मानिसको मष्तिष्कले गर्ने रचनात्मक तथा सृजनात्मक कामहरू मेसिनमार्फत् विशेषतः कम्प्युटर प्रणालीमार्फत् गर्ने, गराउने प्रविधिलाई ‘कृत्रिम बौद्धिकता’ अर्थात् आर्टिफियिस इन्टिेलिजेन्स ( एआई ) भनिन्छ ।
‘एआई’ को प्रयोग र महत्त्व दिन प्रतिदिन बढ्दै गइरहेको मात्र छैन, यसका नयाँनयाँ परिमार्जित र अत्याधुनिक संस्करण समेत विकसित हुँदै गइरहेका छ । ‘च्याट जिपिट’ र ‘अल आर्ट’ त्यसका पछिल्ला उदाहरणहरू हुन् ।
‘एआई’ का जनक अमेरिकी कम्प्युटर तथा संज्ञान वैज्ञानिक जोन म्याकर्थीलाई मानिन्छ । उनले पहिलोपटक सन् १९५५ मा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ शब्द क्वाइन गरेका थिए ।
‘एआई’ विज्ञान तथा प्रविधिको त्यो शाखा हो, जसको उद्देश्य मानव मष्तिष्कले गर्ने बौद्धिक कामहरूलाई सहज बनाइ मानवीय श्रम बचत तथा परिणाममा प्रभावकारिता हासिल गर्नु हो । यसले मानव तथा विभिन्न जिवजन्तुहरूको प्राकृतिक तथा संज्ञानात्मक क्षमताको यन्त्रिक उपयोग गर्दछ । यसले बाह्य जगतबाट विभिन्न तथ्यांकहरू लिने र त्यसलाई कुनै निश्चित उद्देश्यसँग तादम्य हुने गरी परिशोधन, परिमार्जन तथा अनुकुलन गर्ने क्षमता राख्दछ ।
कम्युटरमार्फत् प्रयोग गरिने विभिन्न प्रकारका ‘कम्प्युटेसन’ मात्र कृत्रिम बौद्धिकता हैनन, यी विभिन्न प्रकारका यन्त्र, उपकरण र मेसिनमा समेत प्रयोग भएका हुन्छन् । यसको प्रयोगले मेसिनहरूलाई ‘अटोमेसन’ क्षमता प्रदान गर्दछ । जस्तो कि– वासिङ मेसिन कपडा धोइसकेपछि आफैँ बन्द हुन्छ र काम सकिएको सूचना दिन्छ भने त्यो पनि एक प्रकारले कृत्रिम बौद्धिकता नै हो ।
यस प्रकारका कृत्रिम बौद्धिकताहरू धेरै प्रकारका मेसिनमा प्रयोग भएका हुन्छन । हवाई जहाजदेखि, ड्राइभरबिनै चल्ने कारहरूमा प्रयोग हुने प्रविधि पनि यही हो । मेकानिकल साइन्सका अतिरिक्त रोबोट विज्ञानमा समेत यसको व्यापक प्रयोग हुन्छ । शिक्षा, स्वास्थ्य, बैकिङ, वीत्त र प्रशासनिक सेवा प्रणालीमा ‘एआई’ को व्यापक प्रयोग हुँदै गएको छ ।
तर, कृत्रिम बौद्धिकताको पछिल्ला र विकसित संस्करणले भने मानिसले सोची/सम्झी गर्नुपर्ने विश्लेषण तथा रचनात्मक सृजनाजस्ता कयौं कामहरू पनि कम्प्युटर प्रणालीले नै गर्न सक्नु हो । जस्तो कि— कसैलाई कुनै विषयमा निबन्ध वा कुनै परियोजनाको प्रस्तावना लेख्नपर्यो, च्याट जिपिटमा गएर माग्नेबित्तिकै त्यो आउँछ । त्यसका लागि घन्टौं मष्तिष्क खियाइरहनु नै पर्दैन ।
सन् १९५० को दशकबाट विभिन्न प्रकारले एआईको प्रयोग हुन थालेका थिए । तर, सन् १९७० को दशकमा आएर यसलाई विज्ञान र प्रविधिको एक भिन्नै शाखाका रूपमा मान्यता दिन थालियो । त्यसपछि त विकसित देशहरूले ‘एआई’ को अनुसन्धान, विकास र विस्तारमा योजनाबद्ध लगानी नै गर्न थाले ।
सन् १९८१ मा जापानले ‘फिप्थ जेनेरेशन’ नामको योजना सुरू गर्यो । बेलायतको ‘एल्वी’ र युरोपेली संघको ‘एस्प्रिट’ त्यस्तै योजना थिए । सन् १९८३ मा निजी क्षेत्रका कम्पनीहरूको सहकार्यमा ‘माइक्रो इलेक्ट्रोनिक्स एण्ड टेक्नोलजी’ नामक संस्था बन्यो । एआईको निरन्तर तथा तीव्रतर विकासले मानव समाजलाई सहयोग मात्र गरेको छैन, चिन्तिसमेत तुल्याएको छ । कतिपय वैज्ञानिक तथा सार्वजनिक बौद्धिकहरूले यो चिन्ता व्यक्त गरेका छन कि एआईको विकासले मान्छेको रचनात्मक क्षमता र प्राकृतिक स्वभावमै भिन्नता आउने त हैन ?
मान्छे अप्राकृतिसँगसँगै अमानवीय हुँदै जाने त हैन ? मान्छेले कुनै दिन यस्तो ‘अतिमानव’ को सामना र त्यससँग प्रतिस्पर्धा गर्नुपर्ने त हैन, जो स्वयं मानवताविरुद्ध लक्षित होस् ?
यदि कुनै एआईले मानव मष्तिष्कको क्षमता र रचनाशीलतालाई चुनौती दिन सक्दछ भने त्यसले कुनै दिन मान्छेको अस्तित्वलाई नै चुनौती नदेला भन्ने के ग्यारेन्टी छ ? यस्तो नहोस् भन्नाका लागि एक त्यस्तो नियमक अन्तर्राष्ट्रिय संस्थाको आवश्यकताबोध भइरहेको छ कि एआईको विकास र उपयोग अनियन्त्रित र अस्वस्थ्य नहोस् । एआईले परमाणु, रासायनिक तथा जैविक हतियारको जस्तो घातक काम गर्न सक्ने सम्भावना नहोस् ।
अर्काथरि विद्वान् भने ‘एआई’ बाट आत्तिन वा भयभित हुन जरुरी नभएको ठान्दछन् । हो, यसको अत्याधिक प्रयोगले मानिसको क्रियाशीलता र रचनात्मक क्षमतामा ह्रास आउन सक्दछ । तर, यो आफैँमा एक प्रविधि भएको हुँदा मानवीय नियन्त्रणभन्दा बाहिर गएर मान्छेलाई नै क्षति पुर्याउन भने सम्भव नभएको उनीहरूको तर्क छ ।
Facebook Comment
Comment