पोखरालाई पर्यटकीय शहर घोषणा गर्न माग

नेपालभ्युज

पोखरालाई पर्यटकीय शहर घोषणा गर्न माग

पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाइडमा १८औं फेवा नववर्ष महोत्सव सुरु भएको छ । होटल संघ पोखरा नेपालले आयोजना गरेको तीन दिने महोत्सवले पर्यटन, संस्कृति र खानालाई मुख्य जोड दिएको छ । विविध खानाका परिकार र सांस्कृतिक प्रस्तुति तथा पञ्चेबाजा, नाचगान, भजन, चुड्का र गीतसंगीतका कार्यक्रम महोत्सवमा हुनेछन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गर्दै पोखरालाई पर्यटकीय शहर घोषणा गर्ने प्रस्तावको फाइल मुख्य सचिवको टेबलमा रोकिएकोमा आक्रोश पोखे।

उनले संघीय सरकारले घोषणा नगरे प्रदेश सरकार र महानगर मिलेर त्यस्तो घोषणा गरिनेसमेत बताए ।‘यो घोषणासँगै रत्न मन्दिर र हिमागृह पनि सर्वसाधारणका लागि खोल्न सकिन्छ’ उनले भने–‘पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने विषयमा पनि सरकार गम्भीर देखिएन।’

उनले नेपाल नागरिक उड्डयन प्राधिकरण पनि यस विषयमा गम्भीर बन्नुपर्ने भनाइ राखे । नक्सा पास नभएका पोखराका घरले कि सोहीअनुसार अतिरिक्त कर तिर्नुपर्ने र नत्र ती भत्काइने चेतावनी पनि उनले सो अवसरमा दिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न प्रधानमन्त्रीलाई नै भेटेर कुरा राखिएको स्मरण गराए ।

पृथ्वी राजमार्गको स्तरोन्नति कार्यलाई शीघ्ररूपमा अगाडि बढाउने विषयमा पनि छलफल भएको जानकारी उनले दिए । बैंकको चर्को ब्याजले व्यवसायीलाई परेको समस्या समाधान गर्ने विषयमा पनि प्रधानमन्त्रीसँग कुरा राखिएको उनले बताए । महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको हो ।

महोत्सव स्थानीय खहरेदेखि फिस्टेल गेटसम्म सडकमा नै आयोजना भइरहेको छ । महोत्सवका अवसरमा होटलको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।

कोभिड-१९ लगायत विभिन्न कारणले व्यवसायी पलायन हुँदा र हजारौंको रोजगारी गुम्दा नकारात्मकरूपमा प्रभावित पर्यटन व्यवसायलाई पुनरुत्थान गर्ने उद्देश्य महोत्सवले बोेकेको उनले सुनाए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved