गण्डकी र लुम्बिनीमा कांग्रेस नेतृत्वको सरकार बन्दै, आलोपालोको ‘ग्यारेन्टी’ खोज्दै माओवादी

गण्डकीमा सुरेन्द्रराज पाण्डे र लुम्बिनीमा डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने पक्कापक्की भइसकेको छ ।

नेपालभ्युज

गण्डकी र लुम्बिनीमा कांग्रेस नेतृत्वको सरकार बन्दै, आलोपालोको ‘ग्यारेन्टी’ खोज्दै माओवादी

काठमाडौं । गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार बन्ने भएको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्दैछन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि बिहीबार (आज) अपराह्न ४ बजेसम्मको समय दिएका छन् । गत पुस २५ गते नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितको समर्थनमा मुख्यमन्त्री बनेका नेकपा (एमाले) का नेता खगराज अधिकारी नेतृत्वको सरकार गत वैशाख ९ गते ढलेपछि त्यहाँ कांग्रेस नेतृत्वको सरकार बन्ने भएको हो ।

त्यहाँ कांग्रेस, माओवादी केन्द्रसहित स्वतन्त्र सांसद राजीव गुरुङ ऊर्फ दीपक मनाङेसहितको समर्थनमा मुख्यमन्त्री पाण्डे बन्न लागेका हुन् । उनले केही समयमा मुख्यमन्त्रीको दाबी पेश गर्दैछन् । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७, माओवादी केन्द्रका ७ (सभामुखबाहेक) र मनाङे गरी ३५ सांसद हुनेछन् । सरकार गठनका लागि न्यूनतम ३१ सांसदहरूको समर्थन चाहिन्छ । यसरी हेर्दा पाण्डेको पक्षमा सरल बहुमत पुग्छ ।

त्यहाँ माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने दाबी गरिरहेको थियो । माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका नेता हरिबहादुर चुमानले आफैँ मुख्यमन्त्री बन्नुपर्ने भन्दै ‘लबिङ्ग’समेत गर्दै आएका थिए । तर, त्यो भएन । यद्यपि पनि माओवादी केन्द्रले आलोपालोको ‘ग्यारेन्टी’ खोजेको छ । नेता चुमानले भनेका छन्, “आलोपालोको नीति लिएका छौँ । आलोपालोका लागि लिखित नै गर्नेछौँ ।”

नेता चुमानकाअनुसारकाअनुसार सरकारको दाबीअगाडि लिखित सहमति नै हुनेछ । ‘हामी लिखित सहमति नै गर्ने समझदारी गरेका छौँ,’ उनले भनेका छन् ।

नेता चुमानले आलोपालोको निर्णय केन्द्रबाटै आएको बताए । “यो निर्णय केन्द्रकै हो । यो हुनुपर्छ । लिखित नै सहमति हुनुपर्छ भनेका छौँ,” उनले भने ।

०००

लुम्बिनी प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार बन्दैछ । मुख्यमन्त्रीका रूपमा लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी हुनेछन् ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि बिहीबार दिउँसो ४ बजेभित्र दाबी पेश गर्न समयसीमा दिएपछि कांग्रेसले दाबी पेश गर्न लागेको हो । दाङ क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित चौधरीले कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादीलगायतको समर्थनमा दाबी पेश गर्न लागेका हुन् ।

गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुने भएको हो ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । त्यहाँ कांग्रेसका २७, माओवादी केन्द्रका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४/४, जनमत, जसपा र लाेसपाका ३/३ र राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १/१ सँगै एक स्वतन्त्र छन् ।

११ सिट भएको माओवादी केन्द्रले आलोपालोको ‘ग्यारेन्टी’ नै खोजिरहेको छ । माओवादी केन्द्रका सांसद धनबहादुर मास्की भन्छन्, “प्रदेशमा सुरूमा कांग्रेसले मुख्यमन्त्री पाउने र आधा कार्यकालपछि माओवादी केन्द्रले पाउने भन्ने सहमति हुन्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved