राष्ट्रपतिको पीडा : बाबुले दुःख दिए, छोरालाई सल्लाहकार !

राष्ट्रपति रामचन्द्र पौडेलले २०१७ सालमा राजनीति सुरु गर्दा उनी १६ वर्षका थिए। देशमा भर्खरै पञ्चायतको उदय भएको थियो। त्यसमा हर्ताकर्ता थिए सूर्यबहादुर थापा।

राष्ट्रपतिको पीडा : बाबुले दुःख दिए, छोरालाई सल्लाहकार !

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले २०१७ सालमा राजनीति सुरु गर्दा उनी १६ वर्षका थिए। देशमा भर्खरै पञ्चायतको उदय भएको थियो। त्यसमा हर्ताकर्ता थिए सूर्यबहादुर थापा।

वि.सं. २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालीन संविधान तथा जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकार भङ्ग गरेका थिए।

त्यसपछि कोइरालालाई पक्राउ गरेको भन्दै पौडेलले विरोध गरे। त्यतिबेला, पौडेल नेपाल संस्कृत छात्र संघ काठमाडौंको सदस्य थिए। त्यसपछिका ३० वर्ष प्रजातन्त्रका लागि पञ्चायतको दमनविरुद्ध पौडेल लडिरहे। त्यो ऊर्जाशील समयमा उनले पञ्चायतको विरोध गरेरै बिताए।

नेपालको प्रजातान्त्रिक आन्दोलन र प्रतिगमनविरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल पञ्चायतकालमा पटक–पटक गरी १४ वर्ष जेल र एक वर्ष नजरबन्दमा समेत परे ।

पौडेलको राजनीति शुरु हुँदा पञ्चायतका प्रथम प्रधानमन्त्री सूर्यबहादुर थापाको महेन्द्रसँगको सहकार्य र सत्तारोहण एकैसाथ अघि बढ्दै थियो। सूर्यबहादुर थापा (वि.सं.१९८४–२०७२) नेपालका राजनीतिज्ञ तथा पूर्वप्रधानमन्त्री थिए। उनी आफ्नो जीवनमा ६ पटक नेपालको प्रधानमन्त्री भएका थिए।

थापा राजा महेन्द्र, राजा वीरेन्द्र र राजा ज्ञानेन्द्र गरी तीन राजाहरूको शासनकालमा प्रधानमन्त्री भएका थिए। उनकै शासनकालमा पिस्कर काण्ड, छिन्ताङ काण्ड र टिम्बुरबोटे काण्डजस्ता भयानक हत्या काण्ड पनि घटे। २०३१ पुस १ गते ओखलढुंगाका क्या. यज्ञबहादुर थापासमेत १३ जना टिम्बुरबोटे काण्डमा मारिए।

थापाको नेतृत्वमा भू.पू. सैनिकलगायत ठूलो संख्यामा भारतको फारबिसगञ्ज, बथान वीरपुर र बनारसमा तालिम दिई लडाकुहरू तयार गरिएको थियो।

पूर्वीपहाडी जिल्लाहरू कब्जा गर्दै स्थानीय सरकार गठन गर्दै अघि बढ्दै ओखलढुंगा पुग्यो। त्यसपछि सोलु जिल्लाको तिङ्गला जंगल वासस्थान बनाई क्रान्ति गरेका यी समूहलाई सरकारी पक्षले धरपड गरी श्याम गुरुङ, पदम प्रकाश, राम–लक्ष्मण उपाध्याय आदि थुप्रै मारिएका थिए ।

यसैगरी, २०३६ साल कात्तिक २७ गते धनकुटाको खोकू छिन्ताङमा १६ जना मारिए । सोही वर्ष सिन्धुपाल्चोकको पिस्करमा पनि बालबालिकासहित १६ युवालाई सरकारी पक्षबाट निर्ममतापूर्वक मारिएको थियो । उक्त समयमा सूर्यबहादुर थापा प्रधानमन्त्री थिए ।

पञ्चायतको समयमा भएका हत्याकाण्डमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको प्रत्यक्ष निर्देशनमा गोली चलेको र सुत्केरी र बालबालिकासहित थुप्रै मारिएको आरोपको जवाफ नदिई सूर्यबहादुर थापाको मृत्यु भयो।

वि. सं. २०१५ सालमा राजा महेन्द्रबाट संसदको निर्वाचन घोषणा भएपछि गठित सल्लाहकार सभामा सूर्यबहादुर थापा अध्यक्ष भएका थिए।

वि. सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्था अन्त्य गरेर निर्दलीय पञ्चायत व्यवस्था स्थापना गरेपछि यिनी मन्त्री, मन्त्रिपरिषद्को उपाध्यक्ष हुँदै अध्यक्षसम्म बनेका थिए।

२०३६ सालको जनमत संग्रहलाई निर्दलीय पञ्चायतको पक्षमा ल्याउन साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेका थापाले तत्कालीन समयमा धेरै हत्याकाण्डहरू घटाएको भनिन्छ।

संयोग यस्तो आइलाग्यो अहिले गणतन्त्र नेपालको राष्ट्रपति निर्वाचित भएका पौडेलले सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापालाई प्रमुख राजनीतिक सल्लाहकार बनाएका  छन्।कांग्रेस केन्द्रीय सदस्य थापाले आफूलाई शीतलनिवासले राजनीतिक सल्लाहकारको पत्र दिएको पुष्टि गरेका छन्।

२०३६ मा कांग्रेस तनहुँको उपसभापति भएका पौडेल बहुदलीय व्यवस्था वा सुधारिएको पञ्चायत भन्ने विषयमा भएको जनमत संग्रहका बेला सूर्यबहादुर थापा भने जनमत संग्रहलाई निर्दलीय पञ्चायतको पक्षमा ल्याउन साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरिरहेका थिए।

वि.सं. २०१८ सालमा कांग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको दोषारोपणमा एक महिना पौडेल हिरासत बस्दा थापा राजा महेन्द्रसँग मिलेर राजकाज चलाइरहेका थिए।

पौडेल पटक-पटक जेल पर्दा र उनका सहयोगीको हत्या हुँदा शक्तिमा सूर्यबहादुर थापा नै थिए। पञ्चायतले गरेको दमन र कांग्रेस नेताकार्यकर्ताको हत्यामा थापाको मुख्य भूमिका थियो भन्ने कुरा पटक-पटक उठ्ने गरेको छ।

उनै थापाका छोरा सुनीललाई अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सल्लाहकारको टिममा राखेर मुख्य राजनीति सल्लाहकार बनाएका छन्। तर कांग्रेस कार्यकर्ताका लागि यो कुरा सह्य नहुने टिप्पणी हुन थालेको छ।

पञ्चायतको राजनीतिबाट उदायका र बहुदलपछि राजावादी पार्टी राप्रपामा बसेर राजनीति गरेका थापा पछिल्लो समय कांग्रेस प्रवेश गरी सह–महामन्त्री भएका थिए। उनि गत मंसिरको चुनावमा गठबन्धनको साझा उम्मेदवारको रूपमा धनकुटाबाट उम्मेदवार थिए । तर, एमालेका राजेन्द्र राईसँग पराजित भएपछि गुमनाम थिए।

यतिबेला राष्ट्रपति पौडेलको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त्त गरेको खबर बाहिर आएसँगै कांग्रेसमा खैलाबैला मच्चिएको छ। शीतल निवास स्रोतका अनुसार थापालाई सल्लाहकार बनाउन कांग्रेस सभापति देउवाको चर्को दबाब थियो ।

तर, शीतलनिवासले भने तत्काल थापाको नियुक्ति गर्न चाहेको थिएन । कांग्रेसका केही नेताले समेत थापाको नियुक्ति रोक्न शितलनिवासमा दबाब दिइरहेका थिए । तर संभव भएन। राष्ट्रपति पौडेलले नचाहँदा नचाहँदै थापाले  सल्लाहकारको नियुक्ति पाउन सफल भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved