उपनिर्वाचनमा रास्वपाको ‘क्लीन स्वीप’को दाबी, कति सम्भव ?

गत मंसिर ४ मा भएको निर्वाचनमा तीन क्षेत्रको नतिजा कस्तो थियो त ? त्यसको विष्लेषणका आधारमा भावि नतिजाबारे केही आकलन गर्न सम्भव हुनेछ । 

नेपालभ्युज

उपनिर्वाचनमा रास्वपाको ‘क्लीन स्वीप’को दाबी, कति सम्भव ?

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वैशाख १० को उपनिर्वाचनमा एक्लै होमिँदैछ । उपनिर्वाचनकै लागि उसले तत्कालका लागि सरकार छाडेको छ । १० दलीय सत्तारूढ गठबन्धनमै रहेको रास्वपाले उपनिर्वाचनमा प्राप्त नतिजा हेरेर मात्रै सरकारमा जाने वा नजानेबारे निर्णय लिने बताएको छ ।

चितवन २, तनहुँ १ र बारा २ मा हुने उपनिर्वाचनमा रास्वपाले क्रमश: रवि लामिछाने, स्वर्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाएको छ । रवि रास्वपा सभापति हुन् भने स्वर्णिम अर्थशास्त्री तथा रमेश पूर्वप्रहरी डीआईजी हुन् । यी ३ जनालाई उम्मेदवार बनाएपछि रास्वपाले उपनिर्वाचनमा ‘क्लीन स्वीप’ गर्ने दाबी गरेको छ ।

महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकाल भन्छन्, ‘हामीले उठाएको उम्मेदवारको नामले भाईब्रेसन पैदा गरेको छ । क्लीन स्वीप गर्ने लक्ष्य राखेका छौँ । र, त्यसको पक्षमा माहोल बन्दैछ भन्ने हाम्रो बुझाइ छ ।’

त्यसो त के यो सम्भव छ ? यसको वैधानिक जवाफका लागि त वैशाख १० नै कुर्नुपर्छ । तर गत मंसिर ४ मा भएको निर्वाचनको नतिजा यी क्षेत्रमा कस्तो थियो त ? त्यसको विष्लेषणका आधारमा भावि नतिजाबारे केही आकलन गर्न सम्भव हुनेछ ।

०००

चितवन २ मा गत निर्वाचनमा अहिले उम्मेदवार रहेका रवि नै निर्वाचित बनेका थिए । पहिलोपटक निर्वाचनमा होमिएका रविले पुराना नेताद्वय एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसका उमेश श्रेष्ठलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका थिए ।

८३ हजार ९ सय ५६ जनाले मतदान हुँदा रविको पक्षमा ४९ हजार २ सय ६४ मत खसेको थियो भने उमेश र कृष्णभक्त क्रमश: १४ हजार ९ सय ८३ र १४ हजार ६ सय ६७ मतमा सीमित भएका थिए । रविको यो मत दोस्रो भएका उमेशकोभन्दा ३४ हजार २ सय ८१ ले बढी हो ।

यही नतिजा सम्झेर रास्वपाले अहिले पनि चितवन २ मा शानदार जित निकाल्ने दाबी गरिरहेको छ । नेपालभ्यूजसँग उम्मेदवार रविले छोटो प्रतिक्रिया दिँदै भने, ‘यो निर्वाचनमा पनि गत निर्वाचनकै नतिजा देखिन्छ ।’

हुन त गत निर्वाचनमा पनि रास्वपा एक्लै लडेको थियो । उमेशलाई माओवादी केन्द्रसहितको ५ दलीय गठबन्धनले समर्थन गर्दा कृष्णभक्त पनि एक्लै थिए । अहिले त्यहाँ एमालेले रामप्रसाद न्यौपाने र कांग्रेसले जीतनारायण श्रेष्ठलाई उठाउने निर्णय गरेका छन् । सत्तारूढ १० दलीय गठबन्धनबाट साझा उम्मेदवार को हुने भन्नेबारे अहिल्यै टुङ्गिएको छैन । कांग्रेस नेताहरूले भने श्रेष्ठ नै गठबन्धनका साझा उम्मेदवार हुनुपर्ने बताइरहेका छन् ।

श्रेष्ठले भने रविको उम्मेदवारीबारे रमाइलो टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘मंसिरको हावाहुरी वैशाखमा कहिल्यै देखिँदैन ।’ राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि एक्लै चुनावमा होमिने निर्णय गरिसकेको छ । एमालेले भने राप्रपाले सघाउने अपेक्षा राखेको थियो । तर, राप्रपाले आफैँ निर्वाचनमा जाने निर्णय गरेपछि उसले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको हो ।

गत निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेका रविन अधिकारीले ९५४ मत ल्याएका थिए । राप्रपाको मत त्यहाँ निर्णायक तहमा छैन ।  गठबन्धनमा रहेका दलमा कांग्रेसबाहेक चितवन २ मा कुनै दल प्रतिस्पर्धी देखिँदैनन् । गठबन्धनमै रहेका माओवादी केन्द्रसँग लगभग ७ हजार र एकीकृत समाजवादीसँग लगभग २ हजार मत छ । यो मत आफूहरूका लागि निर्णायक नभएको रास्वपाको भनाइ छ ।

गठबन्धनमै रहेका अन्य दलहरूसँग खासरूपमा त्यहाँ मत देखिँदैन । यस्तो अवस्थामा चुनावी नतिजा रविकै पक्षमा आउनसक्ने विश्लेषण हुन थालेको छ । गत निर्वाचनमा रविसहित दल र स्वतन्त्र गरी १६ जनाले भाग लिएका थिए । त्यसमा १५ उम्मेदवारले १ हजारको अनुपातमा समेत मत प्राप्त गरेका छैनन् ।

०००

गत निर्वाचनमा तनहुँ १ बाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी गत फागुन २५ गते राष्ट्रपति निर्वाचित भएका छन् । यसपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

रास्वपाले यहाँ कांग्रेस परित्याग गरेर पार्टी प्रवेश गरेका स्वर्णिमलाई उम्मेदवार बनाएको छ । त्यहाँ रास्वपाले गत चुनावमा ६ हजारभन्दा बढी मत ल्याएको थियो । रास्वपाको तर्फबाट उम्मेदवार बनेका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए । अहिले स्वर्णिमले टिकट पाएका छन् ।

रास्वपालाई आफ्नो मतभन्दा पनि स्वर्णिमको व्यक्तित्वका कारण बढी मत आउने अपेक्षा छ । रास्वपाका एक नेता भन्छन्, ‘पहिलेको भन्दा धेरै राम्रो भएको छ हाम्रो सङ्गठन पनि । अर्को त उहाँ (डा. स्वर्णिम वाग्ले)को व्यक्तित्वका कारण पनि मत आउँछ ।’

त्यसो त रास्वपा कांग्रेसकै मत पनि चोइट्याउने ध्याउन्नमा छ । स्वर्णिम कांग्रेस पृष्ठभूमिकै रहेका कारण पनि उसले यो अपेक्षा गरेको हो । ‘कांग्रेससँग अन्य दलले पनि हामीलाई समर्थन गर्ने अवस्था बन्दैछ,’ ती नेताले भनेका छन् ।

स्वर्णिम पनि आफूले जित्ने दाबी गर्छन् । ‘नयाँ सालसँगै नयाँ स्वरूपको राजनीति सुरू गर्ने हो । त्यसका लागि म पूर्णकालीन राजनीतिमा लागेँ । अब समयसीमा तोकेर डेलिभरी हुने राजनीति आवश्यक छ । मेरो जोड त्यहाँ रहनेछ । मेरो जित सुनिश्चित देख्छु,’ उनले भनेका छन् ।

गत निर्वाचनमा रामचन्द्र तत्कालीन ५ दलीय गठबन्धनबाट निर्वाचित बनेका हुन् । माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलले सघाउँदा उनले २५ हजार ३ सय ६१ मत ल्याएका भए । एमालेका एकबहादुर रानामगरले १९ हजार १ सय ८१ मत ल्याएर पौडेललाई पछ्याएका थिए ।

तर, त्यहाँ कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीको मत पनि उल्लेख्य देखिन्छ । गत निर्वाचनमा उनले ६ हजार ८ सय ८६ मत ल्याएका थिए । उनले आफैँ उठ्ने वा एमालेलाई सघाउने सक्ने स्थानीय नेता बताउँछन् ।

कांग्रेसले भने नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । उनले पनि आफूले जित्ने दाबी गरेका छन् । ‘धेरै दल, धेरै उम्मेदवार हुनु मतदातालाई राम्रो जनप्रतिनिधि छान्ने अवसर हो । अरु उम्मेदवारले जित्ने सम्भावना देख्दिनँ, जित मेरै सुनिश्चित छ,’ उनले नेपालभ्यूजसँग भने । कांग्रेस नेताहरूले भट्टराईलाई नै गठबन्धनबाट साझा उम्मेदवार बनाउनुपर्ने बताएका छन् । यद्यपि गठबन्धनबाट को साझा उम्मेदवार हुने भन्ने टुङ्गिएको छैन ।

कुनै पनि दलसँग एकता नगर्ने बताएको एमालेले भने पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । उनले जित्ने दाबी एमाले नेताहरुको छ । एमाले सचिव पद्‌मा अर्याल भन्छिन्, ‘उहाँ जित्ने पात्र हो । उहाँले जित्नुहुन्छ भन्ने आधार स्वर्णिम वाग्लेको उम्मेदवारी पनि हो । त्यसले कुनै न कुनैरूपमा हामीलाई फाइदा पुग्छ ।’

एकीकृत समाजवादीले प्रतापलाल श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस र एकीकृत समाजवादी दुवै गठबन्धनमा छन् । गठबन्धनका तर्फबाट को साझा उम्मेदवार हुने निर्णय भएको छैन । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपनिर्वाचनमा साझारूपमा लड्नुपर्ने बताएका छन् ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले भने ओमकुमारी पौडेललाई साझा उम्मेदवार बनाउन खोजिरहेको छ । तनहुँ १ का नेताहरूले पौडेललाई उम्मेदवार बनाउन प्रचण्डमाथि दबाब बढाएका छन् । माओवादीसँग त्यहाँ ७ हजारभन्दा बढी मत छ ।

०००

बारा २ गत निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामसहाय प्रसाद यादवले जितेको क्षेत्र हो । उनी उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

त्यहाँ रामसहायले १३ हजार ८ सय २२ मतसहित जितेका थिए । त्यसबेला १३ हजार ४ सय ६८ मत ल्याएर झिनो अन्तरले हारेका माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहा अहिले डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट उम्मेदवार बन्दैछन् । अहिले राउतसँगै उनी घरदैलोमा छन् ।

बारा-२ मा तीनजना स्वतन्त्र उम्मेदवारले पनि उल्लेख्य मत ल्याएका थिए । रामकिशोर प्रसाद यादवले ११०४३, रवीन्द्र प्रसाद यादवले १०७५० र अरुणकुमार ज्ञवालीले ७६९८ मत प्राप्त गरेका थिए ।

उपनिर्वाचनमा क्लीन स्वीप गर्ने दाबी गरेको रास्वपाले भने त्यहाँ पूर्वप्रहरी महानिरीक्षक रमेश खरेललाई उम्मेदवार बनाएको छ । गत निर्वाचनमा रास्वपाले उम्मेदवारी दिएको थिएन । तर, यसबीचमा राम्रो सङ्गठन विस्तार गरेको दाबी रास्वपा महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकाल बताउँछन् । ‘यसबीचमा हामीले राम्रो सङ्गठन बनाइसकेका छौँ,’ उनले भने, ‘त्यहाँबाट हामीले हार्दैनौँ ।’

गत निर्वाचनलाई हेर्ने हो भने त्यहाँ ३ जना स्वतन्त्र उम्मेदवारले पाएको मत निर्णायक देखिन्छ । उनीहरूसँग पनि कुनै न कुनैरूपमा संवाद गरिरहेको रास्वपाका प्रवक्ता ढकालले बताएका छन् । ‘उपनिर्वाचनमा गइसकेपछि कुनै न कुनैरूपमा संवाद बढाएका छौँ, उहाँहरूको प्रतिक्रिया सकारात्मक छ,’ उनले भने ।

रमेश खरेल नेपाल सुशासन पार्टीका अध्यक्षसमेत हुन् । गत निर्वाचनमा नेपाल सुशासन पार्टीका तर्फबाट बारामा उम्मेदवार बनेका उमेशप्रसाद जसवालले भने जम्मा १५० मत ल्याएका थिए । उम्मेदवार खरेल पनि आफू कुनै पनि हालतमा जित्ने दाबी गर्छन् । आफू बलियो टिमको साथमा आएको उल्लेख गर्दै भने, ‘म बलियो टिमको साथमा आएको छु । म हार्नका लागि आएको पनि होइन, जितिन्छ चुनाव । मेरो जित निश्चित छ ।’

त्यसो त जसपा अध्यक्ष उपेन्द्र यादवले आफू निर्वाचन लडेर संसद् छिर्ने मनसायसहित त्यहाँबाट निर्वाचित रामसहायलाई उपराष्ट्रपनि बनाएका हुन् । तर, उनलाई सहज भने छैन । उनलाई जसरी पनि रोक्ने भन्दै बसेका छन् जनमत पार्टीका अध्यक्ष डा. सीके राउत । उनले सार्वजनिकरूपमै उपेन्द्रको आलोचना गर्दै आएका छन् । यत्तिसम्म कि— उनले संसद्‌मै पनि उपेन्द्रलाई ‘१/२ महिना पनि मन्त्रीबिना बाँच्न नसक्ने’ भनेर आलोचना गरे ।

यसरी हेर्दा राउत जसरी पनि उपेन्द्रलाई रोक्नुपर्छ भन्ने अभियानमा छन् । राउतको उक्त अभियानमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्तिलगायतले साथ दिएका छन् ।

बारा २ मा जनमत पार्टीको आफ्नैचाहिँ खास मत छैन । गत निर्वाचनमा उम्मेदवार रहेका राजेश साहले २ हजार ७ सय २५ मत ल्याएका छन् । तर, माओवादी केन्द्रबाट जनमत प्रवेश गरेका शिवचनद्रप्रसाद कुशवाहा भने त्यस क्षेत्रका प्रभावशाली नेता हुन् ।

यसरी हेर्दा तीनवटा क्षेत्रमध्ये चितवन २ मा रवि मजबुत देखिन्छन् । तनहुँमा स्वर्णिमको प्रवेशले यसै भन्न नसकिने अवस्था देखिएको छ । बारा-२ मा कोको उम्मेदवार हुन्छन् भन्ने अझै स्पष्ट भैसकेको छैन । लोसपाका राजेन्द्र महतो पनि त्यहाँबाट उम्मेदवार हुने चर्चा चलिरहेको छ । उपेन्द्रले अझै उम्मेदवारी घोषणा गरेका छैनन् । जे भए पनि बारामा भने बहुपक्षिय प्रतिस्पर्धा हुने निश्चित छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved