एउटा टेलिभिजनकर्मीले बजाएको त्यो ‘घण्टी’ !

एउटा टेलिभिजनकर्मीले बजाएको त्यो ‘घण्टी’ !

२०७९ असार १ गतेसम्म कार्यक्रम प्रस्तोता र टेलिभिजनको प्रबन्ध निर्देशकसमेत रहेका रवि लामिछानेले आफ्नो पत्रकारिताको यात्रामा ‘ब्रेक’ लगाउँदै राजनीतिमा फड्को मारेका थिए। टेलिभिजनमा २०७९ असार १ गतेबाट सम्झौता नवीकरण नगरेका उनले असार ७ मै राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेर सभापति बने।  टेलिभिजनमा उभिएर नेपाली राजनीति फोहोर भयो भन्दै  राजनीतिक दलका नेतालाई उछित्तो काढ्ने रवि अन्ततः आफैं राजनीतिको फोहोरमा हामफाले।

सुरुवाती दिनमा रविको पार्टी घोषणा र राजनीतिक यात्रालाई खिसिट्युरी गर्दै ‘मजाक’गर्ने दलका नेतालाई पार्टी घोषणाको ५ महिनामा पाएको सफलतापछि ‘उपप्रधानसहित गृहमन्त्री’ दिन्छौं भन्ने अवस्थामा पुर्‍यायो।

मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा रवि आफैंले एमाले र कांग्रेसका उम्मेदवारलाई चितवन-२ बाट  ‘लज्जास्पद’ हार चखाउँदै तेब्बर बढीको मतान्तरले हराए। रविसँगै उनको पार्टीले प्रतिनिधिसभामा २० सांसद पुर्‍याए। राजनीतिभित्रको फोहोर सफा गर्न राजनीतिकै पोखरीमा पौडी खेल्न पुगेका रविलाई उपप्रधानसहित गृह र बाँकी ३ मन्त्री तथा एक राज्यमन्त्रीसहित सरकारमा सहभागी गराउन पुराना दल बाध्य भए।

तर, आफ्नै कारण सत्तारोहणको ३२औं दिनमा रवि लामिछाने एकाएक सत्ता र संसद बाहिर पुगे । नागरिकतासम्बन्धी विवादमा अदालतको फैसला उनको विपक्षमा आएपछि केही दिन उनी मौन बसे र एकाएक पत्रकार सम्मेलनमार्फत पुनः लडाईंमा जाने भन्दै धमाकेदार ‘इन्ट्री’ गरे। त्यसमा उनले नेपाली मिडियामा सिन्डिकेट रहेको र आफूलाई लखेट्न ‘१२ भाइ’ लागेको भन्दै गुनासो सहितको झटारो फ्याँके ।

२०७९ पुस ११ मा उपप्रधानसहित गृहमन्त्रीमा शपथ लिएका लामिछानेको मन्त्रीसँगै सांसद र पार्टी सभापतिको पद माघ १३ मा सर्वोच्चको फैसलापछि खारेज भयो। उनले त्यसलाई आफू ‘अनागरिक’ भएको प्रतिक्रिया दिए । तर,माघ १५ मा नेपाली नागरिकता पुनः प्राप्तिको निवेदन दिएर प्राविधिक पक्ष मिलाएपछि उनि पुनः पार्टी सभापतिमा पुनर्वहालीसहित उपचुनावको तयारीमा लागे।

तर, उनको नागरिकता विवादलाई मुख्य कमजोरी देखाएर ठूला भनिएका कांग्रेस, एमाले र माओवादी नामका राजनीतिक दलका नेताकार्यकर्ताले रविको छवि र राजनीति सकिएको व्याख्या गर्न थाले। राजनीति सफा गर्न आएको व्यक्ति आफैं फोहोरमा डुबेको जस्ता आरोप लागिरहँदा रविले उपनिर्वाचनको तयारी र त्यसका लागि उपर्युक्त पात्रको खोजीसमेत गरेको देखियो। तनहुँ १ बाट उपनिर्वाचन जितेका अर्थविद डा.स्वर्णिम वाग्ले यसैको प्रमाण हो।

पार्टी स्थापनाको ६ महिनामै सत्तामा पुगेको र सत्तामा पुगेको ४० औं दिनमा सरकार छाडेर निस्किएको रास्वपा र यसको नेतृत्वलाई ‘चटके’ ‘खहरे खोला’ ‘फन्टुस’ जस्ता नाम दिइयो। सरकारबाट बाहिरिएको कुरालाई कमजोरी नदेख्न चेतावनी दिएका रविले उपनिर्वाचनमा त्यसको पुष्टि गरिदिए ।

उपनिर्वाचन भएका ३ क्षेत्रमध्ये २ क्षेत्रमा शानदार जित निकाल्दै रविले संसदमा आफूलाई पुनः ‘कम्ब्याक’ गराए। नेकपा स्थापनाको ७५औं वर्ष मनाइरहेका एक दर्जन नेपाली कम्युनिस्ट नामधारी पार्टी र सबैभन्दा पुरानो दल भनिरहेको नेपाली कांग्रेस पार्टीलाई एउटा टेलिभिजन छाडेर राजनीतिमा आएको केटोले यसरी ‘घण्टी’ बजाइदेला भन्ने अनुमानसम्म पनि थिएन।

संयोग नै भनौं कम्युनिस्ट पार्टी स्थापनाको ७५औं वर्षगाँठ मनाइरहँदा खुल्लामञ्चदेखि पार्टी कार्यालयमा भएका सभा र गोष्ठीमा बोल्ने अधिकांश नेताले त्यै टेलिभिजनबाट राजनीतिको ‘घण्टी’ बजाउन आएको केटोलाई नै लक्षित गरेर ‘फन्टुस’ भनिरहेका थिए। त्यै ‘फन्टुस’ भनिएका पत्रकार उता चुनावी अभियानमा जनतासँग ‘घण्टी’ बजाएर भोट माग्दै थियो।

एकातिर सत्ता, पैसा र शक्ति अर्कोतिर लाखौं कार्यकर्ता भएर पनि कांग्रेस, एमाले र माओवादी केन्द्रले एउटा ‘फन्टुस’ले बजाएको घण्टीको आवाजलाई रोक्न सकेन । उल्टै ७० वर्ष पुरानो भनिएको पार्टी र पार्टी जत्तिकै पुराना नेतालाई त्यै घण्टीले राजनीतिमा सच्चिने की सक्किने ? वा विश्राम कि विर्सजनको अवस्थामा पुर्‍याउने संकेत दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved