रविको छवि : आफू सर्वसम्मत, अरुलाई प्रतिस्पर्धा !

रविको छवि : आफू सर्वसम्मत, अरुलाई प्रतिस्पर्धा !

काठमाडौं।

‘म बेग्लै किसिमको मान्छे
सबैसँग मिल्न नसक्ने।
पानीझैं हरेक रंगमा घुल्न नसक्ने।

मनमा खुसी नहुँदा फगत मुखमा हाँसो छर्दिनँ।
म दुनियाँ रमाउँछ भनेर आफूलाई बदल्न  सक्दिनँ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भन्ने गरेको शब्द हो यो। साँच्चै उनको बोली र व्यवहार त्यस्तै देखिन थालेको छ। जसले ‘रविको छवि’ समेत बताइदिएको छ।

पहिलो- पार्टी गठन अगाडि उनले धेरै राजनीतिक र सामाजिक व्यक्तिसँग भेटघाट गरे। तर, कुनै पनि समयमा आफू हावी हुन नपाइएला भन्ने त्रासका बीच उनले ती व्यक्तिहरूलाई पार्टी गठनको बेला खबरै गरेनन्। आफू कसैसँग मिल्न नसक्ने मान्छे भन्ने कुरा उनले त्यहिँ पुष्टि गरे।

दोस्रो- जब उनले पार्टी गठन गरे उनको पार्टीमा देखावटी केन्द्रीय समिति त छ तर, निर्णयको केन्द्रमा उनी आफैं हुन्छन्। मंसिर १० को अप्रत्यासित चुनावी नतिजापछि पार्टी सरकारमा जान नहुने मत बलियो थियो ।

तर, रविलाई सरकारमा जाने ‘हुटहुटी’ले यतिसम्म गर्‍यो कि आफैंले ‘कामै छैन’ भन्दै टेलिभिजनबाट गाली गरेका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घर र डेरा चहार्न व्यस्त देखिए।

तेस्रो- नागरिकता विवादमा दोषी देखिएपछि सर्वोच्च अदालतको आदेशले सांसदसहित उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापति पद गुम्यो । त्यसपछि, उनले ‘म दुनियाँ रमाउँछु भनेर आफूलाई बदल्न सक्दिनँ’ भन्ने कुरा त्यहाँ प्रमाणित गरिदिए।

आफ्नो पद गएपछि तुरुन्तै रविले ‘म छैन त कोही छैन’ भनेझैं अरु मन्त्रीलाई समेत राजीनामा गर्न लगाए। जुन मन्त्रालयका लागि आज फेरि हात थाप्दै हिँड्नुपरेको छ। किन सरकार छाडेको र किन फेरि समर्थन गरेको ? यसको जवाफ र औचित्य आजसम्म पुष्टि हुन सकेको छैन।

चौथो- पुराना कुनै पनि पार्टीले गरेनन् वा गर्न जानेनन् अब हामी सिकाउँछौं भनेर राजनीतिमा आएका रविले प्रचण्ड, ओली र शेरबहादुर देउवाले भन्दा फरक के गरे ? यसको जवाफ उनका कार्यकर्ताले माग्दा पाएका छैनन् र जनताले मागेर पाउने कुरै भएन।

कांग्रेस, एमाले र माओवादीबाट जनता निरास छन्, यिनले सधैं जनता झुक्याएर शासन गरे भन्ने रविले आफू ‘पानीझैं हरेक रंगमा घुल्न नसक्ने’ भन्ने कुराको धज्जी उडाए। उनले त पानी नै रंगाइदिए । पानीझैं घुल्ने मात्रै होइन जता पनि पोखिन र जसलाई पनि भिजाइदिन सक्ने भइदिए।

राप्रपादेखि राजावादीसम्म र माओवादीदेखि कांग्रेस–एमालेसम्म रविले को शत्रु र को मित्र भन्ने नै छुट्याउन नसक्नेगरी घुलिदिए। उनको यो घुलनशक्तिले रविको छवि के हो भन्ने बुझ्न उनका नेता कार्यकर्ता र जनतालाई नै कठिन भइदियो।

मिडियालाई गाली गर्नु, पार्टीहरूले गर्न सकेनन् भन्नु र आफूले अरुभन्दा फरक गरेर देखाउन नसक्नु नै रविको वास्तविक छवि भइदियो ।

पाचौं- पछिल्लो समय रविले उपनिर्वाचन लड्ने महत्त्वाकांक्षामा पनि आफ्नो छवि स्पष्ट गरेका छन्। उम्मेदवार चयनको लागि उनले आफू चितवन २ बाट एकल सिफारिस हुँदा तनहुँ र बारमा भने प्रतिस्पर्धाको सिद्धान्त अपनाए।

जब तनहुँमा उम्मेदवार बन्न कांग्रेस छाडेर अर्थविद् स्वर्णिम वाग्ले र बाराबाट नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल तयार भए अनि रविले प्रतिस्पर्धाबाट उम्मेदवार छान्ने भन्दै अरु आकांक्षी पनि ठड्याइदिए।

वैशाख १० को उपचुनावको लागि तीनवटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारहरूको विवरण सार्वजनिक गर्दै ‘पार्टीको विधानअनुसार’ भन्दै प्रारम्भिक निर्वाचनमा भाग लिने उम्मेदवारहरूको विवरण सार्वजनिक गर्‍यो। उम्मेदवारीका लागि दाबी गरिएकामा चितवन २ बाट रवि एक्लै छन्।

यसैगरी, तनहुँ १ बाट डा.स्वर्णिम वाग्लेसहित तीनजना र बारामा रमेश खरेलसहित दुईजना छन् । तनहुँमा वाग्लेसहित ईश्वर लामिछाने र डा. रुपक विक घिमिरे रहेका छन् । त्यस्तै, बारा २ मा रमेश खरेल र युवराज न्यौपानेको दाबी परेको छ ।

रास्वपाको विधानअनुसार कुनै पनि क्षेत्रबाट चुनाव लड्नका निम्ति पार्टीको निर्वाचन आयोगमा निवेदन दिनुपर्ने हुन्छ । यदि, एकभन्दा बढी आकांक्षी देखिएको खण्डमा ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार टुंगो लगाउने प्रावधान छ । यसमा सम्बन्धित क्षेत्रका पार्टी सदस्यहरूले भोट हाल्छन् ।

यदि, सम्बन्धित निर्वाचन क्षेत्रमा कुल मतदाताको ०.१ प्रतिशतभन्दा कम पार्टी सदस्य रहेको अवस्थामा चाहीँ केन्द्रीय समितिले नै निर्णय गर्न सक्छ । चितवनमा रविको एकल दाबी रहेकोले त्यहाँ प्राइमरी इलेक्सन गरिरहनु नपर्ने भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved