पोखराका यात्रुलाई तुँवालोको मार, उडान तालिकाभन्दा २४ घन्टा पछाडि उड्दै जहाज

आठ दिनमा १२० बढी उडान प्रभावित, बुकिङ धमाधम रद्द

नेपालभ्युज

पोखराका यात्रुलाई तुँवालोको मार, उडान तालिकाभन्दा २४ घन्टा पछाडि उड्दै जहाज

पोखरा। चार दिनअघि ४० जना पर्यटकले लेकसाइडको कुटी रिसोर्ट बुक गरेका थिए। पछि उनीहरूले बुकिङ रद्द गराए। ‘‘अहिले होटलका कोठा सबै भरिभराउ हुनुपर्ने बेला हो,’ रिर्साेटका सञ्चालक निराशा व्यक्त गर्दै भन्छन् ‘‘एक सातायता उडान अवरुद्ध हुन्दा धमाधम बुकिङ क्यान्सिल भएपछि व्यवसाय पनि चौपट भयो।’’

लेकसाइडस्थित होटल ल्यान्डमार्कले मात्र यो एक सातामा कम्तिमा दुई सय ५० जनाको बुकिङ गुमायो। अग्रिम रूपमा होटलका कोठा बुकिङ गरेका विदेशी र आन्तरिक पर्यटक पोखरा आउन नसक्दा ठूलो नोक्सान खेप्नुपरेको होटल सञ्चालकको भनाइ छ।

ती ग्राहक गुमाउँदा कम्तिमा ३० लाख रुपैयाँ नोक्सान खेप्नुपरेको होटल सञ्चालकको गुनासो छ। यी त प्रतिनिधि घटना भए। पोखराका धेरै होटलमा यो समस्या छ। जुन नयाँ वर्षको सुरुवातसँगै भएको हो।

नेपाली नयाँ वर्ष मनाउन आउने तयारीमा रहेका पाहुना बेलैमा पोखरा आउन नसक्दा होटलका कोठा रित्तै रहे। नयाँ वर्ष पछि पनि दिनहुँजसो होटलको कोठाको बुकिङ रद्द हुने क्रम चलिरहेको छ।

स्थलमार्ग झन्झटिलो हुँदा नयाँ वर्ष मनाउन धेरै आन्तरिक पाहुना हवाई माध्यमबाट पोखरा आउन चाहेको भए पनि उडान नहुँदा यात्रु अलपत्र परेको, घुम्न निस्कनै नपाई घर फर्किनुपरेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आठदिनयता गत बिहीबारदेखि उडान प्रभावित हुन थालेको हो। तुवाँलोले अकाश ढाकेर भिजिबिलिटी कम हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन नसक्दा यात्रु आउन नपाएका हुन्।

जहाज ल्यान्ड हुन भिजिबिलिटी कम्तिमा ३८ सय मिटरको भिजिबिलिटी चाहिन्छ। तर, पोखराको भिजिविलिटी २ हजार मिटर मात्र हुने गरेको छ। कति दिन त दिनभर एकै उडान पनि हुन सकेको छैन। कहिलेकाहीँ त अपराह्नबाट मात्रै विमान उड्ने गरेको छ।

समयमा जहाज उड्न नसक्दा जानैपर्ने यात्रुहरू गाडीबाट जाने गरेका छन्। तर, पृथ्वी राजमार्ग स्तरोन्नतिको काम भइरहेकाले बाटो बिग्रेको छ।

तनहुँ जिल्लाका विभिन्न खन्डमा बाटो बनाइरहेकाले सकड यातायात समेत सहज छैन। जसकारण पर्यटकहरूले पोखराका होटकलका बुुकिङ रद्द गराइरहेका छन्। बाह्रै मास स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने लेकसाइड, सराङकोट, महेन्द्र गुफा, डेभिज फल्सलगायतका स्थान सुनसान जस्तै बनेका छन्।

उडान नभएपछि योजना बनाएर आउने पर्यटकले आफ्नो भ्रमण धमाधम रद्द गरेपछिको असर यहाँको पर्यटन व्यापारमा परेको हो। उडान सुरु भएपछि कतिपय पर्यटकले अन्योलको अवस्थाले नयाँ योजनासमेत बनाउन नसकेको पर्यटन व्यवसायी बताउँछन्।

पोखरामा पानी नपरेको डेढ महिना भइसकेको छ। पोखराको मौसम पछिल्लो दुई सातादेखि बिग्रन थालेको थियो। झनै एक सातादेखि त यहाँका डाँडाकाँडा पनि नदेखिने गरी तुँवालोले ढाकेको छ। पोखरा आसपासका डाँडा देख्न मुस्किल हुने गरेको छ। बाक्लो तुँवालोले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान दिनहुँजसो प्रभावित भएको विमानस्थल प्रमुख विक्रम गौतम बताउँछन्।

एकसाता अवधिमा एकदिन सय बढी उडान रद्ध भएको र गत सोमबार एउटै उडान नभएको गौतमले बताए। उनले भने, ‘‘कुनै दिन एकवटै फ्लाइट गराउन सकिएन। अरु दिन मध्यान्हपछि बल्ल विमानस्थल खुलिरहेको छ। तोकिएको समयमा उडान हुनै पाएको छैन। यात्रुहरूले २४ घन्टासम्म पर्खनुपरेको छ।’’

उनका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रविधिमा आधारित भएर गरिने उडान (आईएफआर) भएपनि ३८ सय मिटर भिजिबिलिटी चाहिन्छ। यसअघि पोखराको पुरानो विमानस्थलबाट भीएफआर (आँखाले हेरेको भरमा गरिने उडान) मा आधारित रहेर उडान गर्दा पाँच हजार मिटर भिजिबिलिटी चाहिन्थ्यो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एकसाताको अवधिमा मात्र एक सयभन्दा बढी उडान रद्द भएका छन्। ती उडानबाट कम्तिमा १४ हजार (दुइतर्फीं) यात्रुको यात्रा प्रभावित भएको छ।

विमानस्थलका अनुसार अघिल्लो बिहीबार २, शुक्रबार २६, शनिबार २६, आइतबार २०, मंगलबार २१ र बुधबार १० वटा जति उडान रद्द भएका छन्।

तस्वीरहरू : सरोज बस्नेत


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved