सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस

अहिलेको पत्रकारितामा देश र जनता प्रतिविम्बित हुँदैनन् : होमनाथ दाहाल

पञ्चायतकालदेखि नेपाली पत्रकारितामा सक्रिय होमनाथ दाहाल  २०४९ देखि ०५१ सम्म नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार संघ (हालको नेपाल पत्रकार महासङ्घ) का सभापति थिए ।

काठमाडौं । होमनाथ दाहाल नेपाली पत्रकारिता र राजनीति दुवैमा नयाँ नाम होइन । पञ्चायतकालदेखि नेपाली पत्रकारितामा सक्रिय दाहाल  २०४९ देखि ०५१ सम्म नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार संघ (हालको नेपाल पत्रकार महासङ्घ) का सभापति थिए । ०४६ सालमा प्राप्त बहुदलीय व्यवस्था अगाडि वाक् स्वतन्त्रता र बहुदलीय व्यवस्थाको विषयमा लेख्नु मात्रै होइन, बोल्नु पनि ठूलो अपराध करार गरिन्थ्यो । दाहाल त्यहीबेला नै सक्रिय पत्रकार थिए ।

पञ्चायतकालमा ‘दुर्घटनामा ५ को मृत्यु’ भनेर समाचार बनाउँदासमेत ‘श्री ५ महाराजधिराजको मृत्यु’ भयो भनेर समाचार लेख्यो भनेर गिरफ्तार गरिन्थ्यो रे ! यो भोगाइ उनै दाहालको हो । तत्कालीन समयमा पत्रकार गिरफ्तार हुनु सामान्य र स्वाभाविक प्रक्रियाजस्तो मानिन्थ्यो । त्यसमाथि राज्य-सत्तासँग दुश्मनी भए त त्यो पत्रकारलाई परिवारसँगै महत्त्वपूर्ण चाडपर्व मनाउनसम्म दिइन्नथ्यो । राज्यले बदलामा दशैं तथा महत्त्वपूर्ण चाडपर्वमा पक्राउ पूर्जी जारी गर्थ्यो, यसबाट दाहालको पुस्ताका पत्रकारहरू खुबै पीडित हुन्थे ।

दाहाल आफैँ सम्पादक भएको राष्ट्रपुकार साप्ताहिकसँगै अरु ५ वटा साप्ताहिक पत्रिका र तिनका छापाखानासमेत राज्यले बन्द गरेको झल्झली सम्झिन्छन् दाहाल । त्यतिबेला पत्रकार भनेका पञ्चायत विरोधीहरू हुन्, यिनीहरूलाई समात्यो भने राजनीतिक दलहरू डराउँछन् भन्ने जबरजस्त भाष्य सिर्जना गर्न खोज्दै थिए पञ्चहरू । यी यावत् भोगाइहरू दाहाल स्वयम्‌सँग मौजुद छन् ।

त्यसो त दाहालले वर्तमान पत्रकारितामाथि पनि नजर राखिरहेकै छन् । अहिलेको पत्रकारिता-प्रवृत्तिमाथि दाहालसँग केही गुनासाहरू छन् । जो उनी खुलेरै भन्छन् । प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ पारेर कुराकानी गर्न नेपालभ्यूजको टोली उनको घर मैतीदेवी पुग्दा दाहाल उतिबेला चर्चामा रहेको सञ्चार सामाग्रीहरू रेडियो, टेलिभिजन र टेलिफोन नजिकै थिए ।

जसै दाहाल पत्रकारमात्रै रहेनन् । बहुदल प्राप्त भएपछि नेपाली काङ्ग्रेसका तत्कालीन सभापति स्व.कृष्णप्रसाद भट्टराईले उनलाई प्रचारको जिम्मा लगाए । त्यसपछि उनी राजनीतिमा बढी सक्रिय भए । ओखलढुङ्गाबाट चुनाव जितेर उनी २०६१ सालमा कृषि तथा सहकारी मन्त्रीसमेत भए । उनै दाहालसँग विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा पत्रकारिता र राजनीतिक विषयमा कुराकानी गरेका छौँ ।

आज विश्व प्रेस स्वतन्त्र दिवस; नेपालको सन्दर्भमा यसको अवस्था कस्तो पाउनुहुन्छ ?

नेपालमा प्रेस स्वतन्त्र दिवस मनाउन सुरू गरेको म नै सभापति हुँदादेखि हो । त्यसबेला हामीले नयाँ सडकको पिपलबोटमा एउटा साइनबोर्ड राखेर सुरू गरेका थियौँ । त्यसबेला अधिकांश कार्यक्रमहरू त्यही हुन्थ्यो । सम्पूर्ण राजनीतिक गतिविधि पनि त्यही पिपलबोटमा हुन्थ्यो । त्यही अखबार पनि बेच्थे मान्छेहरूले । पञ्चायत विरोध शक्तिहरूदेखि बुद्धिजीवी, सीआईडीसम्म त्यही भेटिन्थे । त्यसैले हामीले पनि त्यहीबाटै सुरू गर्‍यौँ । त्यसबेला अन्य देशहरूमा सुरू भएको केही वर्ष भएको थियो । एकजना मित्र थाइल्यान्ड जानुभएको थियो, त्यहाँ उहाँले देख्नुभएछ र नेपाल आएर ‘हामी पनि गरौँ’ भन्नुभयो, त्यसपछि हामीले सुरू गरेका हौँ ।

नेपालमा यसको अवस्था कस्तो छ भन्नेबारे बुझ्दाखेरि चाहिँ विश्वमा जस्तो छ, करिब-करिब त्यस्तै देखिन्छ । एकातिर प्रेसको स्वतन्त्रता छ, जहाँ जे लेखेपनि हुन्छ र अर्कोतिर चाहिँ कसैको गोपनीयतासमेत नरहनेजस्तो पनि देखिन्छ । मैले नै भन्नुपर्‍यो भने त मैले जुन समयमा पत्रकारिता गर्थेँ, त्यसलाई हेरेर अहिले पत्रकारितालाई नै हल्काफुल्कारूपमा लिएको देख्छु । त्यसको कारण छ, त्यसमा नेपाली पत्रकारहरू नै एकठाउँमा हुन सकेका छैनन् ।

तपाईंको पुस्ताले गरेको पत्रकारिता र अहिलेको नयाँ पुस्ताले गरिरहेको पत्रकारिताबीच के समानता, के भिन्नताजस्तो देखिन्छ ?

फन्डामेन्टल भिन्नताहरू छन् । त्यो के भने ०४६ सालको परिवर्तनको एउटा एजेन्डचाहिँ नेपाल पत्रकार सङ्घले तयार गरेको; किनकी त्यसबेला सोभियत सङ्घ विघटन भइसकेको थियो । त्यसबाट विश्व नयाँ स्वतन्त्रताको युगमा गयो भनेर ठान्यौँ । त्यही आधारमा जानुपर्छ भनेर हामीले त्यहाँ छलफल गर्‍यौँ र प्रस्ताव गरेर त्यसबेलाका शक्तिरहरू कांग्रेस-कम्युनिष्टहरूलाई दियौँ । पछि आन्दोलनका क्रममा त्यसलाई उनीहरूले आफ्नो एजेन्डा बनाए । तर, अहिलेको पत्रकारिताचाहिँ सतहीजस्तो पनि देखिन्छ ।

हामीले त्यसबेला सङ्घ भन्थ्यौँ, अहिले तपाईंहरू महासङ्घ भन्नुहुन्छ । किन त्यसलाई महासङ्घ बनाउनुपर्‍यो ? किन बनाउनुपर्‍यो टुक्रा-टुक्रा ? आफैँ टुक्रा-टुक्रा भएर, विभाजित भएर पत्रकारहरू, पत्रकार सङ्घठनहरू कमजोर भएका छन् । उनीहरूसँग एकीकृत आवाज छैन । यहाँ पत्रकार पनि एमाले, कांग्रेस, माओवादीहरूबाट हुने भन्ने हुन्छ । पहिले त्यस्तो थिएन ।

किन पत्रकारहरूले एकीकृत आवाज निकाल्न सकेनन् ? किन भए कमजोर ?

यसको एउटै कारण भनेको राजनीति हो । म तपाईंलाई स्मरण गराउँछु कि— जब ०४७ सालको संविधान जारी भयो, त्यसपछि म सभापति भएँ । त्यसबेला अमेरिकाबाट केही बुद्धिजीवीहरू आएकका थिए । यहाँ आएर उनीहरूले हाम्रो संविधानले दिएको स्वतन्त्रता र अधिकारका बारेमा प्रशंसा गरेका थिए । मलाई नै सम्बोधन गरेर चिठी लेखेर ‘हाम्रो संविधानले पत्रकारहरूलाई धेरै स्वतन्त्रता र अधिकार दिएको छ भन्ठान्थ्यौँ । तर हाम्रोभन्दा बढी तिम्रो संविधानले दिएको रहेछ’ भनेका थिए । उनीहरूले अब त्यो स्वतन्त्रता र अधिकारलाई कसरी प्रयोग गर्छौ लोकतन्त्र कस्तो हुन्छ भन्ने त्यसमै निर्भर रहन्छ भनेर भनेका थिए । त्यो भनेकोचाहिँ पत्रकार सङ्घलाई मान्थे उनीहरूले । हामी पनि एकैठाउँ थियौँ । तर, अहिले त्यो छैन ।

त्यसपछिका घटनाहरू हेर्‍यौँ भने पत्रकार सङ्घठनहरू झन्‌झनै कमजोर बन्दै गए । उनीहरू छुट्टिँदै गए । पार्टीहरूले, नेताहरूले पत्रकारहरूलाई आफूअनुकूल प्रयोग गर्न थाले । त्यसपछि स्वतन्त्रता पनि फरक-फरक खोज्न थाले । तपाईं पनि एक पत्रकार नै हुनुहुन्छ, तपाईं नै भन्नुस् न— सबैको स्वतन्त्रता र अधिकार त उस्तै, त्यही होइन र ? तपाईं आफैँ पत्रकार हो, तपाईंलाई लागेको कुरा, विकृतिको कुरा, विसङ्गतिको कुरा, भ्रष्टाचार, अनियमितताबारे लेख्नुस् । अनि तपाईंलाई किन चाहियो सङ्गठन ? त्यसैले मैले भनेको कि अहिलेको पत्रकारितामा देशको, जनताको वास्ताविक समस्याको प्रतिबिम्बित हुँदैन ।

तपाईंको पुस्ताले गरेको पत्रकारिता र मेरो पुस्ताले गरेको पत्रकारिता दाँजेर हेर्दा कस्तो देखिन्छ ?

हामीले पत्रकारिता गर्दाका समय एकैदिन ५ वटा अखबार बन्द हुन्थ्यो, त्यस्तो अवस्था थियो । ५ जना पक्राउ परे भनेर समाचार बनाउँदा श्री ५ लाई भन्यो भनेर पत्रकारहरू थुनिनुपर्थ्यो । अहिलेको पुस्ताका लागि त यो इतिहासमात्रै हो । अखबारमात्रै होइन, तिनलाई छाप्ने प्रेसको लाइसेन्स पनि जफत हुन्थ्यो । तिनका कार्यालयहरूमा प्रहरी खटाएर साइनबोर्डहरू फ्याँक्न लगाइँथ्यो । त्यो किसिमको क्रूरताबाट सङ्घर्ष गरेर हामी आयौँ । ३० सालदेखि ०४६ साल अगाडिसम्म यस्ता कुनै वर्षहरू थिएनन्, जुन वर्ष कुनै न कुनै पत्रकारहरू पक्राउ नपरेका होउन् । अहिले त्यो अवस्था छैन । अहिलेको संविधानले पनि दिँदैन । समय पनि बदलिएको छ ।

अघि तपाईंले भन्नुभयो कि पत्रकार र पत्रकार सङ्गठनहरू अमूक पार्टी वा नेताहरूबाट सञ्चालित छन् भनेर, यसले के के घाटा लाग्यो ?

भइरहेको त्यही छ । यहाँ कांग्रेसको छुट्टै पत्रकार सङ्घठन, एमालेको, माओवादीको अलग्गै-अलग्गै पत्रकार सङ्घठनहरू देखिन्छ । त्यसभित्र पनि प्रदेशभित्र छुट्टै सङ्घठनहरू देखिन्छ । जबसम्म यी सङ्गठनहरू अलग्गै-अलग्गैरूपमा रहन्छन्, त्यसबेलासम्म उनीहरू कमजोर नै रहिरहन्छन् । एकठाउँ नहुँदासम्म एकीकृत आवाज निस्कँदैन । त्यसपछि पत्रकारहरूलाई सरकारले, समाजले र सबै तप्काले पत्रकारलाई गम्भीरतापूर्वक सुन्दैन । यसपछि राज्यसत्ता मनोमानी चल्छ, समाज पनि । सबै सबै उस्तै हुन्छ । यही हुन्छ ।

भनेपछि तपाईं यसो भन्दै हुनुहुन्छ कि अहिलेको सत्ता, राज्यव्यवस्था, भूराजनीति सुहाउने पत्रकारिता भएन ?

हो, किनभने पत्रकारहरू नै आफैँ विभाजित छन् । त्यसैले सबै कुरा बिगार्‍यो । हिजो पत्रकारहरू एक थिए र राज्यसत्ता उनीहरूलाई सुन्न बाध्य हुन्थ्यो । तर, आज पत्रकारविरुद्ध पत्रकार नै छन् । एकजना पत्रकारलाई ठेगान लगाउनुपर्‍यो भने कुनै अमूक पार्टी वा नेताबाट अरु पत्रकारहरू, पत्रकार सङ्गठनहरू नै परिचालित हुन्छन् । यस्तो भएपछि पत्रकारिता कहाँ पुग्छ ? त्यसैले अहिलेको सरकार, समाजले पत्रकारहरूलाई गम्भीरताका साथ लिँदैन ।

त्यसो भए वर्तमान राष्ट्रिय राजनीतिसँग सन्तुष्ट हुने ठाउँ छैन ?

मैले मात्रै यसो भनेको होइन, तपाईं आफैँ एउटा पत्रकार हो । हेर्नुस् न अवस्था कस्तो छ ?

पछिल्लो समय शीर्षस्थ नेताहरूले सञ्चारगृहमाथि, पत्रकारहरूमाथि धावा बोल्ने गरेको पनि सुनिन्छ, यसलाई कसरी बुझ्ने हामी आम पत्रकारहरूले ?

जब तपाईं विभाजित हुनुहुन्छ, त्यसपछि अरु पक्षले त मौका पाउने भइहाल्यो नि ! फेरि उनीहरूलाई के थाहा छ भने आफ्ना केही मान्छेहरू छन् त्यो पेशामा, त्यो ठाउँमा । तपाईंसँग लड्नका लागि उनीहरू आफैँ आउन पर्दैन, आफ्नै पत्रकार भिडाइदिए भयो । उनीहरूको सङ्गठन छ, त्यसलाई नै भिडाइदिए भयो । त्यसकारण स्वतन्त्रता भनेको त ‘युनिभर्सल’ हुनुपर्छ । त्यसमा दाँया, बाँया, र, त्यो, तर, वा भन्ने नै हुँदैन । त्यो भयो भने पो समाजले गम्भीरताका साथ लिन्छ । नेताहरूले पनि हामीले गल्ती गर्न थालेछौँ, सच्चिनुपर्छ भन्ने ठान्छन् त । अब तपाईंको खण्डन अर्को कुनै पत्रकारले गर्न थालेपछि नेता किन सुध्रनुपर्‍यो ? त्यसैले मुलुकको यत्रो अव्यवस्था हुनुमा पत्रकारहरू पनि जिम्मेवार छन् । मैले यत्तिका वर्ष सङ्घर्ष गरेँ, तपाईंको पुस्ताका लागि त्यो इतिहास मात्रै हो । यसरी हेर्दै र गर्दै आउँदा त्यही देखियो । मैले अघि नै भनेँ नि, मुलुकमा त्यस्तो अवस्था कमै होला कि ५/५ वटा पत्रिका एकैदिन बन्द हुनुपर्ने । सम्पादक लगेर थुनिनुपर्ने । सम्पादक/पत्रकारहरूलाई सुरक्षा कानूनअन्तर्गत थुनिन्थ्यो, कुनै वर्षहरू थिएनन् जहाँ सम्पादकहरू नथुनिएका होऊन् । त्यो सङ्घर्ष गरेरचाहिँ प्राप्त गरेको स्वतन्त्रता हो नि । अनि आजचाहिँ स्वतन्त्रता भनेको अमूक दललाई, अमूक नेतालाई भनिन्छ । स्वतन्त्रता भनेको टुक्रा-टुक्रा हुन्छ त ?

नेपाली पत्रकारहरूको अन्तिम गन्तव्यचाहिँ राजनीति नै रहेछ होइन ? कृष्णप्रसाद भट्टराईदेखि रवि लामिछानेसम्म आइपुग्दा त्यही देखियो नि ?

मेरो कुरा गर्नुहुन्छ भने पत्रकारिता र राजनीति जेलिएर मेरो जीवनमा गए । मैले पत्रकारिता सुरू गरिसकेपछि त्यो छाडेर पार्टी सङ्गठन बनाउन म जिल्ला-जिल्ला गइनँ । म पत्रिकामै बसेँ । तर, यस्तो स्थिति सिर्जना भयो कि पछि म पार्टीमै आउनुपर्‍यो । पार्टीमा सङ्घर्ष गरेका हजारौँ साथीहरू हुनुहुन्थ्यो । तर सभापतिले किन मलाई नै प्रवक्ता बनाउनुभयो, प्रमुख प्रवक्ता दमनजी र प्रवक्ता म भएँ । भनेपछि मेरो जीवन भन्नुहुन्छ भने पत्रकारिताको आन्दोलन थियो, स्वतन्त्रता थियो । त्यो स्वतन्त्रताभित्र कांग्रेस, कम्युनिष्ट, अरु पनि पर्थे । अब जब तपाईंले आफैँ कमजोर पार्नुभयो, त्यसपछि अरुले त फाइदा उठाउने भइहाले नि ।

भनेपछि पत्रकारिता र राजनीतिबीचको सम्बन्धको कुरा गर्दाखेरि के भन्न सकिन्छ ?

यिनीहरूको उद्देश्यचाहिँ त एकै हुन् । जनताको हित गर्ने, राष्ट्रको स्वाधीनता बचाउने, समाजमा सुशासन; मुख्यगरी त सुशासन नै हो यी दुवैको सन्दर्भमा । जनतालाई सुख-सुविधा दिने । त्यो गर्नका लागि आपसको सहयोग चाहिन्छ । एउटाचाहिँ जब त्यो राजनीतिक दल सत्तामा जान्छ, त्यसपछि चाहिँ अलिक नमिल्न सक्छ र त्यो स्वाभाविक पनि हो । किनकी त्यो सत्तामा गएपछि मनपरी गर्न खोज्छ, प्रेसले त्यसलाई सतर्क गराइरहन्छ । त्यही भएर सत्ता र स्वतन्त्र प्रेसको त द्वन्द्व रहिरहन्छ । त्यसका केही सीमा र मर्यादा हुन्छन् । त्यो अतिक्रमण कसैले पनि गर्नु हुँदैन । तर फेरि पनि राजनीति र पत्रकारिताबीच त अन्योन्याश्रित सम्बन्ध छ ।

हुन्छ तपाईं पत्रकारमात्रै होइन, पूर्वमन्त्रीसमेत हुनुहुन्छ । त्यसकारण मलाई बताउनुस् कि अहिलेको राष्ट्रिय राजनीतिलाई कसरी बुझ्न सकिन्छ ?

अहिले संसारैभर लोकप्रियतावादी राजनीति चलेको छ । त्यहाँ कुनै सिद्धान्त छैन । मान्यतामा चलेको छैन । अमेरिकामा हेर्नुभयो भने त्यही भइरहेको छ, फ्रान्स, बेलायतमा मात्रै होइन, हामीकहाँ पनि त्यस्तै छ । एकातिर त्यो छ भने प्रेस बाँडिनसाथ पार्टीहरूले चाहिँ मनपरी गर्न पाए । जस्तो तपाईं भन्नुस् न देशमा यत्रो ठूलो भ्रष्टाचार छ, तपाईं कल्पना गर्नुहुन्छ, जनता कहाँ छ कहाँ छ । गाउँघरमा गएर हेर्नुभयो भने युवाशक्ति पाइँदैन । जग्गा-जमीन सबै बाँझै छ । उद्योगहरू सबै बन्द छन् । तपाईंको आवश्यकता बढिरहेकै छ । भनेपछि यो स्थिति जहाँबाट सिर्जना भइरहेको छ, यसमा पत्रकारहरू एक भएर सरकारलाई यसरी सजग गराउँदै अगाडि बढ्नुपर्छ भन्ने सोच्यो भने त्यो राम्रो हुन्छ । म पत्रकार साथीहरूलाई के आग्रह पनि गर्छु भने अहिलेको यो भूसंवेदनशीलतालाई कति बुझ्नुभएको छ, त्यसमा अध्ययन गरेर धारणा बनाएर अगाडि बढ्नुस् । पत्रकारले नजानेर/जानेर सानो गल्ती गरेपनि मुलुक असाधारण सङ्कटमा पर्नसक्छ । त्यसैले हामीले यसरी बुझेर राष्ट्रिय राजनीतिका सन्दर्भमा पनि धारणा बनाउन आवश्यक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved