ब्लग

वैशाख १२ को सम्झना : ७.९ म्याग्निच्युटको कम्पनमा पाँचौं तलाको स्टुडियोबाट बोल्दा

मसहित कतिपय साथीको घर भत्किएको थियो। कतिपयले आफन्त गुमाएका थिए। त्यो त्रासदीमा घर परिवारको तनावलाई बिर्सँदै म र रेडियोका टिमले दिनरात खटेर जनतालाई सुसूचित गराइरह्यौँ। जस्तोसुकै संकटमा पनि आममानिसलाई सूचनाको हकबाट वञ्चित नगराउने आफ्नो इतिहास महाभूकम्पमा पनि कायम राख्न सफल भयौँ।

वैशाख १२ को सम्झना : ७.९ म्याग्निच्युटको कम्पनमा पाँचौं तलाको स्टुडियोबाट बोल्दा

म काठमाडौंको ‘क्यापिटल एफएम’ मा मध्यान्न १२ बजेको समाचार तयार गर्दै थिए। हेडलाइनसमेत फाइलन गरी समाचार प्रिन्ट हुँदै थियो। १२ बजेअघिको कार्यक्रम सकिएको थियो। गीत बजिरहेको थियो। समाचार कक्षका हामी व्यस्त थियौँ, म समाचार पढ्न स्टुडियो छिर्ने तयारीमा थिए। अचानक काम गर्दै गरेको कम्प्युटर ढल्यो। समाचार प्रिन्ट हुँदै गरेको प्रिन्टर टेबुलबाट तल झर्‍यो।

अहो ! भुइँचालो पो गएको रहेछ। घडीमा ११ बजेर ५६ मिनेट गएको थियो। सबै जना चिच्याएका सुनियो। नयाँबानेश्वर थापागाउँस्थित एक घरको पाँचौं तलामा समाचार कक्ष थियो। भवन हल्लिरहेको थियो। के गर्ने, कसो गर्ने अलमल र अन्योलमा थिए। हल्लिरहेको घरको झ्यालबाट तल हेरेँ।

सबै तल सडकमा पुगिसकेका रहेछन्। मलाई भने ‘विपद्को बेला आम नागरिकलाई सूचना प्रवाह गर्नु सञ्चारकर्मीको दायित्व हो। सहज अवस्थामा त जसले पनि काम गर्छ। विपतमा सूचना दिनु पो ठूलो हो भन्ने लाग्यो।’

जे त होला होला, अब रेडियोमा भूकम्पको जानकारी दिनुपर्छ भनेर हल्लिरहेको भवनको न्युज रुमबाट स्टुडियोतर्फ लागेँ। भवन अग्लो थियो, भूकम्प प्रतिरोधी हो वा होइन थाहा थिएन। तर, पनि आँट गरेर कम्पनमा लरबरिँदै पुगे। भित्ता समाउँदै रेडियोको मास्टर कन्ट्रोल रुमभित्र पसेँ। भूकम्पको कम्पनसँगै स्टुडियो छिर्दा भूकम्पको कम्पन जारी थियो। छैटौँ तल्लामा पुग्दा तल भन्दा बेसरी हल्लिरहेको थियो।

अफिसको अग्लो भवन बाँस हल्लिएझैँ हल्लिँदै थियो। भूकम्पले अरू कम्प्युटर ढलाए पनि, स्टुडियोमा कुनै क्षति भएको रहेनछ। गीत बजेर सकिएर स्टेसन आइडी बजिरहेको थियो। प्राविधिक मित्र पवन फुयाँल भागिसकेका रहेछन्। सबैजना डराएर लाखापाखा लागिरहेका बेला उनी मात्र किन बस्थे र १ म मिक्चरमा गएर फेडर अन गरे। पारदर्शी सिसा पारी स्टुडियो छिरे। र बोल्न थाले। ‘अहिले भर्खरै निकै शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। कति म्याग्निच्युटको हो ? कहाँ-कहाँ कति क्षति भयो त्यो आउन बाँकी छ। तपाईंको तीर महसुस भयो वा भएन ? के-कस्ता क्षति भए जानकारी गराउनुहोस्’ यसरी मैले स्टुडियो टेलिफोन नम्बर दिएँ।

भूकम्पको धक्का केही रोकिएको जस्तो भान भयो। मैले नम्बर दिनासाथ स्टुडियोको फोन बज्न थाल्यो। तर, प्राविधिक तल भागिसको थिए। फोन उठाउने मान्छे भएन। मेरो साथमा मोबाइल थियो। मैले स्रोताहरूको लागि फोन गर्न मेरै मोबाइल नम्बर दिए। लगतै मेरो मोबाइलमा घण्टी बज्न थाल्यो। मैले ‘हयाण्ड्स फ्री’ गरेर श्रोतासँग कुरा गर्न थाले।

धेरै ठाउँमा ठूला-ठूला घर भत्किएका, पहाड खसेको तथा धेरै जना सम्पर्कविहीन भएका र मानिसहरू पुरिएका जानकारी पाएँ। त्यसपछि मात्र मलाई लाग्यो यो भूकम्प चानचुने होइन रहेछ। भूकम्पले निकै ठूलो क्षति पुर्‍याएको रहेछ भन्ने थाहा पाए। बोल्दै स्टुडियोको कम्प्युटरमा हेरेँ। भूकम्प ७।९ म्याग्निच्युटको रहेछ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीलाई फोन गरे। उनले गोरखाको बारपाक केन्द्र बनाएर भूकम्प गएको सुनाए।

मैले त्यहाँ आएका जानकारी श्रोतालाई दिएँ। भूकम्प धक्का पटक-पटक आइरहेको थियो। एक दुई मिनेटको अन्तरमा स–साना कम्पन भइरहेका थियो। म विभिन्न ठाउँमा भएको क्षतिको विवरण स्रोतामार्फत नै लिँदै थिएँ। ‘कम्पन गइरहेको हुनाले तपाईं खुला ठाउँमा गएर सुरक्षित बस्नुहोला पनि’ भन्दै थिएँ।

तर, म स्वयम् ६ तले भवनको पाँचतलामा रहेको स्टुडियोमा असुरक्षित थिएँ। भूकम्पपछि अलमलिएका र आत्तिएका सर्वसाधारणलाई रेडियोबाटै सजग र आश्वस्त पार्ने प्रयास गरेँ। मैले केही कुरा भन्नै लाग्दा हल्लाउँथ्यो। स्रोतालाई जानकारी गराउन छाडेर ज्यान नै ठूलो भन्दै भाग्न मन लाग्थ्यो। ल अबचाहिँ मरिने भइयो भन्ने मनमा डर लाग्थ्यो। एक–दुई पटक त कानमा लगाएको हेडसेट फुत्त झिकेर उठेर एक दुई पाइला भाग्नै लागेको थिएँ। कम्पन रोकिन्थ्यो। म फेरि उही कुर्सीमा बसेर श्रोतासँग कुरा गर्न थाल्थेँ। धरहरा खसेको सूचनाले तनाव बढ्यो। त्यसपछिको पलपलको दु:खद् समाचारले महाभूकम्पले त ठूलो विनाश ल्याएको पुष्टि हुँदै गयो।

भूकम्पले ज्यान गुमाउनेहरूको थुप्रै सूचना दिइयो। मृतकको परिवारको व्यथाहरू खोजियो। घाइतेहरूको रिपोर्टिङ गरियो। भूकम्पपछि उब्जिएका दुःखद जीवनको जानकारी गराइयो। रेडियोलाई एक्लै ‘टेक ओभर’ गर्दा अफिसमा रहेका सबै सहकर्मी आत्तिएका थिए। भूकम्प गइरहँदा सबै जना सडकमा झरेर रेडियो सुनिरहेका रहेछन्।

प्राय: रेडियो बन्द भएका थिए। तर, मैले हाम्रो रेडियोको प्रसारण रोक्न दिइन। अरूभन्दा फरक हुने मेरो हठले हो या आत्मविश्वासले आँट दियो। म लगातार थप सूचना र जानकारी बटुल्दै, प्रसारण गर्दै थिए। पछि प्राविधिक साथी पवन फुयाँल, उज्ज्वल प्याकुरेल समाचार कक्षका साथी विष्णु विवेकलगायत आएर मलाई साथ दिए। उनीहरूले सूचना बटुल्थे। मलाई दिन्थे। संकटको त्यो क्षणमा म स्रोतालाई जानकारी गराउँथे।

जोखिमको सामना गर्न नसकेर कतिपय व्यक्तिहरू जिल्ला नै छाडेर सुरक्षित स्थान खोज्दै हिँड्ने तयारी गरेका थिए। तर, मैले मानिसहरू धरमराइरहेका बेला मनोबल उच्च बनाउँदै कामलाई निरन्तरता दिइरहेँ। मसहित कतिपय साथीको घर भत्किएको थियो। कतिपयले आफन्त गुमाएका थिए। महाभूकम्पको त्रासदीमा घर परिवारको तनावलाई बिर्सँदै म र रेडियोको टिमले दिनरात खटेर जनतालाई सुसूचित गर्ने काम गयौँ। जसकारण जस्तोसुकै संकटमा पनि आममानिसलाई सूचनाको हकबाट वञ्चित नगराउने सो रेडियोले आफ्नो इतिहास महाभूकम्पमा पनि कायम राख्न सफल भयो।

त्यो दिन विस्तारै प्राविधिक र अरू सहकर्मीहरू जम्मा हुँदै गएपछि कार्यक्रम चलाउन सहज भयो। धेरै सञ्चारमाध्यममा प्रसारण रोकिएको समयमा मैले हाम्रो रेडियोको प्रसारणलाई निरन्तरता दिएँ। त्योभन्दा पनि उच्च जोखिम मोलेर सूचना र जानकारी दिएँ।

रेडियो प्रसारण सञ्चालक समितिका अध्यक्ष प्रकाश पौडेल तथा सदस्यहरू व्याकुल पाठक, सुशील राउत र स्टेसन म्यानेजर विमलकुमार थापा मप्रति धेरै खुसी हुनुभयो। मलाई उहाँहरूले धेरै धन्यवाद दिनुभयो। ‘थ्याङक यु श्यामजी रेडियोलाई टेकओभर गरेकोमा’ सञ्चालक समितिका सदस्य पाठकले आभार प्रकट गर्दै भने। स्वविवेकले रेडियोलाई नियन्त्रण लिएकोलाई ‘टेकओभर’ भनिँदोरहेछ।

त्योबेलाको मूलधारका सञ्चारकर्मीहरूको अहोरात्र खटाई र सूचना प्रवाहले भूमिकाले सारा नेपालीको छाती पग्लियो। त्यत्तिबेला तुलनात्मक रूपमा सबैभन्दा सशक्त र प्रभावशाली माध्यम बनेको थियो, रेडियो। रेडियोकर्मीहरूको भूमिकाले नेपाली सञ्चार क्षेत्रको सम्मानलाई थप उँचो बनायो। बरु भारतीय मिडिया नेपाली मिडियाको तुलनामा कति कमजोर रहेछ त्यत्ति बेलाका घटनाहरूले प्रस्ट पारे। व्यावसायिकतामा फड्को मार्न नसकेको भए पनि पत्रकारिताको धर्मलाई नेपाली मिडियाकर्मीहरूले छाडेनन्। यो नयाँ पुस्ताका लागि विशेष गरी मिडियाकर्मीका लागि गौरव र ऐतिहासिक कुरा थियो।

सबैले धन्यवाद दिएपछि मात्र मलाई थाहा भयो ‘कत्रो साहस जुटाएर कसरी हिम्मत गरेछु’ भन्ने। परिवारभन्दा कर्तव्य प्यारो भूकम्पले हजारौँको ज्यान भएको थियो। हजारौँ घाइते थिए। धेरै संरचना ध्वस्त थिए। ठूलो मानवीय सङ्कटको अवस्था थियो।

भूकम्पको कम्पन पटक-पटक गइरहेको थियो। दुई तीन दिनसम्म त अग्लो भवनबाटै भूकम्पसम्बन्धी जानकारी दियौँ। त्यो समय रेडियो नेपाल, रेडियो अन्नपूर्ण नेपाललगायत दुई तीन वटा मात्र रेडियो सञ्चालन थिए। अधिकांश टेलिभिजन बन्द थिए।

कान्तिपुरलगायत केही दैनिक पत्रिका ८ पेजमा खुम्चिएका थिए। अनलाइन न्युज पोर्टलहरू अहिलेका जस्ता छ्यापछ्याप्ती थिएनन्। एकाधबाहेक अरू बन्द जस्तै थिए। आमनागरिकको लागि विपद्को समयमा रेडियो नै सबैभन्दा सहज समाचार माध्यम रहेछ भन्ने त्यो क्षणबाट थाहा पाएँ। आमनागरिकको लागि रेडियो मात्र भूकम्पको सूचना थाहा पाउने भरपर्दो र एक मात्र माध्यम बनेको थियो। रेडियोभन्दा छिटो समाचार दिनसक्ने अनलाइनले निकैपछि मात्र समाचार प्रकाशित गरे।

नुवाकोटमा रहेको मेरो घर पनि भूकम्पले भत्किएको थिए। मेरा परिवार पनि त्रिपालमा बस्न विवश थियो। केही बिरामी भएका थिए। तर, मैले आफ्नो आम जनतालाई सूचना दिने मूल दायित्वलाई प्राथमिकता दिएर सुरक्षाकर्मीझैँ कार्यक्षेत्रमै निरन्तर खटिएँ।

कहाँ कति क्षति भयो ? घरपरिवारमा के भयो ? भन्ने जस्ता जिज्ञासा मेट्न हाम्रो प्रसारणले धेरैलाई मानसिक राहत दियो। पेसाप्रतिको दायित्वबोधकै कारण होला, आफ्नै घर भत्किएको खबर आए पनि, घर नगई सूचना प्रवाह गर्न हामी व्यस्त भयौँ। विपदमा अपनाइएको त्यो संयमय, साहस र होसियारीपूर्ण प्रस्तुति तथा अथक र निरन्तर मेहनतको दर्शक श्रोताले प्रशंसा गर्दा गर्वले छाती फुल्यो।

सरकार र जनताबीच पुल उच्च जोखिमबीच दुई–चार दिन हामीले छैटौँ तलाबाटै सूचनाहरू दियौँ। त्यसपछि हामीले नजिक एक पार्टी प्यालेसमा मिक्चर्स, माइक, हाइव्रिटलागायत रेडियो प्रसारणका आधारभूत सामग्री लग्यौँ। त्यही खुला ठाउँबाट आम स्राेताका लागि सूचना, सन्देश र जानकारी दिन थाल्यौँ। भूकम्पपछि उद्धार र राहतलगायत विपद् सुरक्षा सम्बन्धी जानकारी दिइरहेका थियौँ। उद्धारका लागि समस्या भएका सूचना दिन्थ्यौँ। राहत नपुगेका ठाउँबाट फोन आउँथे। हामी त्यहाँ गएर राहत वितरण गर्न आग्रह गर्थ्याेँ।

राज्यका अत्यावश्यक सेवा क्षेत्रले लिएको अग्रसरता र विभिन्न ठाउँका सर्वसाधारणबाट स्थानीय वस्तुस्थितिको अपडेट लिएर हामी राज्य र जनताबीच पुल बन्ने प्रयास गर्‍यो। भूकम्पपछिको क्षतिको विवरण, उद्धार, पीडितहरूको अवस्था र राज्यका निकायलाई उत्तरदायी बनाउन हामीले रातभर नसुती कार्यक्रम चलायौँ। ‘अहिलेको जमानामा रेडियो कसले सुन्छ र’ भन्ने हल्का प्रतिक्रिया दिने सहरवासीको माझ गुमेको साख हामीले पुनर्स्थापना प्रयास गर्‍यो।

खुला ठाउँबाट भूकम्पसम्बन्धी जानकारी प्रसारण गरिरहँदा एक जना पाका उमेरका मानिस आइपुगे। हामीलाई हेर्दै उनले दुई हात जोडेर भने, ‘तपाईंहरूलाई धेरै धेरै धन्यवाद, तपाईंहरूले धेरैको ज्यान बचाउनुभयो। भूकम्प गएदेखि नै तपाईंको रेडियो सुनेर बसिरहेका छौँ।’ त्यो समयमा म निकै खुसी लाग्यो। प्रतिक्रियाहरू त पहिल्यै फोनबाट आइरहेका थिए।

प्रत्यक्ष भेटेर कसैले प्रशंसा गर्दा गर्वले छाती फुल्यो। पत्रकारितामा दुःख जति बिकाऊ अरू हुँदैन। साहित्यमा पनि आँसु बढी बिक्छ। पत्रकारितालाई हतारको साहित्य पनि भनिन्छ। विपदको समयमा नकारात्मकताले बढी स्पेस पाइरहेकोजस्तो भान भएको थियो। तर, हामीले रेडियो तरङ्गमार्फत सकारात्मक ऊर्जा प्रवाहका लागि प्रेरणादायी प्रसङ्ग, सन्दर्भ र व्यक्तिलाई प्रस्तुत गरेर भूकम्प पीडितहरूलाई ऊर्जा दिने प्रयास गरेका थियौँ।

तीन-चार दिनसम्म त खाने–सुत्ने समय र ठाउँको पनि ठेगान थिएन। तैपनि हामी आमजनतामाझ सूचना पुर्‍याइरहेका थियौँ। भूकम्प प्रभावित जिल्लाका रेडियो स्टेसनका भवन भत्किएका थिए। कम्प्युटरलगायतका सरसामग्री पुरिएका थिए। यस्तो अवस्थामा पनि ती रेडियो स्टेसन प्रसारण हुने अवस्था थिएन।

कतिपयले पालमुनी र खेतबारीबाट समेत आफ्नो प्रसारण सुरु गरेका थिए। गाउँका रेडियो बन्द भएका कारण अरू समयमा नसुनिने ठाउँमा समेत हाम्रो प्रसारण सुनिएको थियो। त्यति बेलामा निकै टाढा टाढाबाट समेत स्रोताको फोन र एसएमएस आएका थिए। अहिलेसम्म पनि ती फोन र एसएमएसका रेकर्ड मैले सुरक्षित राखेको छु।

मेरो रेडियो पत्रकारितामा सबैभन्दा ठूलो परीक्षा सायद त्यही थियो। जसमा म आफ्नो हेराइमा र अरूको मूल्यांकनमा पनि पास भएको ठान्छु। केही दिनपछि रोकिएको आफ्नो प्रसारण केही टेलिभिजनहरूले सडकबाट र खुला चौरबाटै सुरु गरे। कतिपयले अस्थायी स्टुडियो बनाएर वा कतिपयले खुला ठाउँमै विपद्को बेला टेलिभिजन चलाए।

तर, सबै टहरा र पालमुनि बसेको बेला टेलिभिजन हेर्न मुस्किल थियो। भूकम्पको त्यो बेला रेडियो मात्र सूचनाको भरपर्दो माध्यम बन्यो। मोबाइल चार्ज गर्न त समस्या परेको बेला अनलाइन र सामाजिक सञ्जाल हेर्न सकिँदैन थियो। यस्तो बेला भूकम्पपछि उद्धार र राहतलगायत विपद् सुरक्षासम्बन्धी जानकारी पाउने प्रमुख माध्यम रेडियो नै थियो।

लेखपढ गर्न नसक्ने र नजान्ने, टेलिभिजन र मोबाइलको पहुँच नहुने अनि कामबाट फुर्सद निकाल्न नसक्नेलाई सूचना र मनोरञ्जन दिने काममा रेडियो अब्बल सञ्चारमाध्यम हो। तर, त्यो विपद्को समयमा सबैका लागि एक मात्र भरपर्दो समाचार माध्यम रेडियो बनेको थियो।

आपदविपद र अरू महत्त्वपूर्ण घटनाको बेला सही सूचना र जानकारी सही बेला दिने काममा अरू आमसञ्चार माध्यमभन्दा रेडियो अगाडि देखिएको छ। रेडियोको लोकप्रियता तथा प्रभावकारिता घटेको भन्नेलाई आपतविपद्को समयमा आमजनताप्रति रेडियोले निर्वाह गरेको दायित्वले गतिलो जवाफ दिने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved