबिन्द टिआर, हेमन्त लामिछाने, वसन्त पोखरेल, वीरेन्द्रसिंह कुशवाह, ओसन कार्की, एचबि मगर, एलिसा न्यौपाने, शेखर ओजस र श्याम कार्कीको दर्शकलाई लोभ्याउने अभिनय तारिफयोग्य छ।

नाटक प्रमोद बाबुले निर्माण गरेका हुन्। २० वैशाख बुधबारबाट मञ्चन थालिएको नाटक १५ जेठ (बजेट घोषणाका दिन)सम्म साँझ सवा ५ बजे मञ्चन हुनेछ। शनिबार र बुधबार भने दिउँसो १ बजे पनि मञ्चन हुनेछ। बिहीबार भने मञ्चन हुनेछैन।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved